काठमाडौं । कोरोना संक्रमणको डरले देशभर निषेधाज्ञ जारी भएपछि त्यसको प्रत्याक्ष असर उद्योगधन्दामा परेको छ । बन्द र निषेधाज्ञले कच्चा पर्दाथ आयात गर्न नपाएपछि उद्योगको काम प्रभावित हुने अवस्थामा पुगेको हो ।
आर्थिक वर्ष २०७६/०७७ सम्मको तथ्याङ्क अनुसार नेपालमा ८ हजार २ सय ८७ उद्योग दर्ता छन् । जसमध्ये ठूला उद्योग एक हजार एक सय ७२, मझौला एक हजार ८ सय ५६ र साना उद्योग ५ हजार २ सय ५९ छन् । निषेधाज्ञाका कारण सबैजसो उद्योगको उत्पादन प्रभावित भएको छ । अत्यावश्यक र निर्माणजन्य सामग्री उत्पादन सम्बन्धी उद्योगहरु पनि पूर्णक्षमतामा सञ्चालन हुन सकेका छैनन् ।
नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र ३७ वटा उद्योग छन् । निषेधाज्ञाका कारण तीमध्ये सबैजसो उद्योगले उत्पादन घटाएका छन् । टाढाका कर्मचारी आउन नसकेपछि र कच्चापदार्थ ल्याउन कठिनाइ भएपछि उत्पादन घटेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्राविधिक अधिकृत भोलानाथ भुर्तेल बताए । पोखरा औद्योगिक क्षेत्र भित्रका ७७ वटा उद्योग मध्ये २ वटा अक्सिजन उत्पादन उद्योग छन् । सबै उद्योगमा नजिकैका कामदार, कर्मचारीलाई मात्रै बोलाइएको छ ।
कच्चापदार्थको समस्या त छैन तर टाढाबाट कामदार आएर काम गर्ने अवस्था भने छैन । ५ वटा उद्योग निषेधाज्ञापछि बन्द भएका छन् । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेका १ सय ४० उद्योग मध्ये निषेधाज्ञापछि एक सयभन्दा कम मात्रै सञ्चालनमा छन् । आधाभन्दा धेरै कर्मचारीलाई उद्योग भित्रै खाने बस्ने व्यवस्था मिलाएर उत्पादनको काम जारी राखेको औद्योगिक क्षेत्रका बरिष्ठ अधिकृत एकमाया थापाले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले अघिल्लो वर्ष ५२ जिल्लाका ६ सय ७४ उद्योगमा गरेको सर्वेक्षणमा लकडाउनका कारण ६१ प्रतिशत उद्योगहरु बन्द भएको तथ्य सार्वजनिक भएको थियो । निषेधाज्ञाका कारण अत्यावश्यक र निर्माण सामग्री बाहेक उत्पादन उद्योगहरु मर्कामा पर्ने गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार निषेधाज्ञाको समयमा बिस्कुट, चाउचाउ लगायतका खाद्यान्नको विक्री वितरणसमेत रोकिएको छ । गत वर्ष लकडाउनका कारण उद्योगहरुले २२ दशमलव ५ प्रतिशत कर्मचारी कटौती गरेका थिए भने झण्डै ७४ प्रतिशत उत्पादन घटेको थियो । यस पटक पनि लकडाउनले कर्मचारी र उत्पादन दुबैमा असर पार्ने देखिएको छ ।