सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारीमा जुटेको छ ।
प्रदेश कमिटीको बिहीबार बसेको कार्यालय बैठकले प्रतिनिधिको संख्या, छनौटको आधार र मापदण्ड टुंगो लगाएको हो । एमालेको प्रदेश अधिवेशन असोज १० र ११ गते वीरेन्द्रनगरस्थित सिटीहलमा हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
कार्यालय बैठकले अधिवेशन भव्यताका साथ सफल पार्न प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा १५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । प्रदेश अध्यक्ष शाहका अनुसार अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधि छनौट भदौ ३० गते एकैसाथ गरिनेछ ।
भूगोलतर्फ १०० पार्टी सदस्य बराबर १, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट हुनेछन् । त्यस्तै एक तिहाई महिला प्रतिनिधि छनौट गर्नुपर्नेछ । प्रतिनिधि छनौटका लागि पालिका, दलिततर्फको लागि प्रदेश निर्वाचन क्षेत्र रहने र दलित पार्टी सदस्यले भूगोल वा दलितमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन् । प्रतिनिधि छनौटको व्यवस्थापन भूगोलका लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नेछ । एमालेको प्रदेश अधिवेशनमा २० वटा जनवर्गीय संगठनको समेत प्रतिनिधित्व रहेनछ ।
लोगो सार्वजनिक
प्रदेश प्रचार तथा प्रकाशन विभागद्धारा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले प्रथम प्रदेश अधिवेशनको नारा र लागो सार्वजनिक गरे ।
दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं भन्ने नाराका साथ सम्पन्न हुने अधिवेशनका लागि सूर्य चिन्ह, कांक्रेविहार र रारा अंकित तस्बिरसहितको लोगो निर्माण गरिएको छ ।
लुम्बिनीको अधिवेशनलाई गुटगत रुपमा चर्चा गर्न मिल्दैन : इञ्चार्ज भट्ट
पत्रकार सम्मेलनमा एमाले प्रदेश इञ्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले लुम्बिनी प्रदेशमा सम्पन्न भएको अधिवेशनमा कुनै नेताको गुटका रुपमा नभई जनताको बहुदलीय जनवादको अभ्यास गरिएको बताए ।
निर्वाचनमा हुँदैमा गुट वा उपगुट भनेर बुझ्न नहुने उनको भनाई थियो । इञ्चार्ज भट्टले प्रदेश कमिटीमा १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको समेत जानकारी दिए ।