नन्द सिंह
सिमकोट । फागुन १४ गतेको निर्णयको उलंघन गरेको भन्दै एक जना व्यवसायी र रानीवन व्यारेकलाई आज जरिवाना तोकिएको छ ।
सुर्खेत तथा नेपालगञ्जबाट कुनै पनि मासु जन्य पदर्था ल्याउन नदिने भनेर निर्णय गरेको भए पनि फागुन १८ गते विहान हुम्ला जिल्लाको विमान स्थलमा एक जना व्यवसायी र रानीवन व्यारेकको कुखुराको अण्डा आएपछि सिमकोट गाउँपालिका लगायत सरोकारवाला निकायको रोहवरमा उनिहरुलाई जरिवाना तोकिएको सिमकोट गाउँपालिका स्रोतले जनाएको छ ।
पशुपंक्षि जन्य पदार्थबाट सो रोग फैलने भएकाले हुम्ला जिल्लामा फागुन २० गते सम्मका लागि कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्वर ५ नेपालगञ्जको बाँकेबाट उक्त मासु जन्य पदार्थ ओसारपसार गर्न नमिल्ने भन्दै निर्णय गरे पनि त्यसको ठीक उल्टो कार्य भएको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।
कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको फागुन ९ गतेको चलानी नम्वर ३ सय १ को प्राप्त पत्रअनुसार विरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ मा कुखुरामा उक्त बर्डफुलु रोग देखा परेपछि सो रोग हुम्लामा पनि फैलन सक्ने भन्दै फागुन १४ गते सिमकोट गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको थियो ।
सो निर्णयको ठाडै उलंघन गर्दै आज विहान सुर्खेतबाट हवाई जहाज मार्फत सदरमुकाम सिमकोटका मालिका माहादेव सप्लायर्सको ३० कार्टुन र रानीवन व्यारेकको १० कार्टुन अण्डा भित्राएपछि पुनः सिमकोट गाउँपालिका र सरोकारवाला निकायविच बैठक बसेको अध्यक्ष लामाले बताए ।
उक्त बैठकले मालिका माहादेव सप्लायर्सका प्रोप्राइटर खुम बहादुर रावत र रानीवन व्यारेकलाई प्रति क्यारेड अण्डाको ३० रुपियाँका दरले जरीवाना तोकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमिले बताए ।
निर्णय विपरित हुम्ला पुगेको ४० कार्टुनको जम्मा ८ हजार ४ सय उठेको रकम राजस्वमा जम्मा हुने भएको छ । फागुन १८ गते बसेको बैठकले अण्डा भित्राउनेलाई जरीवाना तोके पनि उनिहरुको समान भने सम्वन्धित साहुधनिहरुलाई नै बुझाएको बुमिले बताए । सुर्खेतबाट आएको ३० कार्टुन अण्डा विमान स्थलको डिउटीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको थियो ।