काठमाडौं । दसैँको समय फलफूल बजार महँगो भएको छ।
अरुबेला एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ। अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन्।
चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ। त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारैपिच्छे फरक पर्ने गरेको देखिन्छ। फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै विक्री हुन्छ।
आइतबार काठमाडौँ उपत्यकामा फलफूल बजारको अवस्था बुझ्दा मूल्यमा एकरुपता पाउन सकिएन। एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँदेखि २ सय रुपैयाँसम्म परेको पाइएको छ।
व्यापारीहरुले भने थोक (होलसेल) व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन्। आफूहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिँदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाइ छ।
नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गर्दै आएका पुजन कुमार शाहले भाउमा एकरुपता नहुनेको कारण होलसेल विक्रेताहरु नै रहेको बताए। होलसेल पसलमा नै एउटै जातको स्याउ प्रतिपेटी १ हजार रुपैयाँदेखि १ हजार २ सय रुपैयाँसम्म पर्ने भएकाले भाउमा फरक परेको उनले बताए। यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले बताए।
कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रतिकेजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँदेखि ३ सय १० रुपैयाँ तोकेको छ।
त्यस्तै केरा प्रतिदर्जन औसतमा ८५ रुपैयाँ र सुन्तला प्रतिकेजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ। भारतीय सुन्तला भने प्रतिकेजी १ सय ५ रुपैयाँ रहेको छ। त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ।