काठमाडौं । संसद्लाई छलेर राष्ट्रपतिबाट अध्यादेश जारी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकसाथ सात वाटा अध्यादेश जारी भएकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका हुन्। उनले संसद् छलेर अध्यादेशमार्फत् शासन चलाउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।
‘संसद्को बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसद्लाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’, देउवाले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ।’
विश्वासको मतको विपक्षमा मतदान गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्दै प्रस्ताव असफल पार्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने यसअघि नै बताइसकेका छन् । जसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते दिउँसो १ बजे संसद् बोलाएकी छन् ।
त्यस्तै कांग्रेस बैठकले राष्ट्रपति भण्डारीले मंगलबार जारी अध्यादेशअनुरुप हुने संवैधानिक निकायहरुको नियुक्तिको विरोध गर्ने पनि निर्णय गरेको छ । भदौ पहिलो हप्ता तोकिएको पार्टी महाधिवेशनको तयारीलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने निर्णय पनि भएको सहमहामन्त्री महतले जानकारी दिए ।