काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्।
ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्। त्यस्तै, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए।
गैरआवासीय नेपालीको संयोजक हुन् नयाँ मिस नेपाल
दोस्रो पुस्ताका गैरआवासीय नेपाली (एनआरएन)हरूको संयोजक रहेकी दीपमाला ढकालले मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि जितेकी छन् । गत चैतमा भएको गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट उनी दोस्रो पुस्ताको संयोजक चयन भएकी थिइन् ।
_7OJJSfwLDw-1785604317.png)
विदेशमा रहेका देस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने उद्देश्यले चैतको एकता महाधिवेशनबाट एनआररएनएले पहिलो पटक दोस्रो पुस्ताको संयोजक (सेकेन्ड जेनेरेसन कोअर्डिनेटर) को विधानमै व्यवस्था गरेको थियो । सोहीबमोजिम उनले इच्छा राख्दै उम्मेदवारी दिएर निर्वाचित भएकी थिइन् ।
एनआरएनएमा ‘दोस्रो पुस्ता’ भन्नाले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा युवालाई बुझिन्छ, जो नेपालसँग भावनात्मक, सांस्कृतिक र साङ्गठनिक रूपमा जोडिन चाहन्छन् ।
एनआरएनएले दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत नेपाली भाषा, कला र संस्कृतिको हस्तान्तरणका लागि डिजिटल कक्षाहरू सञ्चालन गरिँदै आएको छ । साथै, दोस्रो पुस्ताका युवालाई समेट्न विशेष अन्तर्राष्ट्रिय युवा सम्मेलन तथा पिएनओज सम्मेलन आयोजना गर्ने गरिएको छ । त्यसैगरी, एनआरएनए लिग तथा विभिन्न खेलकुद र सामाजिक गतिविधिमार्फत युवालाई नेतृत्व विकास र संगठनसँग आबद्ध गराउने कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् ।
उनै दोस्रो पुस्ताकी एनआरएनए नेत्री मिस नेपालको फाइनलमा २४ जना सुन्दरीहरूबाट छानिएका अन्तिम ६ प्रतिस्पर्धीहरू मध्येबाट पनि विजेता बन्न सफल भएकी हुन् । यो जित केवल एक सुन्दरीको सफलता मात्र नभएर एउटा गौरवशाली पारिवारिक इतिहासको निरन्तरता र गैरआवासीय नेपाली समुदायको एउटा ठुलो उपलब्धिसमेत भएको एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई बताउँछिन् ।
हङकङमा जन्मिएर त्यहीँ हुर्किएकी दीपमालाले नेपाली भाषा र संस्कृतिप्रति देखाएको अनुराग र नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा प्राप्त गरेको सफलताले संसारभर रहेका लाखौँ गैरआवासीय नेपाली युवाहरूका लागि प्रेरणाको नयाँ ढोका खोलेको राईको भनाइ छ ।
दीपमाला यसअघि मिस नेपाल हङकङसमेत भइसकेको राईले जानकारी दिइन् । हङकङमा अत्यन्तै सक्रिय दीपमाला तेक्वान्दोको ‘ब्ल्याक बेल्ट’ खेलाडी र कुशल म्याराथन धावकसमेत हुन् ।

एनआरएनएले विदेशमा जन्मिएका र त्यहीँको नागरिकता लिएका दोस्रो पुस्ताका नेपाली युवाहरूलाई मातृभूमिसँग जोड्न विशेष अभियान चलाइरहेको सन्दर्भमा दीपमालाको विजयले सो अभियानलाई थप उचाइ दिएको राईको बुझाइ छ । राईका अनुसार दीपमालाले यो प्रतिस्पर्धामा सहभागी हुँदा संघको कुनै सहयोग नलिई आफ्नै बर्कत र क्षमताले जित्छु भन्ने दृढता राखेकी थिइन् । उनको स्पष्ट छवि र आत्मविश्वासले निर्णायकहरूको मन जित्न सफल भएको उनको बुझाइ छ ।
