काठमाडौं । रातको सन्नाटा छ। टिचिङ अस्पतालको आपत्कालीन कक्षमा बिरामी निदाइरहेका छन्। तर, अचानक बेडबाट आवाज आउँछ, ‘बाढी आयो ! बचाउ–बचाउ !’
रसुवा जिल्लास्थित भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी थामिएको छ। तर, बाढीमा परेका घाइतेहरूको शारीरिक चोट निको हुँदै जाँदा मानसिक असर भने कायमै छ। उपचाररत घाइतेहरू आपत्कालीन कक्षमा एकाएक चिच्याउँछन्। नर्सहरू दौडदै बिरामीको बेडमा पुग्छन्। घाइतेलाई सुमसुम्याउँदै काउन्सिलिङ गर्छन्। ‘बाढीबाट ज्यान जोगिएर भर्ना भएका घाइतेहरू बेडमा बर्बराउन थालेका छन्,’ त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालकी एक नर्स भन्छिन्, ‘हामीले परिस्थिति सम्हालेका छौं।’
भदौ १० गते अचानक आएको भोटेकोशीको बाढी थामिएको छ। त्यहीँ बाढीमा ज्यान जोगाउन सफल भएका केही घाइतेका मनमस्तिष्कमा बाढीको त्रास अझै सकिएको छैन। उनीहरूको स्मृतिमा तथा सपनामा ठूलो आवाजसँगै बाढी उर्लिरहेकै छ। गोसाइँकुण्ड तीर्थयात्रामा गएका एक भारतीय पर्यटक बाढीमा परेर घाइते भए। हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पतालमा ल्याइयो। उनी पनि बेडमै बर्बराउन थालेका छन्। अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोस्यारा भन्छन्, ‘ती बिरामी पनि बाढ आ गई ! बाढ आ गई ! बचाओ, बचाओ !’ भन्दै बेडमा चिच्याएका थिए।’
बाढीपछि राज्य र गैरराज्य पक्षको प्राथमिकता उद्धार र राहतमा केन्द्रित छ। घाइतेको उद्धार, विस्थापितलाई खाना, पानी, औषधितर्फ छ। उद्धार गरी काठमाडौंका अस्पतालमा ल्याइएका घाइतेहरूको मनोदशाले मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको खाँचो देखाउँछ। बाढी आएको एकसाता बितिसक्दा घाइतेहरू बारम्बार घटना सम्झिरहेका छन्। कोही झस्किरहन्छन्। कोही निद्रामा चिच्याउँछन्। मनोचिकित्सकहरूका अनुसार, बाढीलाई नजिकबाट देखेका वा बाढीमा परेका घाइतेहरूमा तत्कालै विभिन्न लक्षणहरू देखिने गर्छन्। जसलाई चिकित्सकहरू एक्युट स्ट्रेस रियाक्सनका रूपमा लिन्छन्।
बाढी ज्यान गुमाएका वा घाइते भएकाहरू मात्र होइन घरजग्गा गुमाएकाहरूमा पनि एक्युट स्ट्रेस रियाक्सनका लक्षणहरू देखिएका छन्। बाढीबाट प्रभावितहरूले मनोचिकित्सकहरूसँग परामर्श लिन थालिसकेको वरिष्ठ मनोचिकित्सक डा। ईश्वरी खनाल बताउँछन्।
‘ठूलो बाढी, मृत्यु तथा विनाशलाई प्रत्यक्ष देखेका व्यक्तिमा तत्काल केही निद्रा नलाग्ने, मनमा छटपटी हुने लक्षणहरू दुई सातासम्म देखिनुलाई सामान्य रूपमा लिन सकिन्छ,’ डा। खनाल भन्छन्, ‘प्रत्यक्ष देखेका वा भोगेका व्यक्तिहरू बाढी।।।बाढी आयो भन्दै बर्बराउने हुन्छन्। परिवारका सदस्य नै गुमाएकाहरूमा चिच्याउनेलगायतका लक्षणहरू देखिन्छन्।’ नेपाल प्रहरीको तथ्यांकअनुसार, मंगलबार साँझसम्ममा बाढीमा परेर ५ सय ८० विदेशीसहित ४ हजार ५ सय ३० जना घाइतेको उद्धार गरिएको छ।
अस्पतालमै मनोपरामर्श सेवा दिइँदै
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा पनि घाइतेहरू उपचाररत छन्। न्याम्सका उपकुलपति प्रा।डा। विवेक आचार्यका अनुसार, घाइते र उनीहरूका आफन्तहरूलाई मनोपरामर्श र उपचारका लागि विज्ञ चिकित्सकहरूलाई परिचालन गरिएको छ। ट्रमा सेन्टरमा एक सातायता ४९ जना घाइते भर्ना भए। उपचारका क्रममा एक जनाको ज्यान गएको छ। घाइतेहरूको इमरजेन्सी र अन्य वार्डमा उपचार भइरहेको छ। घाइतेहरूको हात, कम्मर, टाउको, पेटलगायत शरीरका विभिन्न अंगमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहायक सूचना अधिकारी रोस्याराका अनुसार, घाइते र घाइतेका आफन्तलाई समेत मनोपरामर्शका र उपचारका लागि चिकित्सकहरू खटाइएको छ। वरिष्ठ मनोचिकित्सक डा। मनिषा चापागाईंको नेतृत्वमा मनोचिकित्सकहरूले उपचार एवं परामर्श दिइरहेका छन्।
