काठमाडौँ। हुम्लाको अदानचुली १ का भदौरे लुवारका छोरा र मुगु जिल्ला शोरु गाउँपालिका ३ भिई निवासी उनका ज्वाईलाई गएको जेठमा ह्वाट्सएपबाट कल आयो ।
अपरिचित व्यक्तिको कल आएपछि ले कल रिसिर्भ गरे । उताबाट हिन्दीमा कुरा गरेको अपििचत व्यक्तिले क्यानडा पठाई दिने भन्दै अनेकन प्रलोभन देखाए । गाउँबाट कामको खोजिमा भिना र साला गरेर काठमाडौंमा भौतारिएका लुहार भिनासालाले आपसमा सल्लाह गरे । सहजै कल्पनाको देश (क्यानडा) जान पाइने भएपछि उसाहित भएका लुहार भिनासाला निकै खुशी भए हरेक पटकको फोनमा हिन्दीमै कुरा गर्ने अनलाइन ठगले एक जनालाई कामदार भिसामा ५ लाखमा क्यानडा पठाउने बतायो । लगत्तै कम्पनीको चिठि, कामको विवरण सहित भिसा अप्लाई गर्ने कागजात (नक्ली) पनि ह्वाट्सएपमै पठायो । राम्रोसँग अग्रेजि नबुझ्ने लुहार भिनासालाले दुई जना गरेर दश लाख मात्र लाग्ने भएपछि उनिहरु कसैललाई नभनेर शुरुमा तिन लाख रकम उसले पठाएको क्यूआरमा पठाए । बाँकी रकम भुक्तानी गरेर क्यानडा जाने र मनग्य पैशा कमाउने लोभले उनिहरुले हुम्ला र मुगुको घरमा पैशाको जोहो गर्न भने ।
दुई पटक गरेर पाँच लाख पैशा पठाएका लाई केहि रकम अपुग भएपछि गाउँमा भएका वुवा भदौरे लुहारलाई खबर गरे । उनले गाउँमा सबैतिर पैशासको लागि हार गुहार गरे । कतै नपाएपछि अन्तमा काठमाडौंमा थप बुभ्mदा आफू ठगिएको थाहा पाए । त्यसपछि उनिहरुले आफूले पठाएको पैशाको भौचर लिएर प्रहरी कार्यालय रत्नपार्कमा उजुरी त दिए तर उक्त ठगेको पैशा अहिले पनि हात परेको छैन् ।
यो घटना त प्रतिनिधिमुलक मात्र हो । अहिले हरेक दिन थुप्रै व्यक्तिहरु यसरी अनलाइनबाट ठगिने गरेका छन् ।
साइबर अपराधको जालो अब किबोर्ड र स्क्रिनभित्र मात्र सीमित रहेन।
दैनिक सयौँ नेपाली डिजिटल लुटको सिकार भइरहेका छन्। कुनै बेलाको ‘ह्याकिङ’ शब्द अब विशिष्ट प्रविधि जान्नेहरूका लागि मात्र होइन, घरमै मोबाइल चलाइरहेकाहरूका लागि पनि गम्भीर खतरा बनेको छ।
‘घर बसी–बसी पैसा कमाउनुहोस्, हामी दिन्छौँ तपाईंलाई अनलाइन जब।’ यस्ता पोस्ट हिजोआज फेसबुक र इन्स्टाग्राममा आइरहन्छन्।
झट्ट हेर्दा विश्वास गर्ने किसिमले आकर्षक भावभंगीमा पोस्ट गरिएका यी विज्ञापनमा ‘क्लिक’ गरेपछि ह्वाट्सएप खुल्छ। ह्वाट्सएपमै सीधै मेसेज आउँछ– प्रायः भारतीय, युरोपेली र अफ्रिकी मुलुकका नम्बरबाट।
त्यस्ता विज्ञापन क्लिक गर्ने व्यक्तिलाई ‘स्वागत’ गर्न ह्वाट्सएपमा कोही प्रयोगकर्ता तयारी अवस्थामा हुन्छ। उसले ‘हेल्लो हाई’, ‘अनलाइन जब गरौँ, दिनमै १० देखि २० हजार घरबाटै कमाऔँ’ भन्दै टेलिग्राम एकाउन्टतर्फ डोर्याउँछ।
बिनाकाम घरमा बसिरहेका व्यक्तिमा यसले कौतूहल जाग्ने नै भयो। ह्वाट्सएपमा भेटिने मानिसले प्रयोगकर्तालाई युट्युब सब्सक्राइब गर्न लगाउँछन्। फेसबुक र इन्स्टाग्रामका फोटामा लाइक गरी स्क्रिनसट पठाए पैसा दिने प्रलोभन देखाउँछन्।
