काठमाडौं । नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव समेत रहेका महासचिव शंकर पोखरेलले तयार पारेको भन्दा भिन्न प्रतिवेदन संयोजक रामबहादुर थापा बादलले लेखेका छन्। वादलले तयार पारेको उक्त प्रतिवेदन ३९ पृष्ठको छ।
यसअघि पोखरेलले लेखेको प्रतिवेदनको मसौदा भने ६५ पृष्ठको थियो।
पोखरेलको मसौदामा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने, विशेष महाधिवेशन गर्नुपर्ने लगायतका सुझाव दिइएको थियो। तर, त्यसप्रति रुष्ट ओलीले कार्यदल संयोजक बादललाई छुट्टै प्रतिवेदन लेख्न लगाएका थिए।
उनकै निर्देशनमा तयार पारेको प्रतिवेदन ओलीले स्वीकारेपछि शुक्रबारका लागि कार्यदलको बैठक बोलाइएको छ।
के थियो पोखरेलको मसौदामा ?
फागुन २१ को आम निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिटमा खुम्चिएर तेस्रो दल बनेपछि पराजयको समीक्षा गर्न जेठ १० गते बसेको केन्द्रीय सचिवालय बैठकले १५ सदस्यीय कार्यदल गठन गरेको थियो। वरिष्ठ उपाध्यक्ष बादलको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवद्वय पद्मा अर्याल र भानुभक्त ढकाल तथा आठ प्रदेशका इन्चार्जहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, महेश बस्नेत, लीलानाथ श्रेष्ठ र दामोदर भण्डारी सदस्य थिए।
कार्यदलले जेठ ३० देखि १३ वटा समूहबाट सुझाव सङ्कलन गरेपछि संयोजक बादलले मसौदा प्रतिवेदन लेख्ने जिम्मेवारी सदस्यसचिव पोखरेललाई दिएका थिए।
महासचिव पोखरेलले ६५ पृष्ठको मसौदा प्रतिवेदन तयार पारी अध्यक्ष ओली र संयोजक बादललाई बुझाएका थिए। प्रतिवेदनमा उनले २०६४ को निर्वाचन पराजयपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएको दृष्टान्त दिँदै अध्यक्ष ओलीले पनि नैतिक जिम्मेवारी लिएर पद त्याग्नुपर्ने र असोज २०८३ भित्र विशेष महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए।
साथै विधानबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पुनः कायम गर्नुपर्ने र वरिष्ठ नेताहरूलाई मार्गदर्शक भूमिकामा मात्र सीमित गर्नुपर्ने पोखरेलको मसौदामा उल्लेख थियो।
चुनावी हारको मुख्य दोष अध्यक्ष ओलीको अति–केन्द्रीकृत कार्यशैली र आन्तरिक असफलता रहेको भन्दै पोखरेलले तल्ला तहबाट आएको सुझाव लेखेका थिए। त्यो मसौदा पढेर अध्यक्ष ओली क्रुद्ध भएका थिए।
११ औँ महाधिवेशनको जनादेशविपरीत आफूलाई बलपूर्वक विस्थापित गर्ने चालबाजी भन्दै उनले संयोजक बादललाई पोखरेलको मसौदा खारेज गरी अर्कै प्रतिवेदन लेख्न निर्देशन दिए। अध्यक्षकै चाहना अनुसार संयोजक बादलले पोखरेलको ६५ पृष्ठको मसौदामाथि कैँची चलाउँदै ३९ पृष्ठको परिमार्जित प्रतिवेदन तयार पारेका हुन्।
बादलले केके हटाए
अध्यक्ष ओलीको चाहना अनुसार संयोजक बादलले पोखरेलका प्रस्तावहरू हटाई पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि नेकपा ९एमाले० को साझा सङ्कल्प शीर्षकमा ३९ पृष्ठको छुट्टै प्रतिवेदन तयार पारेका हुन्।
उनले महासचिव पोखरेलका ओली विस्थापन, राजीनामा र नैतिक जिम्मेवारीका सबै प्रस्तावहरू हटाएका छन्। ११ औँ महाधिवेशनबाट ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई हटाउने प्रयास असान्दर्भिक रहेको भन्दै प्रतिवेदनले नेतृत्व परिवर्तनको बहसको च्याप्टर क्लोज भएको घोषणा गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको अभ्यास देखाउँदै उमेर हद र कार्यकाल सीमा फर्काउने प्रस्ताव तथा असोज २०८३ मा विशेष महाधिवेशन बोलाउने माग रद्द गरिएको छ।
चुनावी हारको दोष ओलीमाथि नथोपरी मातहतका कमिटीको गलत रिपोर्टिङ, भदौ २३–२४ को कलर रिभोल्युसन र भूराजनीतिक षड्यन्त्रलाई कारक मान्नुपर्ने उल्लेख छ।
यसका साथै बादलले प्रतिवेदनमा अध्यक्ष ओली हिरासतमा छँदै चैत २० गते नयाँ प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएको तर अध्यक्षको रिहाइको अपिल नगरेको आरोप महासचिव पोखरेलमाथि लगाएका छन्।
अध्यक्ष ओलीको निर्देशनमा बादलले लेखेको ३९ पृष्ठको प्रतिवेदन र महासचिव पोखरेलले कार्यदलका तर्फबाट तयार पारेको ६५ पृष्ठको मसौदाले एमालेभित्रको आन्तरिक विवाद बढ्ने देखिन्छ। नेताहरूका अनुसार शुक्रबारको बैठकमा पोखरेलले आफ्नै प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ २२:१४