अर्चना दर्जी
काठमाडौं । असार ४ गते बिहीबार करीब १ बजे मिलन खत्रीकी आमा उमा, जेन–जी अभियानकर्मी सरिस्मा थापा र म केन्द्रीय कारागार सुन्धारा गयौं।
हामी पुगेपछि भेटघाटस्थलमा कालो टोपी, कलेजी रङको भेस्ट र पाइन्ट लगाएका मिलन आइपुगे । छोरालाई देख्नेबित्तिकै उनकी आमाको आँखा रसायो । मिलनले आमालाई हेर्न सकेनन्।
मैले आफ्नो परिचय दिएँ ।
मलिन अनुहारका मिलनले आक्रोशित हुँदै हामीलाई सुनाए—“पानी बाँड्ने भनेर गएको सुधन गृहमन्त्री भए अनि आन्दोलनमा दुई गोली खाने मचाहिं अहिले जेलमा छु, दिदी ।” उनले मसँग बोलेको शुरूको वाक्य नै यही हो।
मेलै उनको शरीरमा गोली लागेको ठाउँ हेर्न खोजें । तर, कारागारको नियमअनुसार कपडा माथि सार्न नमिल्ने रहेछ । उनले देखाउन सकेनन्।
त्यसपछि हामीले भदौ २३ र २४ गतेको घटनाबारे सोध्यौं।
२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका नेतृत्वकर्ता सरकारमा पुगेका छन् । कोही गृहमन्त्री त कोही सांसद बनेका छन् । प्रदर्शनलाई उक्साउने बालेन्द्र शाह प्रधानमन्त्री छन्, कारागारबाट भागेका रवि लामिछानेको पार्टीकै सरकार छ । तर, परिवर्तनका लागि भएको प्रदर्शन हेर्न मात्रै भनेर गएका जेन–जी युवा भने जेलमा छन् ।
हालका गृहमन्त्री तथा ‘हामी नेपाल’ का अध्यक्ष सुधन गुरुङ भदौ २३ गतेको प्रदर्शनमा माइतीघर मण्डलमा स्वयंसेवकका रूपमा प्रदर्शनकारीलाई पानी बाँड्न गएको कुरा उनी स्वयंले पटकपटक सार्वजनिक रूपमा स्वीकारिसकेका छन् । तर, पछि थाहा भयो, गुरुङले भदौ २३ गतेको प्रदर्शनका लागि अघिल्लो दिनै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिइसकेका रहेछन् । (पत्र) उमेरले ३६ वर्षका सुधन गुरुङ जेन–जी उमेर समूहभित्र पर्दैनन् । सायद त्यसैले पनि हुनसक्छ, उनले आफूलाई स्वयंसेवकको रूपमा चिनाउन उपयुक्त ठाने।
भदौ २३ गतेको प्रदर्शनका लागि सुधन गुरुङको संस्था ‘हामी नेपाल’सहित तीन वटा समूहले अनुमति लिएका थिए । पुरुषोत्तम यादव र सबल गौतमको समूह अनि अर्को खेमराज साउद र अंकित मल्लको समूह।
‘हामी नेपाल’का स्वयंसेवकहरू संस्थाको ज्याकेट लगाएर कार्यक्रममा सहभागी थिए । उनले कार्यक्रमस्थल माइतीघर मण्डला वरपर एम्बुलेन्स र डाक्टरको समेत व्यवस्था गरेका थिए ।
गुरुङले भदौ २३ र २४ गतेको घटनामा नेतृत्व गर्ने मात्रै होइन, घटनापछि आफ्नै नेतृत्वमा प्रदर्शनका मुख्य नेतृत्वकर्ताहरूलाई ‘जेन–जी काउन्सिल’ समूहमा आवद्ध गराए, जसमा यादवलाई काउन्सिलको सहसंयोजक र साउदलाई सुदूरपश्चिम संयोजक बनाइयो । त्यति मात्रै होइन, गुरुङले भदौ २३ र २४ गतेको प्रदर्शनको आह्वानदेखि संसद् विघटन, सेनासँग वार्ता, अन्तरिम सरकार गठनसम्मको नेतृत्व गरे।
निर्वाचनअघि गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भए । त्यसअघि नै उनले रास्वपा सभापति रवि लामिछानेलाई नख्खु जेलमै गई भेटेका थिए । रास्वपामा आबद्ध भएर रवि, बालेन र कुलमानलाई मिलाउन समेत नेतृत्वदायी भूमिका खेले । हाल रास्वपाबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर गृहमन्त्री बनेका गुरुङका सहयात्री पुरुषोत्तम यादव रास्वपाको समानुपातिकबाट सांसद भएका छन् । खेम साउद रास्वपाको केन्द्रीय सदस्य हुन्।

रवि–बालेन्द्र अघोषित सहकार्य
