काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीले नेपालमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको जानकारी दिनुभएको छ।
प्रधानमन्त्री ओलीले चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण–४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो।
उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (जस्तै छाला, भित्री अंग) उत्पादन गर्नेछ। गत मंसिरमा भएको आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौताअनुसार यो परियोजना अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ।
‘गत मंसिरमा मेरो चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण(४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्नेछ।’
प्रधानमन्त्री ओलीले उद्योगले पाँच हजार १५६ जनालाई रोजगारी पाउने बताउनु भएको छ। उहाँले वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्ने बताउनु हो। ‘निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुनेछ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो।
यो परियोजनालाई नेपालको निर्यात र रोजगारी सिर्जनाका लागि एक ‘गेम चेन्जर’ को रूपमा हेरिएको छ। वार्षिक डेढ खर्बको निर्यातले नेपालको व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका खेल्ने र ५,१५६ जनाले रोजगारी पाउँदा स्थानीय अर्थतन्त्रमा ठूलो सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्रीको विश्वास छ।