काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले पदबाट राजीनामा दिएका छन्। सांसद् सिंहले आज प्रधानमन्त्री शेरबहादुर देउवासामू पदबाट राजीनामा दिएका हुन्।
मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा आफ्नो भूमिका उपयोगी हुने भएकोले बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको उनले बताएका छन्।
उनले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिप्रति पनि असन्तुष्टी व्यक्त गरेका छन्। यस्तो प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको उनको भनाइ छ।
उनले भने, ‘खासगरी प्रदेश नम्बर २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ। विगत दुई दशकदेखि प्रदेशमा कांग्रेसको एकछत्र नेताका रूपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र कांग्रेसको प्रभाव तथा हैसियत ह्रासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन।’
निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा नेतालाई समेट्न नखोज्ने, विपरीत छविका र पार्टीसँग अपरिचित व्यक्तिहरूलाई मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने कपटी प्रयास भइरहेको भन्दै उनले देउवाको ध्यानाकर्षण गराएका छन्।
‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भई नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार ब्यवहार प्रस्तुत हुँदा आम निष्ठावान कार्यकर्तामा निराशा बढेको छ र प्रदेशमा कांग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पनि पैदा गराएको छ। यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको छ,’ उनले भने।
पार्टीका निष्ठावान कार्यकर्ताहरूको संरक्षण गर्नु आफ्नो प्राथमिक दायित्व भएको बताउँदै सिंहले कार्यकर्ताहरूको संरक्षण र उनीहरुको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको वृहत्तर दायित्व पूरा हुनेमा आशङ्का उत्पन्न हुनु स्वाभाविक भएको र यो पाटोलाई आफूले गम्भीर ढङ्गले आत्मसात गरेको बताएका छन्।
काग्रेंस पार्टी ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको भन्दै सिंहले यसअघि सांसद पदबाट राजीनामा दिन लागेको बताएका थिए ।