वैशाख २, हुम्ला । पर्यटकलाई सिमकोट गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनका लागि डिजिटल डिस्प्लेको उद्घाटन गरिएको छ ।
पर्यटकलाई सिमकोट पालिकामा रहेको पर्यटकीय सम्भावना रहेको क्षेत्रको बारेमा जानकारी दिएर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यको साथमा यो कार्यक्रम सञ्चालन गरिएको हो । सिमकोट विमानस्थलमा पर्यटक विमानबाट ओर्लने बित्तिकै कुन ठाउँ घुम्ने भन्ने बारेमा यो डिजिटल डिस्प्ले बोर्डमा भएको दृश्य सामग्रीले जानकारी दिने विश्वास लिएको छ ।
हाल ७२ इन्चको डिजिटल बोर्डबाट सुरु गरिएको जानकारी गाउँपालिकाको विभिन्न ठाउँमा आगामी दिनमा राखिने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।
गत वर्षमा नै यो कार्यक्रम सुरु गर्ने भनिएको भएता पनि प्राविधिक कारण यो वर्ष सुरु गरिएको दर्जीको भनाइ रहेको थियो । बोर्डको उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख दानबहादुर रावतले आगामी दिनमा यस डिजिटल बोर्डको प्रयोगले गाउँपालिकाको बारेमा जानकारीको साथै आयआर्जनमा टेवा पु¥याउन सफल हुनेमा जोड दिए । डिजिटल बोर्डमा सिमकोटमा रहेका विभिन्न व्यवसाय, होटेल लगायतका व्यवसायको विज्ञापनसमेत राखेर केही रकम आम्दानीको लागि प्रयोग गरिने गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।
अबको संसार सूचना तथा प्रविधिको भएको कारण सूचना र प्रविधिको प्रयोगले नै हामी समृद्ध बन्न सक्नेमा प्रमुख जिल्ला अधिकारी धोलक प्रसाद ढकालले बताए । गाउँपालिकामा भित्रिने पर्यटकको लागि जानकारी दिन यो सामग्री अति नै उपयोगी हुनेमा ढकालको भनाइ रहेको थियो । जिल्लामा भित्रिने पर्यटकलाई विमानस्थलमा केही समय कुर्नुपर्ने समयलाई सदुपयोग हुने र गाउँपालिकाको विभिन्न ठाउँको बारेमा जानकारी दिन यो डिजिटल डिस्प्ले बोर्डले सहयोग गर्नेमा वक्ताको जोड रहेको थियो । बोर्डमा एक मिनेटसम्मको विज्ञापन स्थानीय व्यापारी र व्यसायीले बोर्डमा राख्न सक्ने र सो वापत प्रति महिना पाँच सय दस्तुर गाउँपालिकामा बुझाउनुपर्ने प्रावधान गाउँपालिका बोर्डले निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी गराए । संकलन गरिएको रकम बोर्डको वृत्ती विकास र सेवा थपमा लगाइनेसमेत जानकारी गराइएको थियो ।
हुम्लालाई जोड्नका लागि एक मात्र रहेको सिमकोट विमानस्थलको प्रांगणमा राखिएको बोर्डमा गतवर्ष निर्माण भएको वित्तचित्र र यस वर्ष लक्ष्मी मल्टिमिडियाले उत्पादन गरेको वित्तचित्र, सिमकोटका विभिन्न धार्मिक, सांस्कृतिक र अन्य गतिविधि समेटिने खालका फोटो, भिडियो सामग्रीसमेत राखिने व्यवस्था गाउँपालिकाले गरेको छ । विभिन्न कारणले उडानमा ढिला भई विमानस्थलमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डको स्थापना गरिएको हो । यसअघि पर्यटकलाई नै लक्षित गरी सिमकोट गाउँपालिकाले विमानस्थलमा सुविधा सम्पन्न शौचालय, तातो र चिसो पानी उपभोगका लागि वाटर फिल्टर, इन्टरनेट सुविधाको लागि फ्रि–वाइफाइको समेत व्यवस्था गरेको छ ।