काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) पछि नेपालमा राहत तथा पुनर्बहालीमा सहयोग पु¥याउन दाताहरूले ८ खर्ब ७३ अर्ब २० करोड रूपैयाँको सहायता घोषणा गरेका छन् ।
यसमा अनुदान र ऋण दुवै सहायता समावेश भएको नेपालस्थित दातृ निकायहरूले जनाएका छन् । नेपालमा रहेका एक दर्जन दाताहरूले एकीकृत रूपमा यो सहयोग घोषणा गरेका हुन् ।
यो रकममध्ये ठूलो रकम आर्थिक पुनर्बहालीका लागि लागि खर्च हुनेछ भने एक तिहाइ स्वास्थ्यमा खर्च हुनेछ । यसअघि नै स्वीकृत भइसकेको, स्वीकृति क्रममा रहेको र आगामी परियोजनासमेत समावेश रहेको दातृ निकायहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालका प्रमुख दाताहरू एसियाली विकास बैंक (एडीबी), युरोपेली यूनियन (ईयू), फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान सहयोग नियोग (जाइका), कोरियाली सहयोग नियोग (कोइका), नर्वे, स्वीस सहयोग नियोग (एसडीसी), युके, संयुक्त राष्ट्र संघ, अमेरिकी सहयोग नियोग (युएसएआईडी), विश्व बैंक र नेपाल कार्यक्षेत्र रहेका अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले यो संयुक्त घोषणा गरेका हुन् ।