डा. मान रोकाया
मानिस र प्रकृतिको सम्बन्ध परापूर्वकालदेखि नै रहन आएको हामी सबैलाई अवगत नै छ । हामीहरुले आफू वरिपरि पाउने बोटबिरुवाहरुलाई खाना, उपभोग्य वस्तु, कच्चा पदार्थ र बालीनालीको रुपमा उपयोग गर्दै आएका छौँ । यतिमात्र नभएर बोटबिरुवाहरु हाम्रो निम्ति सजावट गर्ने वस्तु र आफू वरपरको सौन्दर्य बढाउनका लागि पनि उपयोग गर्ने गर्दछौं । त्यसैले मानिसहरुले विभिन्न खालका वनस्पतिहरुलाई प्रयोग गरी बगैंचा वा ठूला उद्यानहरु बनाएको पाइन्छ । सबभन्दा पहिला बगैंचाहरु प्राचीनकालमा इजिप्ट, मेसोपोटामिया, मेक्सिको र चीनमा बनाइएका पाइएता पनि संसारको प्रथम आधुनिक वनस्पति उद्यान भने इटालीको ‘पादोभा वनस्पति उद्यान’ सन् १५४५ मा स्थापना भएको थियो । त्यसपछि वनस्पति उद्यानहरु बनाउने क्रम जारी छन् र आजसम्म संसारमा करिब २५०० वनस्पति उद्यानहरु छन् । संसार भरि पाइने करिब पाँच लाख प्रजातिका वनस्पतिहरु मध्ये एक चौथाई वनस्पतिहरु वनस्पति उद्यानहरुमा रहेका छन् भन्ने विश्वास गरिन्छ ।
वनस्पति उद्यानहरुमा पाइने वनस्पतिहरुको किसिम भने विशेषतः मासिँदै गएर खतराको सूचिमा परेका, दुर्लभ, रैथाने र मानवजातिका लागि बहुपयोगी वा मनमोहक किसिमका हुन्छन् । वनस्पति उद्यानमा जिउँदा बोट–बिरुवाहरु मात्र नभएर सुकेका वा जीवाष्मको रुपमा रहेका बोट–बिरुवा र तिनीहरुका विभिन्न भागहरु पनि भण्डारण गरिएका हुन्छन् । सुकाएर नमूनाका रुपमा बनाइएका विरुवाहरुलाई वैज्ञानिक भाषामा ‘हब्र्यारियम’ भनिन्छ भने ती हब्र्यारियम भण्डारण गर्ने ठाउँलाई ‘हर्बेरिया’ भनिन्छ । यी बोट–बिरुवाहरुका नमूना वा ‘हब्र्यारियम’ हरु उद्यानहरुका सबैभन्दा अमूल्य सम्पत्ति हुन् । संसारमा भइरहेको मौसम परिवर्तनले मासिँदै गएका वनस्पतिहरु संरक्षण गर्न पनि वनस्पति उद्यानहरुको उत्तिकै महत्व छ । त्यसैले यी वनस्पति उद्यानहरु परस्थानीय संरक्षण केन्द्र हुन् । त्यसैले वनस्पति उद्यानहरु बहुउपयोगी हुन्छन् । जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघीय अधिवेशनले १९९९ मा स्थापना गरेको एक कार्यक्रम ‘प्लान्ट कन्जर्भेसनको लागि ग्लोबल स्ट्रेटेजी (जीएसपीसी) को पाँच मुख्य उद्देश्यमध्ये एक उद्देश्यले विश्वभर विलुप्त वा खतरामा रहेका ७५५ बिरुवाको खस्कँदो गतिलाई सुस्त पार्न परस्थानीय संरक्षणको आवश्यकता रहेको औल्याएको छ । यसका लागि वनस्पति उद्यानहरुले महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।
संसारमा धेरै पहिलादेखि बगैंचा र उद्यानहरु बनाउने चलन भित्रिए पनि नेपालमा भने राणाकालीन समयमा भित्रिएका ठूला–ठूला दरबारहरुको बनावटसँगै बगैचा र फूलबारीहरुको महत्व भित्रिए । वनस्पति उद्यानको अवधारणा भने निक्कै पछि मात्र आएको देखिन्छ । यसको थालनी भने औपचारिक रुपमा सन् २८ अक्टोबर १९६२ ‘गोदावरी वनस्पति उद्यान’ स्थापनापछि मात्र भएको हो । तत्कालीन समयमा हालको वनस्पति विभागले हेर्ने गरी राजा महेन्द्रले समुद्घाटन