मानसिक अस्पताल, लगनखेलका वरिष्ठ मनोचिकित्सक खनाल भोटेकोशी र त्रिशूलीका बाढी प्रभावितहरू परामर्श एवं उपचारका लागि आउन थालेको बताउँछन्। ‘बाढी प्रभावितहरूलाई सुरुमा निराशा र दिक्कपनले सताइरहेको पाइएको छ ,’ डा। खनाल भन्छन्, ‘कसैकसैमा ६ महिना वा वर्ष दिनसम्म पनि विभिन्न लक्षणहरू देखिन सक्छन्। पुरानो घटना बारम्बार सम्झने, निद्रामा झस्कने, घटनाको फ्ल्यासब्याक आइरहने पनि हुन्छ।
यसलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिअर्डर (पीटीएसडी) भनिन्छ।’ जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख नीरध्वज घर्ती मगरले बाढीबाट प्रत्यक्ष रूपमा प्रभावितलाई मनोपरामर्श सेवा दिन मनोपरामर्शदाताहरू परिचालन गर्न लागिएको जानकारी दिए। नेपाल प्रहरीका अनुसार, भोटेकोशी र त्रिशूलीमा आएको बाढीमा परेर मंगलबारसाँझसम्म १ हजार ६८ जनाको शव फेला पारेको छ। बाढीमा परेर ४ हजार ६ सय ६ जना बेपत्ता छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहित मानसिक स्वास्थ्य परामर्शका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए।
कुन अस्पतालमा कति घाइते ?
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार, बाढीबाट प्रभावित २ सय ९२ जना घाइतेको उपचार गरिएको छ। काठमाडौंका १६ वटा संस्थामा घाइतेको उपचार भइरहेकोमा १ सय ८२ जना उपचार पछि डिस्चार्ज भएका छन्। हाल ७४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। उपचार गराइरहेका मध्ये ३ जनाको मृत्यु भएको छ।
घाइतेहरूको स्थानीय तहमा रसुवा अस्पताल गोसाइँकुण्ड धुन्चे, त्रिशूली अस्पताल नुवाकोट, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटमा उपचार भइरहेको छ। रेफरपछि काठमाडौं ल्याइएका घाइतेहरूको १३ वटा अस्पतालहरूमा उपचार भइरहेको छ।
राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध, वीरेन्द्र अस्पताल छाउनी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल एपीएफ अस्पताल बलम्बु, मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भू, नर्भिक इन्टरनेसनल अस्पताल थापाथली। शुभम इन्टरनेसनल अस्पताल मनमैंजु, ग्रिनसिटी अस्पताल टोखा, ह्याम्स अस्पताल धुम्बाराही, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। स्वास्थ्य सचिव डा। देवकोटाका अनुसार, बाढी प्रभावितहरूमा तनाव, चिन्ता, उदासी तथा रुनेजस्ता सामान्य मनोसामाजिक लक्षणहरू प्रमुख रूपमा देखिएको छ।
हालसम्म १ हजार २ सय ३९ जनालाई मनोपरामर्श दिइएको छ। मनोपरामर्शका लागि एक जना मनोचिकित्सक, एक जना साइकोलोजिस्ट सहित ६३ जना मनोपरामर्शदाताहरूलाई बाढी प्रभावित जिल्लामा पठाइएको छ। जिल्लागतरूपमा नुवाकोटका १२ वटा होल्डिङ सेन्टरमा मनोपरामर्शको लागि ४५ जनालाई परिचालन गरिएको छ। त्यस्तै, रसुवाका चारवटा होल्डिङ सेन्टरमा १० जना परामर्शदातालाई पठाइएको छ। हेल्पलाइन कलमार्फत पनि परामर्श दिइएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ ०८:०१