काठमाडौं । प्रतिनिधिसभाको विघटनको बिरोधमा नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्दको बिरोधमा देशका विभिन्न स्थानमा ओली समुहले प्रतिकार गर्न सडकमा उत्रिएको छ ।
विभाजित नेपाल कम्युनिष्ट पार्टीको माधव-प्रचण्ड पक्षले आह्वान गरेको बन्दको विरोधमा ओली पक्षका कार्यकर्ताहरूले धनगढीमा प्रर्दशन गरेका छन् ।
बन्द आह्वान गरेर जनतालाई सास्ती दिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघिबाट उनीहरू नाराबाजीसहित धनगढीको मुख्य चोकमा पुगेका थिए । उनीहरूले ‘बन्द गर्न पाइँदैन, जनतालाई दुख दिन पाइँदैन, दलाल मुख्यमन्त्री चाहिँदैन, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
धनगढी मुख्य चोकमा बन्द गराउँदै हिँडेका माधव(प्रचण्ड पक्षका कार्यकर्तासँग ओली पक्षका कार्यकर्ताको भेट भएपछि दोहोरो नाराबाजी भएको थियो । झडपको जोखिम देखेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहीबार बिहान ओली पक्षका विद्यार्थी नेता कुमार बडेला सवार जीपको चाबी माधव(प्रचण्ड समूहले नियन्त्रणमा लिएपछि धनगढीमा दुई समूहबीच विवाद बढेको थियो ।
गण्डकी प्रदेशको पोखरामा पनि नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको नेपाल बन्दको विरोधमा ओली पक्षका युवाहरुले प्रदर्शन गरेका छन् । पोखरा पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल ¥यालीको सुरुआत गर्दै उनीहरुले ‘नेपाल खुल्ला छ’ भन्दै नाराबाजी गरेका थिए ।
आफ्नो अधिकार प्राप्तिका लागि पहिलेजस्तो नेपाल बन्द गरेरै आन्दोलन गर्नुपर्ने अवस्था नरहेको र यसले आफ्नो व्यक्तिगत स्वार्थका लागि गरेको बन्दलाई आफूहरुले विरोध गर्नुपरेको नेकपा ओली पक्षका साजन सुवेदीले बताए ।
‘दश वर्ष पहिले आन्दोलनमा अधिकार खोज्नुपर्ने थियो होला । तर, अहिले स्थिति अर्कै हो । एक दिनको बन्दले गरिखाने वर्गलाई कति असर पुग्छ त्यो पनि हेर्नुपर्छ,’ सुवेदीले भने, ‘यस्तो प्रवृत्ति अब बन्द हुनुपर्छ । यस्ता अराजक शक्तिहरु खण्डन गर्नुपर्छ ।’
पृथ्वीनारायण क्याम्पसबाट सरु भएको मोटरसाइकल ¥याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पुनः क्याम्पसमै पुगेर समापन भएको थियो । पोखरा पृथ्वीचोकमा भने बन्दकर्ता र बन्दको विरोधमा ¥यालीमा निस्केका युवाबीच सामान्य विवाद भएको थियो ।
पृथ्वीचोकमा जम्मा भएर दुवै पक्षले केपी ओली जिन्दावाद र मुर्दावादको नारा एकै समयमा लगाएपछि र्याली भनाभनको स्थितिमा पुगेको थियो । स्थिति थप जटिल हुने देखिएपछि दुवै पक्षलाई प्रहरीले सम्झाउनु परेको थियो ।
प्रधानमन्त्री ओलीले गरेको संसद विघटन र संवैधानिक नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आम हड्ताल गरेको थियो । आम हडताललाई सफल पार्न प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता पोखराका विभिन्न चोकमा निस्किएका थिए ।
बन्दका कारण पोखरामा लामा तथा छोटा दूरीका यातायात चल्न नसकेपछि साना दुईपांग्रे सवारी साधन कुदिरहेकै छन् । प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले चोकचोकमा उभिएर सवारीसाधन आउजाउलाई रोक्ने प्रयास गरिरहेको छन् । यात्रुहरुले भने बन्दको प्रतिवाद गर्दै आएका छन् ।
प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले बिहीबार बिहानै गुडिरहेको एक सवारी साधनमा लठ्ठी प्रहार गरेपछि प्रहरी र बन्दकर्ताबीच केही मुठभेदको स्थिति उत्पन्न भएको थियो । उक्त मुठभेदका क्रममा प्रहरीले प्रचण्ड नेपाल पक्षका कार्यकर्ता विनायक तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ । त्यसबाहेक पोखरामा अहिलेससम्म कुनै तोडफोड र झडपको स्थिति नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।
यसैगरी प्रधानमन्त्री केपीशर्मा ओली पक्षले काठमाडौंमा मार्चपासको तयारी गरिरहेको छ ।
भोली माघ २३ गतेको जनसभाको तयारीस्वरुप केपी शर्मा ओली नेतृत्वको नेकपाका युवा–विद्यार्थीले दिउँसो २ बजेबाट काठमाडौंको प्रदर्शनीमार्गबाट मार्चपास गर्ने भएका छन् । आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीका लागि स्वयमसेवकहरुले मार्चपास गर्न लागेका हुन् । यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय गरेका छन् ।
युवा नेता महाराज गुरुका अनुसार, अपरान्ह २ बजे प्रदर्शनीमार्गबाट शुरु हुने मार्चपास कान्तिपथ हुँदै शहर परिक्रमा गर्ने जनाएको छ । मार्चपासका सहभागीले एकै प्रकारका पोशाक लगाउनेछन् । उपत्यकाका आठ स्थानबाट युवा विद्यार्थीहरु जम्मा भई मार्चपासमा सहभागी हुने बताइएको छ । बुधवारको मोटरसाइकल र्यालीमा जस्तै ठूलो सहभागिता जुटाउने आन्तरिक तयारीमा अोली पक्षका युवा विद्यार्थी नेताहरु लागेका छन् ।