गरेका थिए । ८२ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनस्पति उद्यान ११ प्रकारका उप–उद्यानहरुमा विभाजन गरिएको छ । यो उद्यानमा करिब ८६० भन्दा धेरै प्रजातिका वनस्पतिहरु, ६४ प्रजातिका दुर्लभ सुनगाभाहरु र ८४ प्रजातिका पुतलीहरु पाइन्छन् । यति मात्र नभएर यो उद्यान धेरै प्रजातिका चरा–चुरुंगीहरुका महत्वपूर्ण बासस्थान पनि हो । यसरी धेरै किसिमका वनस्पति र जीवजन्तुका नमुनाहरु एकै ठाउँमा पाइने हुनाले वनस्पति उद्यानहरुलाई ‘जीन ब्यांक’ पनि भन्ने गरिन्छ । यिनै नमूनाहरु प्रयोग गरेर हामीले वनस्पति वर्गीकरण, प्रजनन, बिज उत्पादन, पारिस्थितिकी प्रणाली, बोट वृद्धिको रणनीति वा प्रकारका साथै बोटबिरुवा र जनावर वा किराहरुको अन्तरक्रिया बारेमा वैज्ञानिक हिसाबले अनगिन्ति अध्ययन–अनुसन्धान गर्न सक्छौं । यसका उदाहण हुन् बेलायतका एडिनबरा, क्यू वनस्पति उद्यानहरु र जर्मनीको याना प्रयोगात्मक वनस्पति उद्यान, जहाँ वर्षेनी कयौं विद्यार्थीहरुले आफ्नो पढाइ पूरा गर्न विभिन्न खाले शोधकार्य गर्दछन् । नेपालको गोदावरी वनस्पति उद्यानमा पनि वर्षेनी धेरै नेपाली र विदेशी विद्यार्थीहरुले अध्ययन–अनुसन्धान गर्दै आएका छन् । गोदावरी वनस्पति उद्यानसँगै रहेको राष्ट्रीय हर्बेरियम एकदम अमूल्य छ किन कि यहाँ नेपालमा पाइने करिब ५३०९ फूल फुल्ने प्रजातिहरुका वनस्पतिहरु मध्ये करिब ४५८९ प्रजातिका १४५००० नमूनाहरु, उन्यूका करिब ५५० प्रजातिका १८००० नमुनाहरु, १००१ प्रजातिका लेउ, २४६७ प्रजातिका च्याउ र ७९२ प्रजातिका झ्याउहरु संकलन गरेर राखिएका छन् । यिनीहरुको प्रयोग गरेर वनस्पतिसम्बन्धी धेरै किताबहरु लेखिएका छन् । सबैभन्दा पछिल्ला उदाहण ‘नेपालका लौठ सल्लाहरु, फर्न एण्ड फर्न अलाइज अफ नेपाल, फ्लावरिंग प्लान्ट ः अफ नेपाल’ हुन् । बोट–बिरुवाहरुका यति धेरै नमूनाहरु हँुदा–हुँदै पनि अहिलेसम्म हामी नेपालीहरुले ‘नेपाल फ्लोरा’ वा ‘नेपाली वनस्पतिहरु’को संग्रह निकल्न सकेका छैनौ । यद्यपि नेपाल फ्लोराको प्रकाशनको योजनाको कुरा गरेको वर्षौ भइसक्यो ।
वनस्पति उद्यान र त्यहाँ संकलन गरेर राखेका वनस्पतिहरु आम मानिसहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु र शिक्षण संस्थाहरुले आवश्यक पर्ने शिक्षा, संरक्षण, मनोरञ्जन र प्रदर्शनी जस्ता विभिन्न क्षेत्रहरुको लागि उपयोग गर्न सक्दछन् । यद्यपि यसका लागि सम्बन्धित संस्था र सरकारको अग्रगामी भूमिको खाचो रहन्छ । संस्था र सरकारले आवश्यकता पूरा गर्न स्वेच्छिक स्वयंसेवक र चासो भएका सरकारी तथा गैर–सरकारी संस्थाहरुको पनि सहयोग लिन सकिन्छ । हालसम्म गोदावरी वनस्पति उद्यानमा एकीकृत हिमाली विकासको लागि अन्तर्राष्ट्रिय केन्द्रको एउटा नमूना बगैचा भए पनि आम मानिसहरुको फाइदाको लागि न्यून मात्रामा उपयोग भएको देखिन्छ ।