उसो त दीपमालाको यो यात्रामा उनकी आमा रोशनी खरेलको विरासतसँग पनि जोडिएको छ । ठ्याक्कै तीन दशकअघि अर्थात् सन् १९९४ मा जब नेपालमा पहिलोपटक मिस नेपाल आयोजना हुँदा दीपमालाकी आमा रोशनी त्यस प्रतियोगिताकी प्रतिस्पर्धी थिइन् । त्यतिबेला समाजको संकुचित सोच र पारिवारिक अवरोधका बीच रोशनीले लुकिछिपी प्रतिस्पर्धामा भाग लिएकी थिइन् । तर, समय र परिस्थितिले उनको शिरमा ताज सजाउन सकेन ।
भनिन्छ, सपना कहिलेकाहीँ पूरा हुँदैनन्, तर ती मर्दैनन् पनि । त्यो अधुरो सपना तीन दशकपछि छोरीमार्फत रोशनीले पूरा गरेकी छन् । शनिबार राजधानीमा भएको फाइनलमा उद्घोषकले ढकालको नाम उच्चारण गर्नेबित्तिकै आमा भावुक देखिएकी थिइन् ।
दीपमालाको कथा केवल ग्ल्यामरसँग मात्र जोडिएको छैन । २३ वर्षीया दीपमालाले अर्थशास्त्रमा स्नातक गरेकी छिन् र उनी विश्वकै अग्रणी अमेरिकी लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’ मा इन्भेस्टमेन्ट एनालिस्ट (लगानी रणनीतिकार) का रूपमा कार्यरत थिइन् । सानै उमेरमा प्राप्त आकर्षक तलब, सुरक्षित करिअर र अन्तर्राष्ट्रिय अवसरबिच उनी मिस नेपालको नयाँ यात्रामा होमिएकी हुन् । हङकङमा उनका बुबा बुबा सुरेन्द्रकुमार ढकाल इन्जिनियर हुन् । दीपमालालाई हङकङकै मञ्चमा उभिने पर्याप्त अवसर हुँदाहुँदै अहिले नयाँ यात्राका लागि नेपाल रोजेकी हुन् ।
दीपमालाको स्वभाव सानैदेखि केही नयाँ गर्ने र प्रश्नहरूको उत्तर दिन सधैँ अगाडि सर्ने खालको रहेको उनका अभिभावकले एक अन्तर्वार्तामा सुनाएका छन् ।
एनआरएनए उपाध्यक्ष राई दीपमालाको यो जितले एनआरएनएको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने पुलको काम गर्ने विश्वास व्यक्त गर्छिन् । ुदीपमाला जस्ता क्षमतावान् युवाहरूले नेपाल आएर यहाँको माटोमा आफ्नो पहिचान खोज्नुले संसारभरका नेपाली युवाहरूमा आफ्नो देशप्रतिको मोह बढाउनेछु,ु शनिबार राति उनले रातोपाटीसँग भनिन्, ुदीपमाला स्वयं पनि एनआरएनएको युवा संयोजकका रूपमा विदेशमा रहेका नेपाली युवाहरूलाई संगठित गर्ने अभियानमा सक्रिय रहेकाले यसमा सहयोग पुग्नेछ ।ु
मिस नेपालको फाइनलमा दीपमालासँगै आर्या निशान्तले मिस नेपाल इन्टरनेसनल र कशिश सुब्बाले मिस नेपाल कस्मोको उपाधि जितेका छन् । यी तीनै विजेताहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिताहरूमा नेपालको झण्डा फहराउनेछन् । तर, दीपमालाको जित भूगोल र सुविधाभन्दा माथि उठेर आफ्नो ‘जरा’ रोजेकाले थप विशेष बनेको छ ।
एनआरएनए नेतृत्वले दीपमालाको यो जितलाई आगामी जनवरीमा हुने ‘सेकेन्ड जेनेरेसन कन्भेन्सन’ सँग जोडेर समेत हेरेको छ । दीपमालाको सफलताले उक्त सम्मेलनलाई थप उत्साह दिने र दोस्रो पुस्ताका नेपाली युवाहरूलाई नेपालको विकास र प्रवर्द्धनमा लाग्न हौसला प्रदान गर्ने एनआरएनएको विश्वास लिइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १६, २०८३ २२:५८