रजनी योगी
सुर्खेत । पुर्वी सुर्खेतको गुर्भाकोटमा रहेको मालारानी गुफा हेर्ने बढ्दै गएका छन् । गुफाभित्र विभिन्न आकृतिका तस्बिरहरु कैद गर्न मानिसहरु त्यहाँ पुग्ने गरेका हुन् । गुर्भाकोट नगरपालिका वडा नंं २ मालारानीमा रहेको मालारानी गुफामा जाने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । गुफामा पर्यटकहरु आवतजावत, गुफा प्रेवशद्वार, सिडिहरु, प्रतिक्षालय, सडकबाटो लगायत आवश्यक सरचना तयार भएपछी गुफा घुम्न जाने पर्यटकहरु बढ्न थालेका हुन् ।
पछिल्लो समयमा मालारानी गुफाको आकर्षण बढ्दो छ । गुफाभित्र उज्यालोको लागि बत्तिको, र अवलोकनका लागि सिढीहरु, मुर्तिको सजावट , निर्माण र बाहिर शिवको मन्दिर र गुफाबाहिर मनमोहक दृश्य अवलोकन गर्न मानिसहरु निकै खुसी हुनेगरेका छन् । मालारानी गुफाको अवलोकनका लागि अहिले पनि मानिसहरु विभिन्न जिल्लाबाट आउने गरेको गुफा हेरालु अमृत डाँगीले बताए । दैनिक एक सय देखि एक हजारसम्मले गुफा अवलोकन गर्ने गरेको उनले जानकारी दिए । विद्यालय, विभिन्न संघ संस्थाहरुबाट ठूलो संख्यामा अध्ययन अवलोकनका लागि त्यहाँ पुग्ने गरेको डाँगीको भनाइ छ । गुफाको संरक्षणका लागि समिति निर्माण गरिएको छ ।
गुफा अवलोकनका गर्न प्रवेश शूल्क निर्धारण गरिएको डाँगीले जानकारी दिए । उनका अनुसार प्रतिव्यक्ति २० रुपैयाँ निर्धारण गरिएको छ । अहिले पर्यटकहरुको हब बनिरहेको मालारानी गुफाको आकर्षण बढाउन विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको गुर्भाकोट नगरपालिकाले जनाएको छ ।
गुफासम्म पुग्नका लागि सडक निर्माणको काम भइरहेको नगरप्रमुख हस्त पुनले बताए । पर्चुर पर्यटकीय सम्भावना बाकेको गुफाका लागि तीनतहकै सरकारको लगानीमा पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए । धार्मिक र ऐतिहासिक महत्व मात्र नभई यो गुफा कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको रुपमा रहेको छ । कर्णाली प्रदेश राजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि गुर्भाकोट नगरपालिका ,कर्णाली प्रदेश सरकार र संघीय सरकारले पूर्वाधार निर्माणको काम गरिरहेका छन् ।
२०७९ मा नगरपालिकाले डीपीआर निर्माण गरेर पूर्वाधार निर्माणको काम गरिरहेको जनाइएको छ । गुफासम्म पुग्ने सडक स्तरन्नितका लागि एक करोड २० लाखमा ठेक्का सम्झौता भइ काम भइरहेको पुनले बताए । अहिलेसम्म तीनतहकै सरकारको दुई करोड लगालीमा गुफा प्रेवशद्वार, सिडिहरु, प्रतिक्षालय, सडकबाटो, विद्युत मन्दिर निर्माण लगाएतका काम भएका छन् । सडक निर्माण लगाएतका थप पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको नगरप्रमुख पुनले जानकारी दिए ।
गोठालाले फेला परेको गुफा
गुर्भाकोटमा रहेको मालारानी गुफा यति बेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ । नगरपालिकाको वडा नंं २ मालारानीमा रहेको मालारानी गुफा निकै रमणीय देखिन्छ । २०७६ सालमा गोठालाले पहिलोपटक उक्त गुफा भेटेका थिए । बाख्रा एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालवाट भित्र पसेका थिए ।
-1747417122.jpg)
बाख्रा पहराभित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लागेको वडा नंं २ वडाध्यक्ष नोखबहादुर वलीले बताए । त्यतिबेलादेखि नै मालारानी गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्थे । पछिल्लो समय बाह्य पर्यटकसमेत आउन थालेका छन् । हालसम्म भारत र बेलायतका नागरिक गुफा हेर्न आएको वलीको भनाइ छ ।
एक सय ५० मिटर लम्बाई र करिब दुई सय ५० मिटर चौडा भूभागमा गुफा फैलिएको अनुमान गरिएको छ । एकिन विवरण भने नभएको जनाइएको छ । गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप दशवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । मालारानी गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वबारे जानकारी गराउने चलन छ ।
गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिले एकपटक हरेक नागरिकको ध्यान तान्छ । स्थानीय व्यक्तिको जग्गामा गुफा रहेको छ । गुफा हेरालु समेत रहेका अमृत डाँगीको तीन रोपनी तथा अन्य क्षेत्रमा गुफा फैलिएको छ । यतिनै क्षेत्रमा फैलिएको छ भन्ने एकिन विवरण भने तयार भइसकेको छैन ।
संरक्षणमा तीनतहकै सरकारको चासो
पर्यटकीय सम्भावना बोकेको गुफा संरक्षणमा तीनतहकै सरकारले चासो दिएका छन् । उचित बजेटको व्यवस्थापन गरेर आवश्यक पूर्वाधार निर्माणका काम गरिरहेका छन् । अहिले गुफासम्म पुग्ने चार किलोमिटर सडक स्तरउन्नितको काम भइरहेको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका लागि दुईतहकै सरकारको ध्यानाकर्षण गराइएको नगरप्रमुख पुनले बताए । अहिले पनि आवश्यक पूर्वाधार निर्माणका लागि थप बजेट माग गरिएको छ । पर्यटकीय गन्तव्यहरुको खोजी गर्ने नीति प्रदेश सरकारले अबलम्वन गरेको छ । सोहीअनुरुप काम समेत गरिरएको छ । पर्यटकीय सम्भावनाको खोजी भइरहेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
जीर्ण संरचनाको संरक्षण गर्ने र नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नेगरी मन्त्रालयले काम गरिरहेको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए ।
-1747417120.jpg)