काठमाडौं । माओवादीको पहिलो विधान अधिवेशनमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी संगठन संरचनाको प्रस्ताव गरेका छन् । उनले खुला र समावेशी गरी ८० प्रतिशत हाराहारीमा प्रत्यक्ष निर्वाचित हुने प्रणाली अपनाउन सकिने सुझाव आएको जानकारी दिए ।
‘नेतृत्वमा दश प्रतिशत मानोनित गर्नुपर्ने सुझाव आएका छन्,’ दाहालले नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विधान पेस गर्दै भने, ‘विगतको अनुभवले सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने हुन्छ ।’
उनले केही निश्चित कोटा मनोनित राख्ने सुझाव पदाधिकारी बैठकमा छलफल पनि भएको बताए । दाहालले कति प्रतिशत प्रत्यक्ष गर्नेबारे हललाई नै निर्णय गर्न आग्रह गरे । पार्टीको पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट कि केन्द्रीय समितिबाट भन्ने टुंगो नलागेको दाहालले जानकारी दिए ।
‘पदाधिकारी केन्द्रीय समितिले चयन गर्दा ठिक हुन्छ भन्ने सुझाव पनि आएको छ’ दाहालको भनाइ थियो । तर माओवादीका अधिकांश युवा नेताहरु पदाधिकारी पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने पक्षमा देखिएका छन् ।
विधानमाथि छलफल गर्न २० समूह विभाजन गरी छलफल सुरु भएको छ । समूहगत छलफलमा पार्टीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचित प्रणालीमा जानु पर्नेमा करिब सहमत भए पनि कति प्रतिशत प्रत्यक्ष गर्नेबारे मतभेद रहेको एक नेताले बताए । ‘अधिवेशनमा सहभागी युवाहरु प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा देखिएका छन्’ उनले भने, ‘प्रत्यक्ष निर्वाचन प्रतिशत कति राख्नेबारे मात्र छलफल केन्द्रित छ ।’
मार्क्स, लेनिन र माओका तस्बिर खुम्चिँदै, अध्यक्ष दाहालको फैलिँदै
माओवादीले विधान अधिवेशनमा मार्क्स, लेनिन र माओको तस्बिर खुम्च्याइएको छ भने अध्यक्ष पुष्पकमल दाहालको तस्बिर फैलाइएको छ । मार्क्स, लेनिन र माओलाई पथप्रदर्शक मान्ने माओवादीले पछिल्लो समय भने दाहाललाई ‘निर्विकल्प’ अध्यक्षको रुपमा प्रस्तुत गर्दै आएको छ ।
मंगलबारदेखि सुरु भएको विधान अधिवेशनमा पनि मार्क्स, लेनिन र माओभन्दा दाहालको तस्बिरलाई प्राथमिकता दिइएको छ । प्रज्ञा प्रतिष्ठानको सभाहलमा राखिएको ब्यानरमा मार्क्स, लेनिन र माओको तस्बिर मुश्किलले देखिन्छ भने ब्यानरको छेउमा दाहालको ठूलो तस्बिर झुण्ड्याएको छ । सभाहलमा पेस भएको विधानको प्रस्तावनामा भने मार्क्स, लेनिन र माओलाई पथप्रदर्शक मानिएको छ ।
‘यस पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो’ विधानमा भनिएको छ, ‘पार्टीले आजको समाजमा रहेका वर्गहरुको अस्तित्व, वर्गहरुबीचको अन्तरविरोध र वर्ग संघर्षलाई समाज विकास र परिवर्तनको अनिवार्य एवं मुख्य आधार मान्दछ ।’
माओवादीको २०५७ फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले मार्क्सवाद, लेनिनवाद, माओवादी र प्रचण्डपथ पारित भएको थियो । सशस्त्र संघर्षलाई नयाँ उचाइमा पुर्याएको भन्दै प्रचण्डपथको बाटोमा अघि बढ्ने निष्कर्ष निकालिएको थियो । २०६५ पुसमा माओवादी र एकता केन्द्र मसालबीच एकता हुँदा प्रचण्डपथ स्थगित गरेको थियो । प्रचण्डपथ स्थगित भए पनि अध्यक्ष दाहाल ९प्रचण्ड० कै निर्णयमा माओवादी चलिरहेको छ ।