सुधन मात्र नभई तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले स्ट्याटसमार्फत नवयुवालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए । ‘यो जेन–जीको स्वस्फूर्त र्याली हो, जसका लागि आफू अझै बूढो देखिन्छु भन्दै २८ वर्षमुनिका सबै जेन–जीलाई आन्दोलनमा स्वस्फूर्त सहभागी भएर आफ्ना कुरा र विचार राख्नु’ भनेर आह्वान गरेका थिए । उनको स्ट्याटसबाट जेन–जी प्रदर्शनलाई समर्थन जनाएको मात्र होइन, प्रदर्शनमा जान आह्वान नै गरेको देखिन्छ । साथै, उनले संसद् विघटनजस्ता निर्णय गर्न पनि उक्साएका थिए । शाहलाई जेन–जी विद्रोहको ‘छद्मभेषी’ आह्वानकर्ताको रूपमा लिन सकिन्छ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि जेन–जी प्रदर्शनमा जान खुला रूपमा आह्वान गरेका थिए । भदौ २३ गते १९ जना युवा मारिएपछि नख्खु कारागारबाटै गरेको सम्बोधनमा उनले प्रदर्शनमा जान आह्वान गरेका थिए।
‘मेरो हातमा हत्कडी लागे पनि तपाईंहरूका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नु होला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टकटक्याउनु होला । गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसद्मा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ । खोज्नु होला, खोस्नु होला । नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन्।’
यसरी खुलेआम उनले ती फाइलहरू खोज्नु होला, खोस्नु होला भनेको भोलिपल्ट कारागार फोडेर बाहिर निस्केका थिए । उनीमाथि कारागार तोडेको आरोप छ । साथै, मानव अधिकार आयोगको प्रतिवेदनले पनि सुधन गुरुङ, पुरुषोत्तम यादव, रवि लामिछानेलाई अनुसन्धान गर्नु भनेको छ । यदि दोषी देखिए कारवाही गर्न पनि सरकारलाई सिफारिश गरेको छ।
रास्वपाका अन्य सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा। तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, आशिका तामाङ, शिव यादव, सोम शर्मा र कृष्ण कार्कीलगायत कलाकार तथा कन्टेन्ट क्रिएटरहरूलाई पनि अनुसन्धान गरी दोषी देखिए कारवाही गर्न सिफारिश गरेको छ । यी सबै कुनै न कुनै रूपमा हिंसा भड्काउने कार्यमा सहभागी थिए भनी आयोगले निर्क्योल गरेको छ।
तर, उनीहरूकै सरकारले आफूहरूको अनुसन्धान प्रक्रियाअघि बढाएको छैन । आफैंले प्रदर्शनमा जान उक्साए । अहिले उनै युवा जेलमा जाकिएका छन्।
बिनाकसूर हत्कडी
तिनैमध्येका एक हुन्, २४ वर्षीय मिलन खत्री । असार ४ गते बिहीबार केन्द्रीय कारागार सुन्धारामा हामीले उनलाई भेटेका थियौं।
भदौ २३ गते उनको दाहिने हात र देब्रे कोखामा गोली लागेको थियो । घाउसमेत निको हुन नपाउँदै जेलमा जाकिनु पर्यो।
मलिन अनुहारका मिलनले आक्रोशित हुँदै हामीलाई सुनाए, “पानी बाँड्ने भनेर गएको सुधन गृहमन्त्री भए अनि आन्दोलनमा दुई गोली खाने म अहिले जेलमा छु, दिदी !” केन्द्रीय कारागारमै हामीले भदौ २३ र २४ गतेको घटनाबारे सोध्यौं।
भदौ २३ गते करीब १ बजे उनी मोबाइलको ग्लास फेर्न कोटेश्वरतिर गएका थिए। मोबाइलको ग्लास फेरेपछि सडकमा बढिरहेको भीड हेर्दै थिए । पसलको सटर बन्द हुन थालेपछि उनको छेउमा १० जनाजति युवा आएर भने, “हाम्रो साथीलाई गोली लाग्यो दाइ।”
