काठमाडौं। भारतको पश्चिम बंगाल सरकारले नेपाल आउन लागेका १६ वटा ग्यास बुलेट रोकेको छ।
नेपाल(भारत पूर्वी नाका मेची भन्सार ३० चैतदेखि पूर्णरुपमा बन्द गरेको पश्चिम बंगालले बाटोमै ग्यासका बुलेट रोकेको हो।
पश्चिम बंगालकै हल्दिया बन्दरगाह हुँदै मेची भन्सारतर्फ आउँदै गरेका १५ वटा बुलेट माल्दा र एउटा बुलेट पानीट्यांकीमा रोकिएको मेची भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले बताए।
उनले भने, ‘पूर्वसूचनाबिना नै नाका पूर्णरुपमा बन्द गर्दा नेपाल आउँदै गरेका सबै सामान भारतमै रोकिएको छ।’ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले मेची भन्सार बन्द भएपछि ग्यास बोकेर नेपाल आउन लागेका ग्यास बुलेट भारतमा रोकिएको पुष्टि गरे।
पौडेलका अनुसार रोकिएका सबै बुलेटलाई ‘रिरुट’ गरेर विराटनगर हुँदै नेपाल ल्याउने प्रयास भईरहेको छ। तर, पश्चिम बंगालले नाका बन्द गरेको दुईदिनपछि भारतीय भन्सार कार्यालयलाई चिठ्ठी लेखेर नाकामा नेपाल लग्न लागिएका सामान अड्किएका भए अर्को बाटोबाट पठाउन भनेको थियो।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै पश्चिम बंगाल सरकारले नेपाल, भुटान र बंगलादेशसँगका सबै सिमा नाका सिल गरेको छ। पश्चिम बंगालले भारतको केन्द्र सरकारसँग समन्वय नगरी सबै नाका बन्द गरेको हो। यसरी नाका सिल गर्दा अत्यावश्यक वस्तुको सूचीमा पर्ने खाना पकाउने एल।पी ग्यासका बुलेट भारतमै रोकिएका छन्।
त्यसैगरी, भारतको पानीट्यांकीमै कोइला बोकेर नेपाल आउन लागेका ४० ओटा लरी रोकिएका छन्। इण्डोनेशियाबाट हल्दिया हुँदै नेपाल ल्याउन लागिएका सबै कोइलाका लरी पाँच दिनदेखि पानीट्यांकीमा रोकिएका हुन्।
मेची भन्सार बन्द भएपछि फलफूल बोकेर नेपाल आउन लागेका ४ ओटा कन्टेनरलाई भने विराटनगरबाट नेपाल भित्र्याइएको छ।
नाका बन्द भएपछि भन्सार कार्यालयले पछिल्लो अवस्थाबारे अर्थमन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको प्रमुख विश्वकर्माले बताए। नाका सिल भएपनि नेपाल र भारततर्फका भन्सार कार्यालयहरु बन्द गरिएका छैनन्।
साभारः देखा पढी