काठमाडौं । नेपाली कांग्रेसका संस्थापन र इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन अलग–अलग गर्ने भएका छन्। दुवै पक्ष सहमतिभन्दा बेग्लाबेग्लै महाधिवेशन प्रक्रियामा होमिएकाले ‘चमत्कार’ नभए कांग्रेसमा १५ औँ महाधिवेशन दुई वटा हुने देखिएको हो।
गत पुसमा विशेष महाधिवेशनमार्फत चुनिएका गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज १६–१९ मा महाधिवेशन गर्न तयारी तीव्र पारेको छ। संस्थापन पक्षले महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म भृकुटीमण्डको प्रदर्शनी हल, बगैँचा, पार्किङस्थल बुकिङ गरिसकेको छ।
वडा, पालिका, प्रदेश–प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने तयारी छ। निर्वाचन समितिले अधिवेशनका लागि बिहीबार सातै प्रदेशमा निर्वाचन संयोजक खटाएको छ।
यता संस्थापन इतर पक्षले असोज १५ मा वडा अधिवेशन सुरु गरेर मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ। केन्द्रदेखि वडासम्म महाधिवेशन तयारी समिति बनाउने गरी इतर पक्ष पनि अगाडि बढिसकेको छ।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दुई वटा महाधिवेशन हुने निश्चित भएको बताए।
‘हामीले पनि असोज १५ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु गर्छौँ। उनीहरूले ३ गतेबाट सुरु गर्दै छन्,’ उनले नेपालखबरसँग भने, ‘दुई वटा महाधिवेशन हुन्छ। सर्वोच्च अदालतले के फैसला गर्छ, कसरी जाने, त्यसपछि थाहा हुन्छ।’
सर्वोच्च अदालतको फैसला नआई सहमतिको सम्भावना नरहेको उनले बताए। गत साउन २१ मा सर्वोच्चले वैशाख ४ को फैसला पुनरावलोकन हुने अनुमति (निस्सा) दिएपछि देउवा पक्ष सहमतिभन्दा अन्तिम फैसलाको पर्खाइमा देखिन्छ।
थापा नेतृत्वको कार्यसमितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको संयुक्त इजलासले सदर गरेको फैसला पुनरावलोकनको प्रक्रियामा प्रवेश गरेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गर्ने निष्कर्षमा पुगेको हो। देउवाले सभापति थापासँग भेट्न चाहेका छैनन्। भदौ १ मा थापाले देउवासँग भेटवार्ताका लागि समय मागेका थिए।
भदौ तेस्रो साता मात्र भेटवार्ताका लागि देउवा सचिवालयबाट थापालाई फोन आएको थियो। देउवाका प्रमुख स्वकीय सचिव भानुले सभापति थापाबाट एक पटक भेटवार्ताका लागि समय मागिएको बताए।
‘उहाँ (गगन थापा)ले अलि अगाडि एक पटक फोन गर्नुभएको थियो। मैले २२ गते समय मिलाउनका लागि फोन गरेको थिएँ, उहाँले राजधानीबाहिर छु भन्नुभयो,’ भानुले भने, ‘काठमाडौँ आएपछि फोन गर्छु भन्ने भएको थियो। अहिलेसम्म फोन आएको छैन। चार पटक समय मागेको भन्ने कुरा सत्य होइन।’
सभापति थापासँग भएको छलफलबारे ब्रिफिङ गर्न सोमबार चुनदेवी पुगेका शेखर कोइरालासँग देउवाले सर्वोच्च अदालतको फैसला पर्खिन उपयुक्त हुने जवाफ फर्काएका थिए। अहिले छुट्टाछुट्टै महाधिवेशन गरेर जानुपर्ने देउवाको जोड थियो। पार्टीको आधिकारिताका सम्बन्धी मुद्दामा पुनरावलोकनको निस्सा आउनुअघि इतर पक्षले राखेका माग सम्बोधनमा संस्थापन पक्ष सकारात्मक देखिएको थियो।
तर, इतर पक्षले १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिमा फर्किनुपर्ने अडान लिएपछि कांग्रेसमा सहमतिको सम्भावना क्षीण बनेको हो।
कहाँ उभिन्छन् शेखर र पूर्णबहादुर