“भाइहरूलाई देखेर म पनि आत्तिएँ,” उनी सुनाउँछन्, “त्यसपछि म पनि उनीहरूसँगै निस्किएँ ।” उनको आँखा एक जेन–जी युवतीमा पर्यो । उनका अनुसार प्लेकार्ड बोकेर उभिएकी तिनलाई प्रहरीले बन्दुक ताकेको थियो । ती युवतीलाई एक्लै देखेर मिलन साथ दिन पुगे । “म उनको अगाडि गएर उभिएँ, त्यहीं गोली लाग्यो,” उनी भन्छन्, “मैले केही मेसो पाइनँ ।” ती युवतीलाई ताकिएको गोली उनको दाहिने हात र देब्रे कोखामा लाग्यो ।
उनलाई स्थानीयले नजिकैको क्लिनिकमा लगे । क्लिनिकको सटर लगभग बन्द थियो । तल अलिकति खुला थियो, त्यस भागबाट पनि अश्रु ग्यास हानियो । क्लिनिकमै अश्रु ग्यास हान्न थालेपछि उनलाई माथिल्लो तलामा लगियो । तर, त्यहाँ पनि थेग्न नसकेपछि उनलाई शिक्षण अस्पताल लागे । अस्पताल पुग्दासम्म उनको होश हराइसकेको थियो । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको कुरा उनले राती ३ बजेतिर थाहा पाए ।
२४ गते करीब २ बजे शिक्षण अस्पतालमा गोली लागेर घाइते भएका एक युवकलाई ल्याइयो। अस्पतालका बेड भरिभराउ थिए । मिलनले बेड खाली गर्नुपर्ने भयो । घाइते भएर ल्याइएका युवाको उपचारकै क्रममा मृत्यु भयो । “त्यो रुवाबासी मैले हेर्न सकिनँ,” उनले भने।
अस्पतालमा बेड खाली नभएपछि उनी निस्किए । घर जानलाई कुनै साधन थिएन । लिफ्ट माग्ने अवस्था पनि थिएन । उनी महाराजगञ्जको प्रहरी बिटछेउ पुगे । भीड ठूलो थियो । कुटाकुट नै भइरहेको थियो । नेपाली ब्रो र केही कलाकारले भीडलाई साम्य पार्न खोजिरहेका थिए । मिलन पनि त्यही समूहमा मिसिएर भीडलाई शान्त पार्न खोजे । उत्तेजित भीडले उनको बिन्ती सुनेन। “त्यसपछि मैले शर्ट खोलेर देखाएँ, मलाई गोली लागेको छ तैपनि मैले रिस बोकेको छैन भनें,” उनी सुनाउँछन्, “सबैलाई अब छोडौं भनिरहें।”
अगाडि कपडाले छोपेको वस्तु थियो । भीडमा उनले त्यस वस्तुलाई नियाल्न सकेनन्।
त्यही भीडमा एउटा हल्ला आयो— ‘केपी ओलीले राजीनामा दिए अरे १’ त्यस खबरले भीडमा आवाज ठूलो भयो— ‘हाम्रो जीत भो १’ मिलनले पनि त्यस जीतको खुसी मनाएर ताली बजाए ।
करीब साढे ४ बजेसम्म उनी त्यही भीडमा बसे। नेताहरू भागिरहेका छन् भन्ने खबर भीडले भनिरहेको थियो । यता देउवा दम्पत्तिमाथि कुटपिट भयो भन्ने खबर पनि आयो । साढे ४ देखि ५ बजेको बीचमा उनी भीडबाट निस्किएर एक अपरिचित व्यक्तिको बाइकमा घर फर्किए।
घाइते अवस्थाका उनले धेरै समय काम गर्न सकेका थिएनन् । उनकी बहिनी कक्षा १२ पढेर बसेकी छन् । परिवारमा मनमुटाव भएपछि दाइ छुट्टै बस्छन् । बुबा पानीको जार बोकेर पसल–पसल पुर्याउँछन् । आमा सडकमा मकै पोलेर बेच्छिन् । कोल्ड स्टोरमा काम गर्ने मिलनले मासु पसलमा काम गर्ने सोच बनाइरहेका थिए।
परिवारको सहारा बन्नुपर्ने बेलामा आफैं बन्दी जीवन बिताइरहेका छन्।
“सबैभन्दा पीडा त आमा–बाको दुःख देख्दा लाग्दो रहेछ, परिवार पाल्नमै यसरी बस्नु पर्या छ,” उनको गला अवरुद्ध भयो ।
उनी फेरि सम्झिन्छन्— कात्तिक ९ गतेको घटना । तिहार भर्खरै सकिएको थियो । छठ पर्वको पूर्वसन्ध्यामा डेरामा आफन्त पर्ने दिदीहरू आएका थिए । पाहुनाका लागि मासु किन्न घरबाहिर निस्किएका उनको ह्वाट्सएप ग्रुपमा ‘म्यासेज’ आयो । जेन–जी घाइतेहरूको ह्वाट्सएप ग्रुप थियो । त्यस ग्रुपमा घाइतेहरूसँग माइतीघरमा छलछल हुँदै छ भन्ने खबर आयो । मासु नकिनी उनी सीधै पठाओ चढेर माइतीघर गए । माइतीघरमा उनलाई पक्राउ गर्यो। “त्यहाँका साथीहरूले तिमीलाई प्रहरीले पक्रिन्छ, यहाँबाट फर्किऊ भनिरहेका थिए,” उनी सुनाउँछन्, “मैले केही गल्ती नै गरेको थिइन, त्यसैले भाग्नुपर्ने नै थिएन जस्तो लाग्यो ।”
