नन्द सिंह
सिमकोट । हुम्ला जिल्लामा चौँरी स्रोत केन्द्र स्थापना शुरु हुन थालेको छ ।
जिल्लाको सिमकोट गाउँपालिका भित्रका केही वडा र नाम्खा गाउँपालिका भित्रका अधिकांस गाउँहरुमा चौरी पालन स्रोत केन्द्र बन्न थालेको छ । चौँरी पालनका लागि जिल्लामा एक वटा स्रोत केन्द्र र ५ वटा संरचना केन्द्र सञ्चालन हुने भएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ को बरगाउँ, दोजाम र लिमाटाङ, नाम्खा गाउँपालिका वडा नम्वर १ को हेप्का, ताङगीन र धिंगा, सोही गाउँपालिका वडा नम्वर ४ को चाला र वडा नम्वर ६ को लिमिमा पनि संरचना केन्द्र स्थापन गरिने भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढथापाले बताए ।
विशेष गरेर नाम्खा गाउँपालिकालाई एक मात्रै स्रोत केन्द्रको रुपमा स्थापना गरिने भएको छ । हिमाली जिल्ला हुम्लाका विभिन्न स्थानमा चौँरी स्रोत केन्द्रका लागि उन्नत जातका घरपालुवा पशुपंक्षिहरु जिल्ला बहिरबाट ल्याएर उनिहरुलाई पाँचवटा संरचना केन्द्रमा राखेर संरक्षण गर्ने भएको प्रमुख थापाको भनाई छ ।
त्यस्तै सिमकोट गाउँपालिका वडा नम्वर ३ का तीनवटा टोल गरेर ८७, नाम्खा गाउँपालिका वडा नम्वर १ का तीन वटै टोल गरेर १ सय ९२, सोही गाउँपालिकाको वडा नम्वर ४ को चालामा ४ सय ५० र वडा नम्वर ६ को लिमामा १ सय १५ वटा चौँरी गरेर जम्मा ८ सय ४४ वटा चौँरीहरुको संरक्षणका लागि विभिन्न संरचना केन्द्रहरु स्थापना गर्न सुरुवाती गरिएको छ ।
जिल्लामा एक मात्र स्रोत केन्द्र र पाँच वटा संरक्षण केन्द्र स्थापनका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले ९५ लाख बजेट विनियोजित गरेको छ । तर उक्त कार्यक्रम सञ्चालनका लागि हाल सो वजेट संसोधन गर्नु पर्ने भएपछि अर्थ मन्त्रालयमा गएर रोकिएको समेत प्रमुख थापाले जानकारी दिए । उक्त कार्यक्रम संसोधन हुदा वित्तिकै स्रोत केन्द्र र संरचना केन्द्रको कार्य भने शुरुवाती हुने प्रमुख थापाको भनाई छ ।