जब टेलिग्राममा पुगिन्छ, तब सुरुमा ‘टास्क’ भन्दै लाइक र सब्सक्राइब गर्न भनिन्छ। केही रकम सित्तैमा दिन्छन् पनि। यसपछि थोरै लगानी गरी राम्रो आम्दानी हुने भन्दै लगानीको ४० प्रतिशत थपेर पठाइदिने आश्वासन दिन्छन्।
पहिलो ‘टास्क’ पूरा गरेपछि सित्तैमा दुई सयदेखि साढे ६ सय रुपैयाँसम्म दिने गरेको पाइएको छ। त्यसपछि भने पैसा लगानी गर्न लगाउँछन्– दुई हजारदेखि २२ सयसम्म। त्यो लगानी गरेका कतिपयले एक हजार रुपैयाँ थपेर पैसा पाएका पनि छन्। अर्कातिर, ४० प्रतिशतसम्म फिर्ता हुने आसमा लाखौँ रुपैयाँ गुमाइरहेका पनि छन्।
पढ्दै गरेका, पढाइ सकेर रोजगारी नपाई घरमै बसेकाहरूको ध्यान झट्ट यस्तै विज्ञापनमा केन्द्रित भइरहेको पाइएको छ। मोरङ पथरीका एक युवा टेलिग्राम प्रयोगकर्तासँग दुई हजार २०० लगानी गरी तीन हजार २०० रुपैयाँसम्म आफूले पाएपछि छाडिदिएको सुनाउँछन्। “यो अनलाइन ठगी हो। लगानी गर्न लगाएर अन्तिममा फिर्ता दिँदैन भन्ने मलाई थाहा थियो,” ती युवा भन्छन्, “त्यसैले दुई हजार २०० सित्तैमा गए पनि जाओस् भनेर हालेँ। जब पैसा फिर्ता भयो अनि मैले छोडिदिएँ।”
यसरी टेलिग्राममा भेटिने व्यक्तिले तपाईंको बैंक खाता वा वालेटको क्यूआर माग्छन्। तिनै क्यूआरमा सुरुका केही ‘टास्क’ पूरा गरेबापत पैसा थपेर पठाइदिन्छन्। त्यसपछि यसरी नै विभिन्न ‘टास्क’ पूरा गर्दा कमाइ भइराख्ने आश्वासन दिँदै ‘टास्क’ को सर्त राखेर रकम लगानी गर्न लगाउँछन्। जति बढी लगानी गर्दै गयो उति धेरै रकम पाइने लोभ देखाउँछन्। बढी लगानी गरेपछि त्यो फिर्ता गर्न कतिपयलाई ‘ट्याक्स लाग्ने’ र कतिलाई ‘खाता मर्मत हुँदै छ’ भन्दै विभिन्न बहानामा थप पैसा जम्मा गर्न लगाउँछन्। ती दुवै शीर्षकमा पैसा हालेपछि त टेलिग्रामको आफ्नो एकाउन्ट नै डिलिट गरी गायब हुन्छन्।
टेलिग्राममै अर्को एउटा समूह सक्रिय देखिएको छ। जसले युट्युब भिडियो पठाउँदै सब्सक्राइब गर्न अनुरोध गर्छ। तीनचार वटा भिडियो सब्सक्राइब गरेपछि उसले ५००–६०० रुपैयाँ सित्तैमा दिन्छ। यो क्रम जारी राखेपछि केही रकम लगानी गर्न अनुरोध गर्छ। अन्तिममा त्यही ‘टास्क’ भन्दाभन्दै ठूलो रकम ठगी गरेर गायब भइदिन्छ।
साइबर ब्युरोका अनुसार हिजोआज साइबर अपराध अत्यधिक बढ्न थालेको छ। ‘अनलाइन जब’ र ‘अनलाइन लोन’ भन्दै सामाजिक सञ्जालमा देखिने विज्ञापनभित्र छिर्दा ह्वाट्सएप हुँदै टेलिग्राममा पुगेको र टेलिग्राम प्रयोगकर्ताबाट ठगिएको उजुरी लिएर ब्युरोमा पुग्ने व्यक्ति बढिरहेका छन्।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक अवस्थी ‘अनलाइन जब’ र ‘अनलाइन लोन’ का सूचनाभित्र पस्दा धेरै व्यक्ति ठगीको सिकार भएको बताउँछन्। उनका अनुसार २०८१ साउनयता १२ महिनामा त्यसरी ठगिएर उजुरी दिनेको संख्या एक हजार ९६७ पुगेको छ। “यो संख्याका मानिसहरूबाट ५२ करोड ९२ लाख १२ हजार ५५ रुपैयाँ ठगी भएको हाम्रो अनुसन्धानमा देखिएको छ,” अवस्थी भन्छन्। उनका अनुसार यस्ता धेरै शीर्षकका अनलाइन ठगी छन्। तीमध्ये ‘अनलाइन जब र अनलाइन लोन’ मुख्य देखिएको छ।
