सुर्खेत । कर्णाली प्रदेशकै राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको खार्पुनाथको उपनिर्वाचनमा लामो बिरासत गुमेपछि प्रतिपक्षि नेपाली कांग्रेस पार्टी र त्यसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई ठूलो धक्का लागेको छ ।
आफ्नै मताधिकार भएको गाउँपालिकामा विद्यमान बिरासत कायम गर्न नसकेको भन्दै पार्टीभित्र र बाहिर उनको टिप्पणी गर्न शुरु गरिएको छ । हुम्ला जिल्लाको राजनीतिक इतिहासमा अन्य सबै दल एक ठाउँमा रहँदा पनि हरेक घटनाक्रमले जितेका कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले उपनिर्वाचनमा आफ्नो विरासतलाई गुमाउन दुई ठूला कम्युनिस्ट पार्टीको एकताभन्दा आन्तरिक व्यवस्थापन गर्न नसक्नु नै मुख्य कारणका रुपमा पार्टी कार्यकर्ताले बुझेका छन् ।
नेपाली कांग्रेस स्रोतका अनुसार केन्द्रीय सदस्य शाहीले आफ्नै खार्पेल गाउँमा केही व्यवस्थापन गर्न नसक्दा पछिल्लो परिणाम आएको हो । २०७४ साल वैशाख ३१ गतेको स्थानीय निर्वाचनमा शाहीकै गाउँ समेत भएको खार्पुनाथ–५ को वडा अध्यक्ष पदका आकांक्षी भएर स्वातन्त्रबाट उम्मेरदारी दिएका उनकै विश्वासपात्र प्रकाशबहादुर शाहीले उनको कित्ता छोड्नु नै खार्पुनाथमा कांग्रेसको बिरासत गुम्नुको मुख्य कारण हो ।
जतिसुकै राजनीतिक दल एक भए पनि शाहीको गाउँ खार्पुनाथ–५ र गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता कर्णबहादुर रावलको गाउँ खार्पुनाथ–४ मा एकलौटी भएपछि शाहीको लामो विरासत कायम हुन्थ्यो । जहाँ कांग्रेसइतरका नेता तथा कार्यकर्ता केही भन्न र बोल्नै पाउने अवस्था थिएन । तर शनिबार सम्पन्न उपनिर्वाचनमा त्यो अवस्था रहेन । शाहीकै गाउँबाट कांग्रेसभित्र बिद्रोह गरेर गएका प्रकाशको मत बढ्दै जानु, त्यसमा पुर्व एमाले र माओवादीको साथ हुनुले उनी झिनो बहुमतमा मात्र सिमित हुनुप¥यो । खार्पुनाथ–१, २ र ३ मा तत्कालिन एमाले र माअोवादीको बहुमत भएपछि कांग्रेसको विरासत गिराउन थप बल मिलेको हो ।
कांग्रेसकै एक जिल्ला नेताले भने, ‘टिकट वितरण, योजना दिनेदेखि विभिन्न समयमा आफूलाई विभेद गरिएको भन्दै २०७४ वैशाख ३१ को स्थानीय तहको निर्वाचनदेखि नै पार्टी भित्र बढेको अन्तरघात व्यवस्थापन गर्न नसक्नु पनि हो ।’ यसलाई संविधानसभाका पूर्व सदस्यसमेत रहेको एकीकृत नेकपा माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी ‘सुशील’ आंशिक समर्थन गर्छन् । उनी भन्छन्, ‘खार्पुनाथमा कांग्रेसको लामो विरासत गुम्ने पहिलो कारण केन्द्रीय सदस्य शाही आफै ह्न् ।’ भरपर्दो उत्तराधिकारी जन्माउन नसक्नु, हरेक कुरामा आफ्नै दम्ब प्रस्तुत गर्नु, पहिलो पटक खार्पुनाथका नागरिकले स्वतन्त्र रुपमा मताधिकर प्रयोग गर्न पाउनु र दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकताले पनि काम गरेको उनको तर्क छ ।
यसप्रती पत्रकार राजन रावत सहमत छैनन् । उनी भन्छन्, ‘सबैभन्दा पहिलो कारण नेकपाको जिल्लाभरको शक्ति खार्पुनाथ केन्द्रित हुनु, दोस्रो कांग्रेसको आन्तरिक व्यवस्थापनमा कमजोरी हो भने तेस्रोमा निर्वाचन आचारसंहितालाई कडाईका साथ पालना नगर्नु नैं खार्पुनाथमा कंग्रेसको साख गुमेको हो ।’
यसलाई नेकपा हुम्लाका इन्चार्ज बिजय भण्डारी आंशिक समर्थन गर्छन् । उनका अनुसार लामो समयदेखि मताधिकार प्रयोग गर्न नपाएका खार्पुनाथका मतदाताले यो पटक आफैले मतदान गर्न पाएको परिणाम नै नेकपाको बिजय भएको दावी गर्छन् ।
देशभरको परिणामले २०७० सालको निर्वाचनदेखि नेपाली कांग्रेस ओरालो लागेको थियो । त्यस्तो बेलामा समेत हुम्लामा पार्टीलाई विजयी बनाएर प्रस्तुत भएका नेता शाहीले यस पटकको उपनिर्वाचनमा आफ्नै जन्मस्थानबाट गुमाएको कांग्रेस हुम्लाको बिरासतको असर कर्णाली प्रदेशसभा र पार्टी केन्द्रमा समेत पार्नसक्ने आँकलन जिल्ला र प्रदेशभर गर्न थालिएको छ ।