काठमाडौं । अदालतले गरेको संसद पुनःस्थापनासँगै विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले सरकारमा जान खुट्टा उचालिसकेको छ । यो व्यग्रतासँगै उक्त समुहका एक अध्यक्ष प्रचण्ड भने आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
शुक्रबार एउटा टेलिभिजन अन्तरवार्तामा प्रचण्डले नेकपा (आफ्नो समूह), कांग्रेस र जनता समाजवादी पार्टी सम्मिलित पार्टी ‘भारतका लागि सबैभन्दा कम्फर्टेबल हुने’ बताएका थिए । केहीबेरमै अन्तरवार्ताको क्लीप्स सामाजिक सञ्जालमा भाइरल भयो । अहिलेसम्म पनि यसमाथि आलोचनाको क्रम रोकिएको छैन । सामाजिक सञ्जालमा धेरैले ‘प्रचण्डको भारतपरस्त चरित्र उदांगो बनेको’ टिप्पणी गरेका छन् । ओली समर्थकहरुका लागि त प्रचण्डको अभिव्यक्ति ‘वरदान’ नै भएको छ ।
सुरुमा प्रचण्डले अन्तरवार्तामा बोलेका शब्दहरु जस्ताको तस्तै;
मरो भनाइ के छ भने नेपाली कांग्रेस हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एन्ड ब्यालेन्स पनि हुन्छ देशको राजनीति । सन्तुलनमा बस्छ । सबै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ । भारत र चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँग हाम्रो विशिष्ट सम्बन्ध छ ।
हाम्रो इतिहास र भूगोल, संस्कृति, धर्म, परम्परा, अर्थतन्त्र, पानीढलो, खुला बोर्डर।। सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायीत्व र विकास त हुँदैन । त्यसैले म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन । चीनका निम्ति पनि यो कम्फर्टेबलै हुन्छ । अनि यति राम्रो सम्भावना छ, यो सम्भावना जानुपर्यो भनेर भनेको छु फेरि ।
ऋषि धमलाले तीन पार्टी मिलेर सरकार बन्नेमा कति विश्वस्त हुनुहुन्छ रु भनि सोधेको प्रश्नमा प्रचण्डको यस्तो उत्तर आएको थियो । ‘कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन’ भन्ने वाक्यांशले प्रचण्ड विवादमा परेका हुन् । यसमा उनी उम्कन सक्ने ठाउँ पनि छैन । उनको अभिव्यक्तिले ओलीइतर गठवन्धन भारतका लागि अनुकुल हुन्छ भन्ने स्पष्ट अर्थ लाग्छ । घुमाउरोरुपमा चाहिँ प्रचण्डले आफ्नो समूहलाई ‘भारतनिकट’ भनेर स्वीकारेका छन् ।
त्यसो त उनले चीनको नाम पनि लिएका छन् । ‘चीनको लागि पनि कम्फर्टेलै हुन्छ’ भनेर उनले सन्तुलन मिलाउने प्रयास मात्र गरेका हुन् भनेर बुझ्न कठिन छैन ।
तीतो सत्य !
प्रचण्डको अभिव्यक्ति तितो भए पनि सत्य भएको एकथरिको बुझाइ छ । कांग्रेसलाई भारतीय मिडियाहरुले नै ‘भारत पक्षधर पार्टी’ भनेर चित्रित गर्दै आएका छन् । इतिहास कोट्याउने हो भने कांग्रेस भारतकै छत्रछायामा हुर्केको देखिन्छ । यो पार्टीका वीपी कोइरालादेखि सुशील कोइरालासम्मले भारतमा आश्रय लिएका थिए । कांग्रेसको नेतृत्वमा भएको २०४६ सालको आन्दोलनलाई भारतीय नेताहरुकले भौतिकरुपमै साथ दिएका हुन् । त्यसयता पनि विभिन्न घटनाक्रममा कांग्रेसको भारतप्रति झुकाव देखिँदै आएको छ ।
मधेसी नेताहरुको बाहुल्य रहेको जनता समाजवादी पार्टीलाई आलोचकहरुले ‘भारतपरस्त’ पार्टीको संज्ञा दिने गर्छन् । सो पार्टीका शिर्ष नेताहरु भारतीय दूतावास बाक्लै धाउनेमा पर्छन् । केही समयअघि उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायत नेताहरु भारतीय नेता लालु यादवको पटांगनीमा गएर याचना गरेको तस्वीर भाइरल भएको थियो, जसले उनीहरुको राजनीतिक चरित्रलाई उदांगो बनाया । पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईमाथि पनि ‘प्रो इन्डियन’ को ट्याग लाग्दै आएको छ । उनले आफू प्रधानमन्त्री बन्दा भारतसँग विवादस्पद विप्पा सम्झौता गरेका थिए ।
प्रचण्डको कुरा गर्ने हो भने पनि उनको नेतृत्वमा भएको जनयुद्धलाई भारतले साथ दिएको थियो । तत्कालीन माओवादीका मुख्य नेताहरुले लामो समय भारतमा आश्रय लिएर नेपालमा हिंसात्मक आन्दोलन गराएका हुन् । त्यो गुन तिर्नका लागि उनले भारतको हितअनुकुल काम गर्दै आएको आरोप लाग्ने गरेको छ ।
त्यसो त नेपालमा सबै नेताहरु सबै भारतपरस्त नै हुन् भन्ने पनि बलियो भाष्य छ । भारतको आशिर्वादबिना कोही पनि शक्तिमा पुग्न नसक्ने टिप्पणी भाष्यको अन्तर्य हो । केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्नुअघि भारत निकट नै मानिन्थे । महाकाली सन्धी संसदबाट पारित गराउन उनको महत्वपूर्ण भूमिका थियो । नाकाबन्दीकालमा प्रधानमन्त्री बनेपछि भने उनका छवि फेरिएको थियो ।
दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले भारतसँग सम्वन्ध सुधार्ने प्रयास गरेका हुन् । तर, भारतद्वारा कब्जा गरिएका भूभाग समेतटेर नेपालको नयाँ नक्शा सार्वजनिक गरेपछि भारत उनीसँग रुष्ट छ । यद्यपि, संसद विघटनअघि भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयलले बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । भारतकै उक्साहटमा ओलीले संसद विघटन गरेको आरोप विपक्षीहरुले लगाए । अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि भारतीय संस्थापनमा देखिएको खुशीले भने यो आरोप तोडिएको छ । नेपालप्रेस