मासु किन्न भनेर निस्केका मिलनलाई माइतीघरबाट प्रहरीले पक्राउ गर्यो ।
पक्राउ गरेको तीन दिनपछि उनको बयान लिइयो । बयान लिनुभन्दा अघि एक प्रहरीले उनलाई बन्दुक दिए । “यो बन्दुक चलाऊ, अनुभव लिऊ कस्तो हुँदो रहेछ भनेर भन्नु भयो,” उनले सुनाए, “कहिल्यै बन्दुक नछोएको मान्छे डरले छुन सकिनँ ।”
उनले २३ र २४ को घटना सबै बताए । सिभिल पोशाकका प्रहरीले पनि २४ गते महाराजगञ्जमा उनलाई देखेका रहेछन् । तिनले पनि मिलनको कुनै गल्ती नभएको बताएका थिए । “उहाँहरूले यो भाइ त्यहीं थियो तर उसले केही गरेको छैन, छोडिदिनु भन्नु भएको थियो,” उनी भन्छन्, “तर पनि मलाई छोडिएन, यहाँ किन राखेको पनि थाहा छैन ।”
उता प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन रायको भदौ २४ गते प्रदर्शनकै क्रममा हत्या भएको थियो । उनै प्रहरीकी श्रीमती मंगला श्रेष्ठले उनका श्रीमान् रायलाई क्रूर अमानवीय तरिकाले कुटेर मरणासन्न अवस्थामा बाटोमा छाडी वरपर ताली बजाउँदै नाच्दै गरेको भिडियोमा मिलन खत्री पनि देखिएको भनेर जाहेरी दिएकी थिइन् । उनले ज्यानसम्बन्धी कसूर मुद्दामा हदैसम्मको सजाय तथा कारवाहीको माग गरेकी छन्।
प्रहरीले मिलनलाई ताली बजाएको भिडिओ देखाएको थियो । सोही भिडियोलाई आधार मानेर अनुसन्धान गर्ने भन्दै ८ महीनादेखि कारागारमा राखेको छ । “मैले त्यत्रोबेर हात जोडेर शान्त बनाउने प्रयास गरेको कुरा भिडिओमा आएन,” उनी भन्छन्, “हाम्रो जीत भयो भनेर ताली बजाएको भिडियो चैं आयो ।”
उनी मिलन रायलाई मार्ने कार्यमा संलग्न भएको पुष्टि भए सजाय भोग्न तयार रहेको बताउँछन् । “मैले कतै एउटा लठ्ठीले पनि हानेको रहेछु, त्यस लाशलाई छोएको मात्रै रहेछु भने जे सजाय दिए पनि भोग्न तयार छु,” भन्छन्, “तर बिनाकसूर यहाँ नराखियोस् ।”
प्रहरीले गर्नुपर्ने अनुसन्धान छिट्टै गरेर आफूलाई कारागार मुक्त गरिदिन माग गरेका छन् ।
कलेज जानुपर्ने बेला जेलमा
पर्साको ठोरी गाउँपालिकाका २० वर्षीय युनिक श्रेष्ठ कक्षा १२ उत्तीर्ण गरेर स्नातक तहमा भर्ना हुने तयारीमा थिए । उनको भाइ आमा र बुबासहित धुम्बाराहीमा डेरा लिएर बस्छन् । छोराहरूलाई पढाउनकै लागि भनेर गाउँ छाडेर काठमाडौं आएको उनकी आमा अञ्जना श्रेष्ठ बताउँछिन् ।
उनका श्रीमान् साइकलमा धूप बेच्छन्, उनी घरको काम गर्छिन् ।
छोराले कक्षा १२ उत्तीर्ण गरेपछि परिवारमा केही राहत होला भन्ने आश जागेको थियो । तर, अहिले छोरा थुनिएको पीडामा छन् ।
कात्तिक ३ गते लक्ष्मीपूजाको दिन । युनिक धुम्बाराहीको सडकमा फूल बेचिरहेका थिए । शहर झिलिमिली बत्तीले उज्यालिंदै थियो । तर, युनिकको परिवारमा भने एक्कासि अन्धकार छायो।
फूल बेचिरहेका युनिकलाई सडकबाटै प्रहरीले उठाएर लाग्यो । “छिमेकीले छोरालाई पक्राउ गरेको खबर सुनाए, कहाँ लगेको छ भन्ने पनि थाहा पाएनौं,” उनी भन्छिन्, “कति वटा प्रहरी कार्यालयमा धाएँ, भोलिपल्ट मात्रै भद्रकालीमा ल्याएको थाहा पाएँ ।”
माइतीघरमा छोरा फर्काउनका लागि धर्ना बसिरहेकी अञ्जनाले पक्राउ गरिनुको कारण अहिलेसम्म थाहा नपाएको बताइन् । प्रहरीले अनुसन्धानका लागि मात्रै हो भन्ने जवाफ दिएको छ ।
