भुपेन्द्र न्यौपाने
सिञ्जा । कोराना भाइरस सङ्क्रमणले यतिखेर विश्व आक्रान्त छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल पनि एक महिनाअघिदेखि बन्दाबन्दीमा छ ।
कतिबेला कहाँ कोरोना भाइरसका सङ्क्रमित भेटिने हुन् भन्ने त्रास जुम्लामा पनि छ तर जुम्लाको वातवरणले भने बन्दाबन्दी भुलाइदिने गरेको छ । यहाँका बगैँचामा स्याउका फूल ढकमक्क फुलेका छन् । स्याउ फुलेर सेताम्य भएकाले यहाँको वातावरण निकै मनमोहक छ, साथै रोमाञ्चक पनि ।
साउन–भदौमा स्याउ पाकेर राताम्य हुन्छ । जुम्ला स्याउको सुन्दरताले मात्र भरिपूर्ण छैन, स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा पनि परिचित छ । स्याउ पाकेर स्वाद दिन्छ । स्याउ फुलेर मनलाई शान्ति दिन्छ । हिउँदमा हिउँले सेताम्य पाखापखेरा अहिले स्याउ फुलेर सेताम्य छन् । लाग्छ, हिँउदमा हिउँले चिसो गर्छ तर स्याउको फूलले सेताम्य बगैँचाले सुगन्ध फैलाउँछ । चैत–वैशाखमा स्याउ फुल्ने समय हो । साउन–भदौ स्याउ पाक्ने समय । इतिहाससम्बन्धी जानकारका अनुसार जुम्लामा स्याउखेती विसं २०२२ देखि शुरु भएको हो ।
जुम्लामा विसं २०२२ मा यहाँका केही किसानले भारतको कास्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि स्याउखेती शुरु भएको थियो । अहिले जिल्लाभर स्याउखेतीले गाँजेको छ । विसं २०३२ मा तत्कालिन रानी ऐश्वर्या शाहको जुम्ला भ्रमण भएपछि यहाँको कार्तिकस्वामी गाउँ पञ्चायतको गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको थियो ।
हाल यो क्षेत्र चन्दननाथ नगरपालिकाभित्र पर्छ । बागवानी केन्द्रले विसं २०३४ मा स्याउका बिरुवा उत्पादन गर्न थालेको थियो । केही स्थानमा किसानले नमूनाका रूपमा स्याउखेती शुरु गरेका थिए । यहाँ महतगाउँका कृषक स्व पदमबहादुुर महतको भने पुरानै स्याउ बगैँचा थियो ।
भारतको कास्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए । उनी जुम्लामा स्याउ भित्र्याउने पहिलो किसान हुन् । चौधौँ जिल्ला परिषद्ले ‘एक घर, एक बगैँचा’ कार्यक्रम अगाडि सार्यो । बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग उपलब्ध भयो । त्यसपछि स्याउखेतीको घनिभूतरूपमा विकास भयो । विसं २०६४ मा जुम्लालाई ‘अर्गानिक’ जिल्लाका रूपमा घोषणा गरियो ।
त्यसले जुम्ली स्याउको महत्व झनै उँचो बनायो । स्याउको महत्व पनि बढ्यो र मूल्य पनि उत्तिकै बढ्यो । माग अत्यधिक बढ्न थाल्यो । अब अर्गानिक स्याउ पाइने जिल्लाका रुपमा पनि जुम्ला चिनिन थाल्यो । अहिले जुम्लामा १२ जातका स्याउ फल्छन् । यहाँ गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा इटालियन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् ।
जुम्लाको स्याउले काठमाडौं, नेपालगञ्जलगायत देशका ठूला शहरमा पनि निकै बजार लिँदै आएको छ । जिल्ला बाहिर स्याउको बिक्री वितरण त्यति प्रभावकारी त हुनसकेको छैन । तरपनि जुम्लाकै स्याउ औधी मन पराउने धेरै छन् ।
स्व पदमबहादुर कृषिमा उच्च शिक्षा हासिल गरेर सरकारी सेवामा लागेका थिए । भूमिसुधार अधिकृतका रूपमा राष्ट्रसेवा गरेका महतले कृषि क्षेत्रको उत्पादनले नै जुम्लाको भविष्य राम्रो हुने भन्दै सरकारी जागिर छाडेर नाङ्गो डाँडामा स्याउको नमूना फार्म बनाए । सूचीकृत बगैँचामा तत्कालीन राजा वीरेन्द्र शाहदेखि देशको उच्च सरकारी ओहदाका व्यक्तिले भ्रमणसमेत गर्ने गरेका थिए ।
