कर्णालीपत्र
सुर्खेत, १८ कात्तिक
सत्तारूढ दल नेकपाका दुई खेमाको भागबण्डामा प्रदेश प्रमुख नियुक्त भएका छन् । सरकारको सिफारिसमा साविकको नेकपा एमालेबाट चार र माओवादी केन्द्रबाट तीनजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रदेश प्रमुखमा नियसक्त गरेकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपति भण्डारीले सबै प्रदेशका रिक्त प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपति भण्डारीले सबै प्रदेशका रिक्त प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को बैठकले निर्णयअनुसार राष्ट्रपति भण्डारीले प्रदेश १ मा कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा बाँकेका तिलक परियार, प्रदेश ३ मा झापाका विष्णु प्रसाईं, गण्डकी प्रदेशमा म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमीक शेरचन प्रदेश ५ मा सिराहका धर्मनाथ यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन् । यस्तै कर्णाली प्रदेशमा बैतडीका गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा काठमाडौंकी शर्मिला त्रिपाठीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नियुक्त भएका प्रदेश प्रमुखमध्ये सोमनाथ अधिकारी ‘प्यासी’, विष्णु प्रसाईं, धर्मनाथ यादव र गोविन्द कलौनी तत्कालिन एमालेको सिफारिसका हुने् । भने तिलक परियार, अमीक शेरचन र शर्मिला त्रिपाठी तत्कालिन माओवादी केन्द्रको कोटाबाट सिफारिस भएको बताइएको छ ।
आइतबार मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम रिक्त रहेका प्रदेश प्रमुख पदमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम सातवटै प्रदेशका प्रमुख नियुक्त गरेकी हुन् । सातै प्रदेशका प्रदेश प्रमुखलाई सोमबार राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम सपथ गराएपछि उनीहरूले औपचारिकरूपमा प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
कलौनीको प्रदेश प्रमसख यात्राः माविको प्रधानाध्यापकदेखि प्रदेश प्रमुखसम्म
कर्णाली प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरिएका गोविन्दप्रसाद कोलौनीको जन्म २०१२ सालमा डडेल्धुरामा भएको हो । तत्कालीन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति शुरु गरेका कलौनीले १५ वर्ष लामो शिक्षण पेसामा बिताए । २०३२ देखि २०४० सालसम्म बैतडी र २०४० देखि २०४७ सालसम्म डडेल्धुराको आलिटारमा रहेको दुर्गा मावि उनी शिक्षण पेसा गर्थे । तत्कालीन अवस्थामा सुदूरपश्चिममा उच्च शिक्षा अध्ययन गर्न भारत जानुपर्ने बाध्यताका कारण उनले इन्टरमिडिएटसम्म भारत र पछि त्रिभुवन विश्वविद्यालयबाट मुल विषय विज्ञान लिई शिक्षाशास्त्रमा स्नातक गरे । शिक्षण पेसामा रहँदा उनी तत्कालीन नेपाल कम्युनिस्ट मालेको राजनीतिमा सक्रिय थिए । शिक्षकको राजनीतिमा उनी नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्यसम्म बने । २०३९ देखि २०४१ सम्म माक्सवादी अध्ययन दल डडेल्धुराको प्रमुख रहेका कलौनी २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ सालमा माध्यमिक तहको स्थायी जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिए । २०४७ सालमा उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) संगठन कमिटी डडेल्धुराको सचिव भए । एमालेमा रहँदा उनले अञ्चल, राष्ट्रिय प्रतिनिधि परिषद्जस्ता विभिन्न कमिटीमा काम गरे । २०५४ सालमा एमाले विभाजन हुँदा उनी बामदेव गौतमले नेतृत्व गरेको नेकपा मालेमा लागे । एमालेमा एकता नहुँदासम्म २०५८ सम्म उनी केन्द्रीय सदस्य र महाकाली अञ्चल इन्चार्ज थिए । प्रदेश प्रमुख नियुक्ति अघि साविकको नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्ष थिए । जसको अध्यक्ष रहेका सोमनाथ प्यासी पनि प्रदेश नम्बर १ को प्रदेश प्रमुख भएका छन् ।