गोदावरीमा मात्र नभएर वनस्पति विभागअन्तर्गत जैविक विविधता उद्यान रानीवन पोखरामा पनि छ । वनस्पति अनुसन्धान केन्द्रहरु त नेपालभरि सात ठाउँहरु इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, कैलाली र जुम्लामा छन् । काठमाडौँ बाहिरका यी साना र नाममात्र उद्यान र वनस्पति अनुसन्धान केन्द्रहरु समय सापेक्ष रुपमा विकसित र फराकिलो बनाउन जरुरी छ । वर्तमान परिपेक्षमा देशका विभिन्न भू–भागहरुमा छुट्टा–छुट्टै किसिमका उद्यानहरु स्थापना गर्न पनि जरुरी छ । गणतान्त्रिक नेपालमा विकासको नाममा बनाउने स्वागत द्वार र भ्युटावरहरुको सट्टा बहुउपयोगी वनस्पति उद्यानहरु बनाउन उपयुक्त हुन्छ । हालसम्म नेपालमा वनस्पति उद्यान र अनुसन्धान केन्द्रहरुको सीमित उपयोग बाहेक अरु केहि गरेको देखिदैंन । तीतो यथार्थ त कर्मचारीहरुले दिन कटाएर पेन्सन पकाउने थलो भएकाछन् यी उद्यान र अनुसन्धान केन्द्रहरु । यो उदेक लाग्दो कुरो हो । अझ पन्चायत कालमा सञ्चालनमा रहेका खप्तड र साँखुमाथि रहेको मनिचौरमा जडीबुटी खेतीपाती परिक्षण गर्नका लागि स्थापना गरिएका उद्यान र कार्यालयहरु बहुदल आएपछि बन्द नै भए । यो कार्यक्रमलाई पुनः क्रियाशील गराउने पक्षमा न त वन तथा भू–संरक्षण मन्त्रालयले केही पहल ग¥यो न त वनस्पति विभागले नै ।
कतै हाम्रो कर्मचारीतन्त्र शहरमुखी र सुख–सुविधा भोगी भएर यस्तो भएको होइन ? यसरी वनस्पति उद्यानहरु बहुउपयोगी हुँदाहुँदै पनि सरकारले र उद्यान हेर्ने संस्थाले आम मानिसहरुलाई बुझाउन नसक्नु, भएको उद्यानको क्षेत्रफल स्थापना कालदेखि अहिलेसम्म विस्तार हुन नसक्नु र बहुआयामिक रुपमा उपयोग गर्न नसक्नुलाई के भन्नु ? माल पाएर चाल नपाएको वा विगतमा स्थापना भएका जुनसुकै कुरा पनि गलत नै थिए भनेर पूवाग्रही नजरले हेर्नु ? हाल आएर गोदावरीमा रहेको एकमात्र बृहत वनस्पति उद्यान विस्तार गर्नुको सट्टा वनस्पति उद्यान एरियादेखि पश्चिमतर्फको र केशर दरबारको कम्पाउन्ड वालदेखि उत्तरतर्फ पर्ने कित्ता नं. ३२ को कुल २८२ रोपनी ६ आना ३ पैसा जग्गामा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गर्न दिइने बारे २०७६ कात्तिक १७, १८, र २० गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई के भन्ने ? सम्मेलन केन्द्र बनाउनु अत्यन्त खुशीको कुरा हो तर वनस्पति उद्यानलाई फराकिलो बनाउन मिल्ने जग्गा नै किन प्रयोग गर्ने ? कतै वनस्पति उद्यानको महत्व थाहा नभएर त होइन ? वनस्पति उद्यान भन्नाले विभिन्न बोट–बिरुवाहरु उमार्न, संरक्षण गर्न वा प्रदर्शनीमा राख्न प्रयोग गर्ने एक किसिमको ठूलो बगैचा मात्र नभएर अध्यन–अनुसन्धान गर्ने थलोको रुपमा किन विकास नगर्ने ? फराकिलो धरातालमा उभिएर एक पटक सम्मेलन केन्द्र निर्माण गर्न दिइने जग्गामा वनस्पति उद्यानलाई बिस्तार गर्न दिई सम्मेलन केन्द्र अरु ठाउँमा पो बनाउने कि ? नीति–नियम बनाउने ठाउँमा बस्नेहरुलाई वनस्पति उद्यानको सामान्य जानकारी र यसको बृहत महत्व बुझाउने काम सम्बन्धित निकायहरु, गैर–सरकारी संस्थाहरु र जागरुक जनताहरुले बेलैमा गर्न जरुरी छ ।