युनिक पक्राउ परेपछि प्रहरीले उनले प्रदर्शनमा जाँदा लगाएको कपडा ल्याइदिए छुट्ने बताएको थियो । अञ्जनाले त्यो कपडा लगिदिइन् तर उनको छोरा छुटेनन् । “लुगा लगिदिंदा छोरा आउँछ होला भनेर खोजीखोजी लगिदिएको,” उनी भावुक हुँदै सुनाउँछिन्, “तर, लुगा लगेपछि छोरालाई मुद्दा हालियो ।”
अञ्जनाका अनुसार भदौ २४ गते करीब १२ बजे प्रदर्शनको भिडिओ बनाएर आउँछु भनेर युनिक डेराबाट बाहिर निस्किएका थिए । करीब २ घण्टापछि युनिक भिडिओ बनाएर आएको भन्दै डेरा फर्किएका थिए।
प्रहरीले भदौ २४ गते चक्रपथमा युनिक दौडिएको भिडिओ फुटेज फेला पारेको थियो । त्यही भिडिओलाई आधार मानेर उनीमाथि मुद्दा चलाएको बताउँछिन् ।
“मेरो छोराले कसैलाई कुटपिट गरेको, मारेको रहेछ भने म आफैं सजाय दिनुस् भन्छु,” उनी भक्कानिंदै भन्छिन्, “त्यो कपडा देखिएकै कारणले उसलाई मुद्दा हाल्नु हुँदैन ।”
माइतीघरमा धर्ना बसिरहेकी अञ्जनाको परिवार युनिक पक्राउ परेपछि विचलित भएको छ । धेरैजसो उनको रात माइतीघरमै बित्ने गरेको छ । न खानाको टुंगो छ, न त बासकै ।
साइकलमा धूप बेच्ने युनिकका बुबा नारायणबहादुर श्रेष्ठको दिन अचेल माइतीघर मण्डलमा बित्ने गरेको छ । “छोराको सहारा खोज्ने उमेरमा उसैको न्यायको लागि धर्ना बस्नु परेको छ,” नारायण भन्छन्, “परिवारको भविष्यकै लागि भनेर काठमाडौं आइयो, दुःख गरियो, अहिले परिवारै छिन्नभिन्न भयो ।”
टोखा–६ को ग्रिनल्याण्ड चोकस्थित परिवारको साथमा डेरामा बस्ने १९ वर्षीय विनोद कार्की स्नातक प्रथम वर्षमा अध्ययनरत थिए ।
जेठा छोरा विनोदले पढेर परिवारको जिम्मेवारी धान्लान् भन्ने आश थियो । तर, उल्टै उनका बुबा छोराको रिहाइका लागि ३९ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन् । उता कलेज जानुपर्ने बेला विनोद ८ महीनादेखि भद्रकाली कारागारमा छन् ।
परिवर्तनका लागि भनेर गरिएको प्रदर्शनले छत्रका १९ वर्षीय छोरालाई कसरी जेलमा पुर्यायो ? उनले फेरि सम्झिए— भदौ २३ र २४ गतेको घटना । २३ गते चारैतिर जेन–जी प्रदर्शनको चर्चा थियो । उनका सबै परिवार घरमै बसेर सामाजिक सञ्जालमा भइरहेका घटना हेरिरहेका थिए ।
१९ जना युवा मारिएपछि उनले हातमा कालोपट्टी बाँधेर सरकारको सांकेतिक विरोध गरे । “त्यो दिन म धेरै रोएँ । तर, केही गर्न सकिनँ र आफ्नै तरिकाले कालोपट्टि बाँधेर विरोध गरें,” उनी भावुक हुँदै सुनाउँछन्, “ती बच्चाहरू निर्दोष थिए, नारा जुलूस गर्दैमा उनीहरू मर्नु हुँदैनथ्यो ।”
उनले पहिलोपल्ट त्यहीबेला ‘जेन–जी’ शब्द सुनेका थिए । जेन–जी युवाले बेथितिविरुद्ध प्रदर्शन गरेका थिए । तर, त्यही परिवर्तनका लागि लडेका जेन–जी मारिएपछि त्यो रात उनी सुत्न सकेनन् । ती युवा मारिएकामा सरकारप्रति छत्र निकै आक्रोशित बने । तर, उनले आफूलाई संयम बनाए । आफू आक्रोशित हुँदा परिवारलाई कुनै असर पर्ने हो कि भन्ने चिन्ता उनमा थियो । उनले कालोपट्टी पनि झिकेर फाले।
राती छत्रले दुई छोरा र श्रीमतीलाई साथै राखेर भोलिपल्ट कुनै पनि आन्दोलनमा नजानू भन्ने सल्लाह दिए । “छोराहरूले पनि हुन्छ भनेर मुन्टो हल्लाए,” उनी सुनाउँछन् ।