समग्रमा अनलाइन ठगीका उजुरी साउनयता साइबर ब्युरोमा मात्रै सात हजार २८ परेको प्रवक्ता अवस्थीको भनाइ छ। जसमा एक अर्ब ७९ लाख ७४ हजार ४३५ रुपैयाँ ठगी भएको उल्लेख छ। देशभरिका प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी १७ हजार ६९ वटा उजुरी परेका छन्। साइबर ब्युरोमा त्यस्ता उजुरी १४ हजार ३६९ वटा परेका छन्।
‘एक हजारको सामान ५०० मै, अपुताली पर्यो१’
फेसबुक र इन्स्टाग्राममा ठगी गर्ने अर्को समूह छ। उसले ‘अनलाइन सप’ शीर्षक दिएर विज्ञापन पोस्ट गरिरहेको छ। ‘एक हजार पर्ने सामान ५०० मै लैजानुहोस्’ भन्ने विज्ञापन उसले हाल्ने गरेको छ। जसले ‘सामान घरमै डेलिभरी हुने’ बताउने गरेको छ।
त्यहाँ घडी, कम्प्युटर, मोबाइल, लुगा, कपडालगायत सामानको विज्ञापन गरिन्छ। ती विज्ञापनमा छिरेपछि उसले अनलाइनमै भुक्तानी गर्न अनुरोध गर्छ। त्यही कुरामा मक्ख पर्दै पीडितले अनलाइन भुक्तानी गर्छन्। त्यसपछि त्यो विज्ञापन नै हराउँछ, सामान डेलिभरी त परै जाओस् ।
यसरी ठगिने व्यक्ति समीक्षा अवधिमा दुई हजार ६५० जना छन्। उनीहरूको आठ करोड ६५ लाख २२ हजार ७४ रुपैयाँ ठगी भएको उजुरी ब्युरोमा परेको छ। “जब पैसा जान्छ र सामान आउँदैन, मानिसहरू आएर उजुरी दिन्छन्,” साइबर ब्युरोका प्रवक्ता अवस्थी भन्छन्।
‘लट्री पर्यो, गिफ्ट पठाउँदै छु है’
कतिपय व्यक्ति यस्तो मेसेज देखेपछि मक्ख पर्छन्। अन्तिममा ठगिएको थाहा पाएपछि भने उजुरी गर्न प्रहरीमा पुग्छन्। लट्री (चिठ्ठा) र गिफ्ट पर्यो भन्दै सुरुमा पैसा पठाउन लगाउने गरेको पाइएको छ। पैसा पाएपछि गायब हुने अनलाइन ठगी मौलाएको देखिन्छ। यो शीर्षकमा ११ महिनामा ४७५ जना ठगिएका छन्। जसमा १५ करोड ६३ लाख ८१ हजार ६३७ रुपैयाँ ठगी भएको जनाइएको छ।
सामाजिक सञ्जाल ह्याक गरी पैसा ठग्ने गिरोह पनि सक्रिय देखिएको छ। उसले सुरुमा कुराकानी गर्छ। अन्तिममा सामाजिक सञ्जालमा पहुँच पुर्याएर ह्याक गरिदिन्छ। र, अन्तिममा पैसाको ‘बार्गेनिङ’ गर्ने गरेको पाइएको छ। यस्तो ठगीबाट ४८० जना पीडित भएका छन्। उनीहरूले तीन करोड ७० लाख ८१ हजार २२६ रुपैयाँ ठगी भएको निवेदनमा उल्लेख गरेका छन्।
विभिन्न बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै ठगी गर्ने अर्को समूह सक्रिय छ। उसले ओटीपी (वान टाइम पासवर्ड) मागेर ठग्ने गरेका पीडितको भनाइ छ। यस्तोमा साउनयता ३४१ जना ठगिएका छन्। उनीहरूले दुई करोड ८५ लाख १२ हजार २३६ रुपैयाँ ठगी भएको निवेदन दिएका छन्।
अर्को क्रिप्टोकरेन्सी, बाइनान्स, फोरेक्स ट्रेड, अनलाइन इन्भेस्ट भन्दै ठगी गर्ने समूह छ। त्यसबाट १८६ जना पीडित छन्। उनीहरूले एक करोड ८२ लाख ७१९ रुपैयाँ ठगिएको निवेदन ब्युरोमा दिएका छन्।
क्रिप्टोकरेन्सी नेपालमा प्रतिबन्धित छ। भारतसहित तेस्रो देशमा क्रिप्टोकरेन्सी, बाइनान्स, फोरेक्सलगायत साइटलाई केही प्रतिशत कर लगाएर वैधानिकता दिइएको छ।
अनलाइनको दुनियाँ जति सहज छ, त्यति नै जोखिमपूर्ण बन्दै गएको छ। फेसबुकको एउटा पोस्ट, ह्वाट्सएपको एउटा मेसेज वा टेलिग्रामको एउटा ‘टास्क’ यी सबै ठगीको ढोका हुन सक्छन्।
