बाँके । पश्चिम नेपालको व्यापारिक केन्द्र भनेर चिनिने बाँकेको नेपालगञ्जमा रहेका व्यापारिले मनपरी गर्ने गरेको पाइएको छ ।
स्थानीय प्रशासनले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । मंगलबार भएको बजार अनुगमनका क्रममा म्याद नाघेका, आखाद्य बस्तुको बिक्री देखि बाख्रा भनेर बाख्रीको मासु बिक्री गरेकोसम्म फेला परेको छ ।
संयुक्त रुपमा गरिएको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायिक फर्मलाई बजार अनुगमन समितिले कारवाही समेत गरेको छ । स्थानीय अगुवा तथा जिल्लाको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेको बेतिथि नियन्त्रण तथा कारवाहीका लागि अनुगमन गर्दै आएको छ ।
संयुक्त बजार अनुगमन समिति तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज मातहत भएको अनुगमनमा पहिलो चौमासिकमा १५ वटा व्यवसायिक प्रतिष्ठानहरु कारवाहीमा परेका छन् । बजार अनुगमनका क्रममा मापदण्ड विपरित कार्य गर्ने व्यवसायिक प्रतिष्ठानहरुलाई वाणिज्य कार्यालयले कारवाही गरेको हो । १५ मध्ये ६ वटा फर्मलाई जरिवाना लगायतको कारवाही र ९ वटा फर्मलाई कारोबार रोक्का एवं शिलबन्दी गरिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले दिएको जानकारी अनुसार, पहिलो चौमासिकमा १५ वटा व्यवसायिक प्रतिष्ठानलाई विभिन्न किसिमको कारवाही गरिएको छ । वाणिज्य कार्यालयले चालु आ।व।को पहिलो चौमासिकमा एउटा प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योग कारवाहीमा परेको जानकारी दिएको छ । पानी उद्योगले मापदण्ड विपरित पानी उत्पादन तथा बिक्री वितरण गरेको फेला परेपछि वाणिज्यले कारवाही गरेको हो ।
तोरीको तेल उत्पादन गरी बिक्री गर्ने अर्को उद्योगले तोकिएको परिणाम अनुसार बोतलमा तोरीको नराखी बिक्री गरेको फेला परेपनि उक्त उद्योग पनि वाणिज्यको कारवाहीमा परेको सूचना अधिकारी चौलागाईले दिएको जानकारीमा उल्लेख छ । खरिद बिल पेश नगर्ने र उपभोक्ता म्याद समाप्त भएका बस्तु बिक्री गर्ने तीन वटा फर्म पनि कारवाहीमा परेका छन् । त्यस्तै, ग्राहकलाई झुक्याएर बाख्रीको मासु बिक्री गर्ने एउटा पसल पनि जरिवानामा परेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले चालु आ।व।को प्रथम चौमासिकमा खाद्य अनुज्ञापत्र नलिई प्याकेजिङ्ग गर्ने ३ वटा फर्मको कारोबार रोक्का तथा शिलबन्दीको कारवाही गरिएको जानकारी दिएका छन् । एक स्थानमा अनुमति लिई अर्कै स्थानमा डेरी सञ्चालन गर्ने २ फर्म, शंकास्पद पानी देखिएको १ फर्म, मापदण्ड विपरितका २ डेरी उद्योग र मापदण्ड विपरित सञ्चालन भएको १ वटा मासु पसललाई कारवाही गरिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले पहिलो चौमासिकमा १ सय २८ वटा फर्म अनुगमन गरिएको जानकारी दिएको छ । जसमध्ये ७४ वटा व्यवसायिक फर्मलाई विभिन्न खालको सुधारात्मक निर्देशन दिइएको वाणिज्यका सूचना अधिकारी चौलागाईले जानकारी दिएका छन् । वाणिज्यले पहिलो चौमासिकमा २ लाख ६८ हजार ४ सय ४४ रुपैयाँ मुल्य बराबरको खान अयोग्य तथा उपभोग्य म्याद समाप्त भएका वस्तु तत्कालै नष्ट गरिएको र फिर्ता गर्न लगाइएको जानकारी दिएको छ ।
यसैबीच, वाणिज्य कार्यालयले चालु आ।व।को पहिलो चौमासिकमा ४६ लाख ७७ हजार ५ सय ५० रुपैयाँ राजश्व असुल गरेको छ । वाणिज्यले दर्ता, नविकरण तथा जरिवाना लगायतबाट उक्त राजश्व असुली गर्ने भएको हो ।