डिबी शर्मा
काठमाडौं । प्रायः बादल तथा कहिलेकाहीँ धुलो र प्रदूषित हावाले भरिने नेपाली आकाश केही दिनदेखि कालो धुवाँले ढाकिएको छ ।
त्यो पनि कुनै वनरजंगलमा लागेको डढेलोको धुवाँ होइन । यसैमा मिसिएको छ, मुलुकको मुटु मानिने सिंहदरबार डढेर खरानी हुँदाको धुवाँ । सत्ता सञ्चालनको केन्द्र अहिले सुनसान छ, आगोले डढेका खण्डहर भवनहरू छन्, महत्वपूर्ण सरकारी दस्तावेजको खरानी छ । धुवाँ उडेर गइसक्यो । प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालयका कोठासम्म जलेर खण्डहर भएका छन् । भित्तामा अझै कालो डाम र धुवाँको गन्ध बाँकी छ । भूकम्पपछिको पुनर्निर्माण पूरा गरेर भर्खरै खुलाइएको पुरानो भवन पुनः खण्डहरमा परिणत भएको हो । पार्किङमा जलिसकेका सवारीका ‘अस्तु’ देखिन्छन् । बबरमहल र आसपासका विभागहरूमा इँटा मात्र छन् । सहरी विकास विभाग, सडक विभाग, स्वास्थ्य मन्त्रालय सबै खरानी भएका छन् ।
जेन(जी आन्दोलनपछि देशले देखिरहेको भयानक दृश्य यति मात्रै होइन, न्याय दिने सर्वोच्च अदालत स्वयं अन्यायको सिकार भएको छ । पुराना अभिलेख, ऐतिहासिक फैसला र संवेदनशील कागजात जलेर खरानी बनेका छन् । इजलासका ढोका चकनाचुर छन्, भुइँमा खरानीको थुप्रो छ । हस्तलिखित सूचना टाँस्दै अदालतले मुद्दा स्थगित गर्नुपरेको छ । सर्वोच्च मात्रै होइन, महान्यायाधिवक्ताको कार्यालयदेखि जिल्ला र उच्च अदालतको हालत पनि उस्तै छ । जिल्ला प्रशासन कार्यालयमा हजारौँ नागरिकका परिचयपत्र, पासपोर्ट र अभिलेख भवनसँगै जलेका छन् ।
देशको नीति निर्माण गर्ने थलो संसद् भवन खरानी बनेको छ । मुलुकको सर्वोच्च व्यक्ति बस्ने राष्ट्रपति कार्यालय पनि बाँकी छैन । शीतलनिवास पनि आन्दोनकारीले सखाप बनाए । यसबाहेक सडक विभागसहित प्रहरी मुख्यालयसहित प्रहरीका अधिकांश कार्यालय खरानी बने । यस्तो दुरावस्था संघीय राजधानी काठमाडौंको मात्रै होइन, जेन-जी आन्दोलनको रापले प्रदेश र जिल्ला जिल्लामा सरकारी कार्यालय ध्वस्त भएका छन् । मुख्यमन्त्री कार्यालयदेखि प्रदेशसभा र प्रदेशका मन्त्रालयका भवनहरू आगोमा डढेका छन् । जिल्लास्थित विभिन्न विभाग र सरकारी कार्यालयसँगै धेरै स्थानीय तहका भवनहरू पनि आन्दोलनको रापले दन्के ।
निशानामा पार्टीका कार्यालय र नेताका घर
आन्दोलनकारीको क्रोध पार्टीका कार्यालय र नेताका निजी आवासमा पनि प्रकट भयो । प्रमुख दलका मुख्य मुख्य नेताका घरहरू आगजनीले ध्वस्तै भएका छन् । काठमाडौं उपत्यका मात्र नभई बाहिरका जिल्लाहरूमा समेत उनीहरूले नेताका घर, पार्टी कार्यालयलगायत ढुंगामुढा र आगजनी गरेका छन् । ललितपुरस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैँसेपाटीस्थित घरमा पनि आगजनी गरिएको छ ।
निवर्तमान गृहमन्त्री रमेश लेखकको निवासमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास ध्वस्तै बनाए । त्यति मात्रै होइन, उनीहरूले देउवा दम्पतीलाई समेत कुटपिट गरे । कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्कादेखि नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिसम्मका घर आन्दोलनकारीको निशानामा परे । कांग्रेस केन्द्रीय कार्यालयको हविगत पनि उस्तै छ ।
माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित घरमा पनि ढुंगा र आगजनी गरियो । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आगजनी भयो भने प्रधानमन्त्री केपी ओलीको निजी निवास पनि ध्वस्त भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर पनि ध्वस्त भएको छ । यो सूची अझै लामो छ । कहाँ क(कसको घरमा आगजनी र तोडफोड गरिए भन्ने यकिन विवरण अझै आउन बाँकी छ ।
निजी क्षेत्रमा ठूलो क्षति
आन्दोलनकारीले सरकारी कार्यालय, पार्टीका भवन र नेताका घर मात्रै होइन, निजी लगानीका व्यापारिक कम्पलेक्स र ठूला उद्योगमा समेत आगजनी गरेका छन् । होटल, सुपरमार्केट, बैंक तथा व्यापारिक केन्द्रहरूमा आक्रमण, लुटपाट र आगजनी गरेका छन् । आक्रमणका घटनाको यकिन तथ्यांक र क्षतिको पूर्ण विवरण आइसकेको छैन । तर, राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा, बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिको भवनमा आगजनी गरेका छन् । भाटभटेनी सुपर मार्केटका सातवटा भवन ध्वस्त बनाएका छन् । थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क र कान्तिपुर दैनिकको कार्यालयमा आगजनी गरिएको छ । व्यापारिक घराना चौधरी समूह (सिजी ग्रुप) का मुख्यालय, विभिन्न औद्योगिक प्रतिष्ठानका साथै यसका सञ्चालक विनोद चौधरीको निजी निवासमा समेत तोडफोड, आगजनी र लुटपाट भएको छ ।
त्यस्तै, हेटौँडा, पोखरा र भरतपुरका भाटभटेनी स्टोर पनि पूर्ण रूपमा नष्ट भएको छ । काठमाडौं उपत्यकाभित्र बालुवाटारको मुख्य गोदाम, टंगालको पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीका स्टोर पनि पूर्ण रूपमा क्षति पुगेका छन् भने राधेराधे लगायतका देशभरका सबैजसो स्टोरमा तोडफोड र लुटपाट भएको छ । ११ वटा स्टोर भने भवन पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको जनाइएको छ ।
यसैगरी, देशभरका विभिन्न अटो सोरुममा आगजनी गरेका छन् । राजधानीभित्रका थापाथली, माइतीघर, नक्साल, कुमारीपाटीलगायत प्रमुख क्षेत्रमा रहेका सोरुम अहिले क्षतिग्रस्त बनेका छन् । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको लगानी भएको चन्द्रागिरि केबुलकार र मौलाकालिका केबलकारको बटम स्टेसन पनि आगो लगाएर ध्वस्त बनाइएको छ । महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको सीतापाइलास्थित निवासमा आगजनी, लुटपाट र तोडफोड भएको छ । त्यस्तै, नक्सालस्थित पाँचतारे हिल्टन होटल प्रदर्शनकारीले जलाएर ध्वस्त बनाउँदा अर्बौंको क्षति भएको छ भने बालुवाटारस्थित वर्णवास होटलमा समेत आगजनी गरिएको छ ।
बैंकमा सर्वसाधारणको पैसा सुरक्षित
प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ । प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यालयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनका प्रतिनिधिले बताएका छन् । बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघले जनाएको छ । त्यसैगरी, केही स्थानका एटिएम मेसिन तोडफोड गरी नगद झिक्न खोजिए पनि त्यो असम्भव हुने भएकाले नगदको नोक्सानी हुनबाट बचेको संघको भनाइ छ । कार्यालयका झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भने भएका छन् । संघका अनुसार के कस्ता क्षति भयो भन्ने यकिन जानकारी भने आइसकेको छैन । त्यसैगरी, डेभलपमेन्ट बैंकहरूमा पनि मंगलबारको आन्दोलनबाट खासै क्षति नभएको संघको निष्कर्ष छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ ०६:०१