काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर पशुपति आर्यघाट पुर्याइएको छ। पशुपतिमा पुगेर विभिन्न दलका नेता तथा सुभेच्छुकहरुले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मंगलबार निधन भएका नेम्वाङको शवमा पशुपति पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको शवमा राष्ट्रिय झण्डा ओढाए।
नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना, एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरु पशुपति आर्यघाट पुगेका छन्।
घाटमा अन्तिम श्रद्धाञ्जलीपछि नेम्वाङको दाह संस्कार गरिनेछ। नेम्वाङका २ छोरा र छोरी पनि पशुपति आर्यघाट पुगेका छन्।
अन्तिम संस्कार अगाडि नेम्वाङको निजी निवास बालुवाटारबाट शवयात्रा सुरु भएको थियो।
घरमा अचेत अवस्थामा फेला परेका भनिएको नेम्वाङलाई मंगलबार बिहान १स्५० त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउने बेला नेम्वाङ जीवित रहेको कुनै संकेत नदिएको चिकित्सकले बताएका छन्।
सीपीआर गरेर मुटुको घड्कन फिर्ता ल्याउने प्रयास गरिए पनि सफल नभएपछि चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए। नेम्वाङको शव मंगलबार र बुधबार दिउँसोसम्म नेकपा एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको थियो।
च्यासलमा पुगेर विभिन्न दलका नेताहरु, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति, उच्चपदस्थ अधिकारी, पार्टीका नेता तथा कार्यकर्ता र सुभेच्छुकले नेम्वाङको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
बुधबार दिउँसो नेम्वाङको पार्थीव शरीर बालुवाटार ल्याइएको थियो। बालुवाटारबाट नै बिहीबार बिहान शवयात्रा सुरु भएको हो।
नेम्वाङको अन्तिम संस्कार हुने दिन बिहीबार सरकारले देशभर शोक बिदा दिएको छ। नेम्वाङको निधनको शोकमा बिहीबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाल दूताबास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।