काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट हाल्ने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का २२ सांसदलाई कारबाहीको तयारी थालिएको छ । सोमबारको केन्द्रीय कमिटीको निर्णयानुसार एमाले पार्टी कार्यालयका सचिव शेरबहादु्र तामाङले २२ सांसदलाई स्पष्टीकरण–पत्र काटेका हुन् ।
तर, स्पष्टीकरण सोध्दा संविधान र सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला छल्न गएको वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा अनुपस्थित भएको कारण उल्लेख गरिएको छ ।
“देउवालाई भोट हाल्ने २२ जनालाई स्पष्टीकरण सोध्ने तयारी गर्दै छौँ ।” तामाङले भने, “उहाँहरुलाई आइतबार देउवालाई भोट हालेका विषयमा स्पष्टीकरण सोधिँदै छैन । वैशाख २७ गते हाम्रा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले विश्वासको मत लिँदा किन अनुपस्थित भनेर स्पष्टीकरण सोधिनेछ ।”
‘सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलामा संविधानको धारा ७६ (५)मा सांसदहरुलाई ह्वीप लाग्दैन भनिए पछि एमालेले वैशाख २७ लाई प्रमुख विषय बनाएर स्पष्टीकरण सोध्न लागेको हो ।
वैशाख २७ मा केपी शर्मा ओलीले विश्वासको मत माग्दा संसद्मा अनुपस्थित भएका एमालेका २८ मध्ये ११ जनालाई स्पष्टीकरण सोधिइसकेको छ । त्यसरी स्पष्टीकरण सोधिएका मध्ये माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही समेत गरिएको थियो ।
यी चारैजनालाई पार्टीमा दोस्रोपटक कारबाही गरिएको हो । यसअघि, प्रतिनिधिसभा पुनःस्थापना भएपछि नेकपा ९माओवादी केन्द्र०बाट प्रवेश गरेका र आफूपक्षीय नेताहरुलाई मात्र समेटेर ओलीले फागुन २८ गते केन्द्रीय कमिटी बैठक गरेपछि खनाल–नेपाल पक्षले समानान्तर गतिविधि सुरु गरेको थियो । चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको खनाल–नेपाल समूहले त्यसपछि देशभर समानान्तर गतिविधि थालेको थियो ।
समानान्तर गतिविधि थालेको भनेर गएको चैत ९ गते पनि स्पष्टीकरण सोधेर चार नेता नेपाल, रावल, पाण्डे र भुसाललाई पार्टी सदस्यबाट निलम्बनको कारबाही गरिएको थियो । दुईपटक निलम्बन गरिसकेका उनै नेताहरुसहित २२ जनालाई पुनः स्पष्टीकरण सोध्न लागिएको हो ।
त्यसमध्ये प्रेम आले, किसान श्रेष्ठसहितका आठजनाले वैशाख २७ मा प्रधानमन्त्रीको हैसियतमा विश्वासको मत माग्दा ओलीकै पक्षमा मतदान गरेका थिए । उनीहरुका विषयमा के भनेर स्पष्टीकरण सोध्ने भन्ने विषयमा भने सचिवालय अझै स्पष्ट हुनसकेको छैन । एमालेका एक केन्द्रीय सदस्य त्यही अन्योलका कारण स्पष्टीकरणपत्र काटेर बुझाउन ढिला भएको बताउँछन् ।
“पार्टीमा नबस्ने भइसकेपछि कारबाही गर्नु अनिवार्य नै छ, पार्टीमा आइदिएको भए अझै पनि सँगै जान सक्ने अवस्था थियो । तर, उहाँहरु आउनु हुन्न,” ती केन्द्रीय सदस्यले भने, “त्यसैले कारबाही कुन शीर्षकमा गर्ने भन्ने विषयमा अझै अन्योल छ ।” ती केन्द्रीय सदस्यका अनुसार माधव नेपालसहितका २२ जनालाई कारबाही गरेरै छोड्ने ओलीको तयारी छ ।
देउवालाई मत दिने २२ सांसदलाई कारबाहीको तयारी भए पनि अरु ११ जना एमाले सांसदले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गर्दै मतदान बहिस्कार गरेका थिए । उनीहरु माधव नेपाल समुहकै भए पनि उनीहरुलाई भने कारबाहीको तयारी गरिएको छैन ।