दुई महाधिवेशन हुँदा कांग्रेसमा सहमतिका लागि मध्यस्थकर्ताको भूमिकामा देखिएका शेखर कोइराला र निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्का कुन कित्तामा उभिन्छन् भन्ने चासो कांग्रेस कार्यकर्ताहरूमा छ। संस्थापन पक्षले शेखर र पूर्णबहादुरलाई मात्रै समेट्ने कोसिस गरिरहेको छ। पछिल्लो एक महिनामा अपौचारिक र अनौपचारिक रूपमा सभापति थापाले शेखर र पूर्णबहादुरलाई आफूसँग उभ्याउन भरमग्दुर कोसिस गरिरहेका छन्।
देउवा पक्ष भने शेखर र पूर्णबहादुर आफूहरूसँग रहेको दाबी गरिरहेको छ। देउवा पक्षका नेता मीन विश्वकर्माले राष्ट्रिय भेला र महाधिवेशनको तयारी लगायतका विषयमा पनि उनीहरूसँग कुराकानी भइरहेको बताउँछन्। पछिल्लो भेटवार्ता र आगामी दिशाबारे बुधबार शेखरले आफू पक्षीय नेताहरूसँग आफ्नो सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेका थिए।
शेखरले असोज ३ गतेसम्म सहमतिकै प्रयासमा आफू लाग्ने बताएको निवर्तमान केन्द्रीय सदस्य सञ्जय गौतमले बताए।
‘असोज ३ गतेसम्म सहमतिको प्रयास गर्न सकिन्छ कि भन्नेमा उहाँ हुनुहुन्छ। सहमति भएन भने कता उभिने तीन–चार दिनमा शेखर कोइरालाले निर्णय लिनुहुन्छ,’ उनले भने।
विशेष महाधिवेशनमा सहभागी नभएकाहरू एकै ठाउँमा उभिने सम्भावना ज्यादा रहेको उनको भनाइ छ।
‘दाजुभाइ ९शेखर–शशांक० एक ठाउँमै रहने कुरा क्लियर छ,’ शेखरनिकट गौतमले भने, ‘पहिलो प्रयास सहमतिकै छ। सहमति नहुँदा दुई दाजुभाइ एक ठाउँमा उभिनेमा शंका छैन।’
गौतमका अनुसार देउवाबिनाको एकताको अर्थ नहुने शेखर समूहको निष्कर्ष छ।
‘मुलुकको राजनीतिक परिस्थिति र पार्टीको बृहत् एकताका लागि देउवाबिनाको एकताको अर्थ छैन भन्नेमा उहाँ हुनुहुन्छ। एकताबद्ध कांग्रेस निर्विकल्प लक्ष्य बनाउनुभएको छ,’ उनले भने।
छलफलमा निवर्तमान उपसभापति धनराज गुरुङ, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, नेता बलबहादुर केसी, मिनेन्द्र रिजाल, गौतम लगायतले शेखरको साथ नछाड्ने वचन दिएका छन्।
‘शेखर दाइले केही दिनमा तपाईंहरूसँग छलफल गरेर निर्णय लिन्छु भन्नुभएको छ। उहाँले जे निर्णय लिनुहुन्छ, हामी त्यसलाई मानेर जान्छौँ,’ पाण्डेले भने।
पूर्वमहामन्त्री शशांक कोइराला देउवा समूहको महाधिवेशन तयारी समितिको संयोजक रहेकाले शेखर देउवा पक्षमै उभिने सम्भावना रहेको उनीनिकट नेताहरू बताउँछन्।
‘हामी विशेष महाधिवेशनमा सहभागी भएनौँ। विशेष महाधिवेशनका नाममा १५ औँ महाधिवेशनमा निर्वाचित हामी बिनागल्ती दण्डित भएका छौँ। यही अवस्थामा विशेष पक्षधर साथीहरूसँग उभिन गाह्रो छ,’ ती नेताले भने।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने दुवै पक्षको महाधिवेशनमा सामेल नहुने पक्षमा देखिन्छन्। उनी पक्षीय नेताहरू संस्थापन पक्षको महाधिवेशनमा सामेल हुने बताउँछन्।
निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडाले आफू संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सामेल हुने बताए।
‘जता चुनाव चिन्ह रुख र चार तारा झण्डा हुन्छ, म त्यतै लाग्छु,’ खतिवडाले भने, ‘पूर्ण दाइ युवाहरूलाई अगाडि बढाउनुपर्छ भन्ने पक्षमा हो। अहिलेसम्म कुनै निर्णय भने लिनुभएको छैन।’
पार्टीको सम्पूर्ण एकतामा जोड दिएका खड्का दुई महाधिवेशन हुँदा कतै पनि नउभिने निवर्तमान केन्द्रीय सदस्य श्याम घिमिरेले बताए।
‘सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गगनजीहरूले गर्ने महाधिवेशनमा सहभागी हुनु पनि नैतिक समस्या छ। चोइटिएको पार्टीमा म जाँदिनँ भन्नुभएको छ,’ घिमिरेले भने।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ २२:०५