काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गरे ।
‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि ल्याईएको हो’, अर्थमन्त्री पौडेलले भने । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसै अनुरुप बजेट केन्द्रित गरिएको मन्त्री पौडेल बताए ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनुभयो । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए ।
मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने जानकारी दिए । अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने धारणा राखे ।
सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको उनको भनाइ छ । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको उनको भनाइ थियो ।