काठमाडौं । सुक्रबार राती बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्पबाट प्रभावितहरुका लागि खोजी, उद्धार र राहतका लागि विभन्न देशहरुले घोषणा गर्न थालेका छन् ।
भुकम्पमा परेर कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिम जिल्लाका विभिन्न स्थानीय तहमा १५७ जनाले ज्यान गुमाएको र सयौ घाइते नेपाल सरकारले तत्काल १० करोड राहत सहयोग गर्ने, देशका विभिन्न प्रदेशले राहत सहयोग गर्ने घोषणा गरेलगत्तै छिमेकी मुलुक, चीन, भारत देखि शंशारभरबाट सहयोगको घोषणा गर्ने काम भैरहेको छ ।
चीनले १० करोड बराबरको राहत सामग्री दिने
जाजरकोट भूकम्प प्रभावितहरुका लागि उत्तरको छिमेकी मुलुक चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् ।
‘थप सहायता सामग्रीहरू बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।
हरसम्भव सहयोग गर्नेः भारतीय प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताएका हुन् ।
भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
भूकम्प पीडितलाई सहयोग गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिवद्धता
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पुटिनले समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार पत्र पठाउँदै प्राकृतिक विपत्तिको दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पत्रमार्फत राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।