उनको मासु पसल छ । २४ गते बिहान बाउछोराले पसलमा काम गरे । करीब ९ बजे छत्रले छोरालाई खाना खान घर पठाए । उनले समाचार पनि हेरिरहेका थिए । १० बजेपछि सडकमा नारा जुलूस शुरू भयो । करीब १२ बजे छोरा विनोद पसलमा आइपुगे । छोरा आइपुगेपछि आफू खाना खान घर निस्किए । “नारा जुलूस लागिरहेको छ, घरबाहिर ननिस्किनू है, कोही आए भने सटर लगाएर भित्र बस्नू । तर, पटक्कै बाहिर ननिस्किनू भनेर निस्केको थिएँ,” उनी सम्झिन्छन् ।
छत्र खाना खाएर मोबाइलमा आएका समाचार हेरिरहेका थिए । करीब ३ बजे छोरा आइपुगे । ‘साथी बसुन्धारा चोकमा आएको छ, उसलाई भेट्न जान्छु’ छोराले भने । “बिहान बनाएको सामान सकियो अब सामान बनाउनु पर्नेछ, जान मिल्दैन भनेर रोक्न खोजें,” उनी सुनाउँछन्, “तैपनि ऊ छिट्टै आउँछु भन्दै निस्केर गयो ।”
छोरालाई रोक्न सकेनन् । सायद त्यो दिन उनले रोक्न सकेका भए अहिले विनोद उनको साथै हुन्थे । उनका अनुसार विनोद करीब ४० मिनेटमा घर फर्किए । तर, त्यही ४० मिनेटले उनलाई ८ महीनादेखि कारागार पुर्यायो।
छत्रका अनुसार प्रहरीले विनोदलाई भिडिओको आधारमा पक्राउ गरेको हो । कात्तिक १२ गते प्रहरी कार्यालयबाट छत्रलाई फोन आयो । उनी १३ गते प्रहरी परिसर भद्रकाली गए । “प्रहरीले मलाई छोराको फोटो देखाएर चिन्नुहुन्छ भनेर सोध्यो, आफ्नो छोरालाई नचिन्ने कुरै भएन,” उनी भन्छन्, “चिन्छु भनेपछि त उहाँहरूको रूपै अर्को भयो ।”
बाइकमा आएका छत्र प्रहरीको गाडीमा घर फर्किए । त्यसै दिन विनोद पक्राउ परे । छोरालाई सोधपुछ गरेर छोडिन्छ भन्ने सोचेका थिए । तर, उनी फर्किएनन् ।
पक्राउ परेको भोलिपल्ट उनी छोरालाई भेट्न गएका थिए ।
“रातभरि कुटपिट गरिएछ, नभएको कुरालाई पनि हो भन्न लगाइएछ,” उनी भन्छन्, “कुटपिटले छातीमा चोटपटक लागेको थियो ।”
विनोदलाई चक्रपथमा देखिएको भिडिओको आधारमा पक्राउ गरेर कर्तव्य ज्यान, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा लगाइएको छ । विनोदले बताएअनुसार भदौ २४ गते घटनास्थलमा उनलाई एकजना प्रदर्शनकारीले लौरो समात्न दिएका थिए । विनोदले त्यही लौरो बोके । तर, कुन आधारमा मुद्दा चलाइयो हो भन्ने कारण प्रहरीले अहिलेसम्म बताएको छैन । अनुसन्धानका लागि भनेर कारागार पठाएको छ।
“मेरो छोराले त्यस लौरोले कसैलाई कुटेको रहेछ भने सजायको भागीदार होस् । तर, उसले नगरेको गल्तीले उसको भविष्य नबिगारियोस्,” छत्र भन्छन्, “हातमा लौरो देखेकै आधारमा त्यसले हानेर मारेको भनेर छोरालाई जेलमा हालेको होला १”
मानव अधिकार आयोग र कार्की आयोगको प्रतिवेदनले पनि दोषी नभनेका विद्यार्थीहरू जेल चलान भएका छन् भने दोषी देखिएकाहरू कोही बाहिर, कोही सदनमा छन्।
“त्यस आन्दोलनमा कोही मतियार थिए, खासमा दोषी त उनीहरू हुन्,” उनी भन्छन् ।
जेन–जीको रगतले बनेको सरकारले पनि आफूहरूको पीडा नसुनेको उनी बताउँछन् ।
दिप्सरा भण्डारीका २० वर्षीय छोरा अनुपम भण्डारी पनि कक्षा १२ उत्तीर्ण गरी स्नातकमा भर्ना हुन लागेका थिए । कैलालीका अनुपमलाई परिवारले कोटेश्वरको डेरामा राखेर पढाएका थिए। उनलाई असोज १२ गते प्रहरीले अनुसन्धानका लागि भनेर घरैबाट लगेको थियो । त्यसपछि काठमाडौं ल्याइयो । प्रहरी परिसरमा तीन दिनसम्म धर्नाजस्तै बसेपछि पक्राउ परेका छोरालाई दिप्सराले बल्ल भेट्न पाइन्।
“धेरै पिटेछन्, हिंड्न नसक्ने अवस्थामा थियो,” दिप्सरा भन्छिन्, “आन्दोलनमा गएकै भरमा किन यति ठूलो सजाय ?”