यस्तै, मास्टर कार्डरगेमिङ, क्वाइन, युसी, मनी एक्सचेन्ज गरिदिने बहानामा ठगी गर्ने समूह सक्रिय छ। यस्तो समूहले ४६ लाख ५७ हजार ३६८ रुपैयाँ ठगेको भन्दै २०३ जनाले निवेदन दिएको साइबर ब्युरोका प्रवक्ता अवस्थीको भनाइ छ।
अस्ट्रेलियाका लागि पीटीई तथा इन्टरभ्यु डेट ‘बुक’ को बहानामा ठगी गर्ने समूह सक्रिय रहेको ब्युरोले जनाएको छ। यस्तो ठगीमा परेको भन्दै ६४ जनाले निवेदन दिएका छन्। जसले २८ लाख ५१ हजार २३६ रुपैयाँ गुमाएका छन्।
फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतमा भिडियो सेयर गर्ने र ब्ल्याकमेल गर्नेहरू पनि अनलाइन ठगीअन्तर्गत नै पर्छन्। यस्तोमा ४१ जनाले निवेदन दिँदा २३ लाख दुई हजार ५९३ रुपैयाँ ठगी भएको गुनासो गरेका छन्।
वैदेशिक रोजगारीमा पठाइदिने, कोठा खोजिदिने बहानामा ठग्ने समूह छ। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन करोड ७३ लाख नौ हजार ६५६ रुपैयाँ ठगिएको भन्दै ४८ र कोठा खोजिदिने बहानामा ९३ हजार ४१७ रुपैयाँ ठगिएको भन्दै २६ जनाले निवेदन दिएका छन्।
‘तपाईंलाई अपुताली परेको छ है१’ भन्दै सामाजिक सञ्जालमा मेसेज पठाउने अर्को समूह छ। त्यसले सित्तैमा कसैको सम्पत्ति परेको छ भन्दै लोभ देखाएर पैसा माग्ने गरेको पाइएको छ। पैसा पाएपछि त्यो समूह गायब हुने गरेको छ। त्यसरी एक करोड पाँच लाख ८० हजार ५८ रुपैयाँ ठगीमा परेको भन्दै २० जनाले ब्युरो गुहारेका छन्।
अनलाइनको दुनियाँ जति सहज छ, त्यति नै जोखिमपूर्ण बन्दै गएको छ। फेसबुकको एउटा पोस्ट, ह्वाट्सएपको एउटा मेसेज वा टेलिग्रामको एउटा ‘टास्क’ यी सबै ठगीको ढोका हुन सक्छन्। साइबर अपराधीहरू तपाईंको पासवर्ड होइन, तपाईंको लोभ र लापरवाही खोजिरहेका हुन्छन्। सामान्य गल्तीले लाखौँ गुम्ने र मनोवैज्ञानिक आघात झेल्नुपर्ने अवस्था नआओस् भनेर प्रत्येक प्रयोगकर्ता स्वयं सतर्क बन्नुपर्ने अवस्था आएको छ।
यस्ता अनलाइन ठगीमा शिक्षित वर्ग नै बढी परेको भेटिएको छ। अवस्थीका अनुसार पढे–लेखेर पनि जागिर नपाएर बसिरहेकाहरू सामाजिक सञ्जालमा आएका विज्ञापन हेर्ने गर्छन्। जो अनलाइन जबका विज्ञापनमा छिर्ने र ठगिने गरेको उनी सुनाउँछन्।
यस्ता ठगीबाट बच्ने तरिकाबारे स्वयं सचेत रहनुपर्ने ब्युरोका अधिकृतहरू बताउँछन्। “बैंक खाता चलाउँदा कारोबार गर्ने उचित कारण र जवाफदेही व्यक्तिले नै लिनुपर्ने अवस्था छ। अपरिचित व्यक्तिले बैंक खाताको विवरण माग्ने, क्यूआर कोड पठाउन लगाउने, रकम पठाउने र रकमान्तर गर्न लगाउनेजस्ता प्रवृत्ति अनलाइन ठगीमा देखिएका छन्,” साइबर ब्युरोका प्रवक्ता अवस्थी भन्छन्, “अनलाइन जबको आधिकारिकता के हो ? त्यो कानुनी रूपमा अनुमति प्राप्त होरहोइन ? त्यसबारे केही नबुझी सामाजिक सञ्जालमा देखिएका विज्ञापनभित्र छिर्दा मानिस ठगिइरहेका छन्।”
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ १९:३०