सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको लागि एक करोड १३ लाख ६८ हजार रुपैयाँ बैंकबाट सम्बन्धित व्यत्तिःको नाममा भुक्तानी गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकको जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिलाहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाएको हो ।
गाउँपालिकाले एकल महिला, क र ख वर्गका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता र दलित बालबालिकाहरुको लागि पोषण भत्ता पनि भुक्तानीका लागि बैंकमा पठाइसकेको गाउँपालिकाका लेखाप्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका भित्र हाल एक हजार चार सय ८२ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरु रहेका छन ।
लेखा प्रमुख आचार्यका अनुसार ४६९ जना जेष्ठ नागरिक, १२५ जना दलित जेष्ठ नागरिक, २१२ जना जेष्ठ नागरिक एकल महिला, २५१ जना विधवा महिला, २२ जना क वर्ग र ६४ जना ख वर्गका अपांगता भएका व्यक्ती र ३४९ जना दलित बालबालिकाहरु रहेका छन । कपुरकोट गाउँपालिकाले गत वर्ष देखि नै बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।
सामाजिक सुरक्षा वापतको रकम हातमा वितरण गर्दा अनियमितता हुने, सम्बन्धित व्यक्तिले नपाउने गुनासो आएपछि सरकारले सबै स्थानीय तहलाई परिपत्र गर्दै रकम बैकबाट भुक्तानी गर्न निर्देशन दिएको थियो ।