स्याउखेती फस्टाएपछि धेरै किसान जुर्मुराएर आकर्षित हुन थाले । त्यतिबेला सडक सञ्जालसँग जुम्ला नजोडिएकाले जहाजबाट ढुवानी गरेरै स्याउ बिक्री गरिन्थ्यो । दशकअघिदेखि सुर्खेत–जुम्ला कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय राजमार्ग कालोपत्र भएपछि जिल्ला बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउखेतीमा भएको पाइन्छ ।
आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् । परम्परागतरूपमा कास्मिरी स्याउ उत्पादन हुने जुम्लामा यस वर्ष भने इटालियन स्याउ पनि फल्दै छन् । वर्ष दिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन् ।
कनकासुन्दरी गाउँपालिका–५ का धनराज खत्री हरेक वर्ष रु दुई लाखको स्याउ बिक्री गर्दछन् । स्याउबाट भएको आम्दानीले घर खर्च चलाउने गरेको उनी बताउँछन् । यहाँको प्रमुख आम्दानीको स्रोत भनेकै स्याउखेती हो । अहिले अझै स्याउखेतीलाई बढाउनका लागि सिँचाइको राम्रो व्यवस्थापन हुन नसकेकामा किसानको ठूलो गुनासो छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रबन्धक ऋषिराम पाण्डेका अनुसार असिनापानीले स्याउ क्षति भएको कृषि कार्यालयको प्रतिवेदनअनुसार बीमाले क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ । कृषकले स्याउको बीमा गरेको खण्डमा क्षतिपूर्ति उपलब्ध गराउने हो ।
यस वर्ष कर्णालीको पाँच जिल्ला जुम्ला, मुगु, कालिकोट, डोल्पा र हुम्ला गरी एक हजार बिरुवा स्याउको बीमा गरिएको पाण्डेको भनाइ छ । असिनापानीले क्षति भएको प्रतिवेदनअनुसार क्षतिपूर्ति पाउनेछन् । यहाँ अझै कृषकले स्याउको बीमा गरेका छैनन् । न्यून सङ्ख्यमा किसानले मात्र बीमामा पुगेका छन् ।
स्याउ फल्ने हिमाली चार जिल्लाका किसानलाई रु छ लाख बिरुवा प्रदान गरिएको थियो । स्याउ सुपरजोन कार्यक्रमले पनि जुम्लामा तीन लाख ११ हजार ४२२ बिरुवा वितरण गरेको थियो । त्यस्तै कालिकोटमा एक लाख १६ हजार ५००, मनाङमा एक लाख ३१ हजार ६०० र मुस्ताङमा १५ हजार ५०० बिरुवा वितरण गरिएको थियो ।
जसमा ७० प्रतिशत अनुदान दिइएको थियो भने ३० प्रतिशत खर्च व्यहोर्दा किसानले प्रतिबिरुवा रु ४२५ सम्म तिरेका थिए । इटालियनसँगै स्थानीय स्याउका बगैँचा घरघरमा हुने गरेका छन् । स्याउ सुपरजोन कार्यालयका निमित्त प्रमुख जोगेन्द्र गान्दुका अनुसार फुजी स्याउखेतीका लागि पनि सुपरजोनले सिँचाइ र बाहिर जिल्लाबाट बिरुवा ल्याउनका लागि समन्वय गर्दै आएको छ ।
अहिले यहाँका सदरमुकाम खलङ्गासहित ग्रामीण क्षेत्रमा पनि यो स्याउको खेती बढ्दै गएको उनी बताउँछन् । जुम्लामा १६ हजार स्याउ बगैँचा रहेका छन् । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरमा स्याउ बगैँचा स्थापना भएको कृषि कार्यालय जुम्लाले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार अहिले तीन हजार ४५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । आव २०७५र७६ मा जुम्लामा रु ३५ करोडको स्याउ उत्पादन भएको कृषि कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । कार्यालय प्रमुख देवकोटाले हरेक वर्ष स्याउको उत्पादन वृद्धि भइरहेको बताउँदै बिक्री वितरण गर्ने दर पनि वृद्धि भएको बताउँछन् ।
राज्यले स्याउखेतीलाई प्राथमिकता दिएको र यहाँका कृषकले पनि मेहेनत गर्ने भएकाले हरेक वर्ष जुम्लामा स्याउ उत्पादन बढ्दै गएको उनले बताए ।