कोटेश्वरमा खिचिएको एक भिडिओसँग अनुपमको कपडा मिलेको देखिएकाले उनलाई अनुसन्धानका लागि भनेर पक्राउ गरिएको हो ।
उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा हालिएको छ ।
उनी ९ महीनादेखि छोराको रिहाइका लागि सडकमा छिन् । केही प्रहरीले भने उनलाई जेलमा राख्नुपर्ने कुनै कारण नभएको बताउँछन् ।
“मानव अधिकार आयोग र कार्की आयोगले दोषी देखाएकाहरूलाई चाहिं किन लगेन रु” उनी प्रश्न गर्छिन्, “निर्दोष हाम्रा छोरालाई चाहिं किन थुनियो रु”
विभिन्न जेलमा जेन–जी युवाका आमा–बा तथा परिवारजन माइतीघरमा धर्ना बसिरहेका छन् ।
छोराहरूलाई यसैगरी जेलमा राखेर उनीहरूको भविष्य बिगारिदिए पीडित परिवार र उनका आफन्तले अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल प्रहरीका अनुसार असार २५ गतेसम्म एक हजार १३ जनाको मुद्दा दर्ता भएकोमा २ सय ५६ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, अभद्र व्यवहार, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, चोरी तथा संगठित अपराधको कसूरमा जेलमा थुनिएको छ ।
न्यायाधीशको मान्छे भनेर ठगी
छोराहरूको रिहाइका लागि भौंतारिरहेका अभिभावकहरू ठगीमा पनि परेका छन् । माइतीघरमा धर्नामै बसिरहेका बेला युनिक श्रेष्ठ पढिरहेको विद्यालयका प्रधानाध्यापकले एकजना व्यक्तिलाई चिनाइदिए । उनी बुढानिलकण्ठका हरिबहादुर थापा थिए । उनले आफूलाई न्यायाधीश सपना प्रधान मल्लका भाइ बताए । “म सधैं यस्तै केस मिलाउने काम गर्छु भन्यो,” युनिकका बुबा नारायण श्रेष्ठ बताउँछन् । थापाले कराँते सिकाउँछन् भन्ने बाहेक उनका बारेमा केही थाहा छैन श्रेष्ठलाई ।
छोराको न्यायका लागि अचेल उनको दिन माइतीघर मण्डलमा बित्ने गरेको छ।
स्कूल पढ्दै गरेको छोरालाई जेलबाट निकालिदिन्छु भनेपछि नारायणले उनको कुरामा विश्वास गरे । उनले अन्य थुनुवाका अभिभावकलाई पनि यही कुरा सुनाए ।
छोरालाई निकाल्न ‘सेटिङ’ मिलाउनुपर्छ भन्दै उनले पैसा मागे ।
पहिलो पटक नारायणले थापालाई ८० हजार पाँच सय दिए । धरौटी खुलाउन भन्दै दोस्रो पटक १ लाख ६५ हजार र तेस्रो पटक २५ हजार दिए । पछि पटकपटक गरी थप ५० हजार दिए ।
यता विनोदका बुबा छत्र कार्कीले पनि १० हजार, ५० हजार र १र१ लाख गरी २ लाख ६० हजार दिए ।
अनुपम भण्डारीकी आमा दिप्सराले पनि पहिलो पटक ५० हजार दिइन् । पछि धरौटीमा निकाल्नलाई पैसा चाहिन्छ भनेर मागे । उनले पैसा दिन नचाहँदा जेलमा हालिदिने धम्कीसमेत दिए। “अरू दुईजनाका छोरा निस्किन लागेका थिए, तपाईंको कारणले रोकिए, पैसा दिनु भएन भने तपाईं जेल जानुहुन्छ भन्यो,” उनी सुनाउँछिन् ।
थापाको धम्कीपछि उनले पैसा दिएको प्रमाण राख्नलाई भिडिओ रेकर्ड गरेर १ लाख ७० हजार दिइन् ।
“म तपाईंसँगै अदालत जान्छु नि भनेर जान खोज्दा उनले दिदीको बेइज्जत हुन्छ नजानु भन्यो,” दिप्सरा भन्छिन्, “त्यसपछि मलाई शंका लाग्यो ।”
दिप्सराले सर्वोच्च अदालतमा गएर बुझ्दा कुनै पनि फाइल अगाडि नबढेको थाहा पाइन् । थापाले ठगी गरेको थाहा पाएपछि ठगीसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो । पछि थापालाई काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटीमा छोडिदियो । तर, थापामाथि अन्य मुद्दा पनि लागेकाले उनी जेलमै बसेका छन् ।
यसरी आपत् परेका बेला ‘मौका’ मा चौका हान्नेबाट पीडितहरू झन् ठगिए । एकातिर छोराहरू जेलमा छन् अर्कातिर त्यसै ऋणमा परे ।