राजनीतिमा सक्रिय रहे पनि राजकीय पदमा भने उनले अवसर पाएनन् । तत्कालीन अवस्थामा सुदूरपश्चिममा कम्युनिस्ट पार्टीको कमजोर प्रभावले पटकपटक टिकट पाए पनि उनी जननिर्वाचित हुन सकेनन् । २०४८ सालको पहिलो आम निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग डडेल्धुराबाट पराजित बने । २०५६ सालमा उनी निर्वाचन लड्न आफ्नो कर्मथलो बैतडी पुगे तर सफलता हात परेन । २०५६ मै उनी सुदूरपश्चिमबाट राष्ट्रियसभाको उम्मेदवार बने पनि पराजित भए । पछिल्लो समय कञ्चनपुर बस्दै आएका कलौनी पहिलो संविधानसभा निर्वाचन २०६४ मा कञ्चनपुरको क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए । देशैभर तत्कालीन माओवादीको प्रभावले त्यो पटक पनि उनको जनप्रतिनिधि बन्ने धोको पूरा हुन पाएन । निरन्तर राजनीतिमा सक्रिय उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । राजनीतिमा लागेर पनि अवसरबाट वञ्चित भएको भन्दै ६४ वर्षीय कलौनीलाई प्रधानमन्त्री ओलीकै जोडबलमा प्रदेश प्रमुखको जिम्मा दिइएको हो । अब उनी राजनीतिज्ञभन्दा राजकीय भएका छन् ।
कर्णालीको कमजोर लविङ
आइतबार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिले नेपाली राजनीतिमा तरंग फैलियो । कारण थियो, कार्यकालको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखको पदमुक्ति । मिर्गाैलाको डायलासिस गरेर आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो राजनीतिक निर्णय गर्लान् भन्ने कसैको पनि अपेक्षा थिएन । अकस्मात गरिएको राजनीतिक निर्णयले प्रदेश प्रमुखका आकांक्षीहरू पनि दौडधुपमा लागे । कर्णालीमा आधा दर्जन बढीले सम्भावित पदमा आफ्नो दावासहित आफ्नो दावा गरे । धेरैलाई अनुमान थियो, नयाँ प्रदेश प्रमुखमा कर्णालीबाट पनि प्रतिनिधित्व हुन्छ । सम्भावितको नाम भन्दै सामाजिक सञ्जाल पनि रंगिन थाले । जब सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णय आयो त्यसले कर्णालीलाई निराश बनायो । आफ्नै प्रदेशवासी प्रदेश प्रमुख त कर्णालीले पाएन । सातमध्ये एकजना पनि कर्णाली प्रदेशबाट प्रतिनिधित्व भएन । यसपटक कर्णालीबाट प्रदेश प्रमुखको नियुक्ति नहुनु राजनीतिक लविङ मुख्य कमजोरी हो । कर्णालीबाट प्रदेश प्रमुखका लागि चर्चामा आएका बालाराम शर्मा, विनोद शाह, मायाप्रसाद शर्मा र रंगनाथ जोशीलगायतका पात्रहरू कुनै पनि हिसाबमा सरकारले सिफारिस गरेका सातै प्रदेश प्रमुखभन्दा कमजोर थिएनन् । उनीहरूको लविङ कमजोरी भयो । कर्णालीबाट राष्ट्रिय राजनीतिमा पकड राख्ने नेपाल कम्युनिस्ट पार्टीका नेताहरू यसपटक नराम्रोसँग चुके ।
प्रदेश नम्बर ३ बाट अमिक शेरचन र शर्मिला त्रिपाठी दुईजनाको प्रतिनिधित्व हुँदा कर्णालीलाई शून्य बनाउने निर्णयमा त्यस क्षेत्रका नेताले असहमति जनाउनु पर्ने थियो । तर यो आलेख तयार पार्दासम्म कुनै त्यस्तो सार्वजनिक असन्तुष्टि आएको छैन । त्यसो त कर्णालीबाट कसलाई प्रदेश प्रमुख बनाउने भन्ने नेताहरू पनि एक थिएनन् । पूर्व एमालेमा बालाराम शर्मा, विनोद शाह र रंगनाथ जोशीको चर्चा चले पनि उनीहरूको पक्षमा दरो दविङ गर्ने नेता भएनन् । एक आध नेताले कुरा चलाए पनि उनीहरूको कुरा सुनुवाइ हुन सकेन । पूर्व माओवादीमा मायाप्रसाद शर्मा एक्लो यात्री जस्तै देखिए । यसअघि नै राजकीय जिम्मेवारीमा जान तम्सेका शर्मालाई गृहमन्त्री रामबहादुर थापाले साथ दिने अनुमान गरिएको थियो तर पूर्व माओवादीलाई परेको कोटामा उनी अटाउन सकेनन् ।