जेन–जी अभियानकर्मी सरिस्मा थापाका अनुसार यसरी जेलमा पर्नेमा धेरैजसो पढ्दै गरेका निर्दोष युवा छन् । भिडियोमा ताली बजाएको र दौडेको देखिएकै आधारमा पक्राउ गरिएको छ । पढ्दै गरेका युवालाई अनुसन्धानका लागि भनेर जेलमा राखिएको छ । तर, अनुसन्धान गरिएको छैन ।
यता, जेन–जीकै बलिदानीबाट बनेको सरकार त्यसमा पनि जेन–जीकै नेतृत्व गरेर बनेका गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघिको दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेका छन् । तर, अनुसन्धानका लागि भनेर ८र९ महीनादेखि जेलमा राखिएका युवाबारे भने उनलाई कुनै मतलब छैन ।
पटकपटक जेन–जी थुनुवाहरूको अनुसन्धान प्रक्रिया अघि बढाइदिन ताकेता गर्दा पनि गृहमन्त्री गुरुङले आफूहरूको कुरा नसुनेको अभियानकर्मी थापा बताउँछिन् । “छिट्टो अनुसन्धान गरेर दोषीलाई सजाय र निर्दोषलाई छुटकारा दिनुपर्यो, पढ्दै गरेका भाइहरूको भविष्य बिग्रिन्छ,” उनी भन्छिन्, “कतिपल्ट ती भाइहरूका आमासँग गृहमन्त्रीलाई भेट्न गयौं । तर, हाम्रो कुरा सुनुवाइ भएन ।”
राजनीतिशास्त्री तथा सुरक्षा विज्ञ इन्द्र अधिकारी सबैलाई एउटै मापदण्डले न्याय निरूपणको प्रक्रिया शुरू गरिनुपर्ने बताउँछिन् । कानूनका नजरमा सबै नागरिक समान हुन् भनेर संविधानमा प्रष्ट रूपमा भनिएको र लोकतान्त्रिक प्रणालीमा कोही दोषी छुट्न नहुने, निर्दोषले सजाय पाउन नहुने भनिए पनि जेन–जीको सरकारमा पनि न्याय निरूपणको प्रक्रियामा समानता नदेखिएको उनी बताउँछिन् । “अन्तरिम सरकारमा पनि निर्वाचन गराउने नाममा कसलाई समात्ने र कसलाई छोड्ने भन्ने कुरा नियोजित थियो” अधिकारी भन्छिन्, “प्रत्यक्ष संलग्न देखिएकाहरूलाई चाहिं चुनाव भाँडिन नदिने नाममा छोइएन ।”
अनुसन्धानमा लगिएकाहरूलाई पनि के आधारमा के अनुसन्धान गरिंदैछ भन्ने स्पष्ट नभएको बताउँछिन् सुरक्षा विज्ञ अधिकारी । उनका अनुसार राजनीतिक व्यक्तिहरू नै भदौ २३ र २४ गतेको घटनामा संलग्न देखिएका छन् । तर, उनीहरूको कुनै अनुसन्धान गरिएको छैन । तर प्रदर्शन हेर्न मात्रै गएका अवथा अन्य कुनै कारणले प्रदर्शनमा पुगेकालाई अनुसन्धानका लागि भन्दै ८र९ महीनादेखि थुनामा राख्नु अर्को अन्याय हो । उनी भन्छन्, “दोषी करार पनि नगर्ने र उनीहरूलाई अल्झाएर राख्ने पक्षपातपूर्ण हो ।” राज्यले वास्तविक दोषीलाई चोख्याउन जो पायो उसैलाई पक्रेर अनुसन्धानको नाउँमा अल्झाएको बताउँछिन् इन्द्र । उनका अनुसार भदौ २३ र २४ गतेको घटनाबारे विभिन्न आयोगले तयार पारेको पूरा प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन । सरकारमा भएका व्यक्तिले ती प्रतिवेदन तोडमोड गर्ने सम्भावना रहेको उनको आशंका छ । अहिलेको सरकार हदैसम्मको अपारदर्शी र जफादेहिताविहीन भएको उनी बताउँछिन् ।
“योजना बनाएर सुनियोजित रूपमा, आपराधिक मनसाय राखेर घटना गर्नेहरूसम्म अनुसन्धान, छानबिन पुग्नुपर्ने थियो” कानूनविद राजु चापागाईं भन्छन्, “तर जो राजनीतिक वितृष्णाले प्रदर्शनमा गएको थियो, भिडिओमा देखियो तिनलाई चाहिं थुनिनु अन्याय हो ।” आन्दोलन ‘हाईज्याक’ भएको र कसको योजनमा कसरी घटना भएको हो भन्ने कुरालाई मूल समस्या बनाएर छानबिन गरिनुपर्ने कानूनविद् चापागाईं बताउँछन्।
षड्यन्त्र गर्ने, सुनियोजित रूपमा घटना गराउने योजनाकारसम्म पुगेर तिनलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । कानूनविद् चापागाईं भन्छन्, “कार्की आयोग र मानव अधिकार आयोगले छानबिन र कारवाही गर्नु भनेको छ, राज्य त्यतातिर केन्द्रित हुन जरुरी छ ।”
प्रकाशित मिति: शनिबार, असार २७, २०८३ २०:३९