सुर्खेत । कोरोना संक्रमणको दर बढ्दै गएको बेला संक्रमित बिरामीलाई अक्सीनको चरम अभाव भएपछि सरकारले कर्णालीका तीन अस्पताललाई अक्सिजन प्लान्ट र एचडीयू खरिद तथा जडानका लागि २० करोड ६५ लाख विनियोजन गरेको बजेटको बचन पुगेपनि अँझै बजेट पुगेको छैन् ।
संघीय सरकारले कर्णालीका तीन अस्पताललाई अक्सिजन प्लान्ट र एचडीयू खरिद तथा जडानका लागि २० करोड ६५ लाख बजेट विनियोजन गरेपनि प्रदेश सरकारमार्फत आउनुपर्ने बजेट अस्पतालसम्म नपुगेको हो ।
संघीय सरकार मातहतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्र बजेट प्राप्त गरी गत आर्थिक वर्षमै प्रक्रिया अघि बढाएको छ । अर्थले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिमका लागि उक्त प्रक्रिया अगाडि बढाउन बजेटसहित गत जेठमा सहमति दिएको थियो । प्रदेश अस्पतालका लागि मन्त्रालयले अक्सिजन प्लान्ट खरिद र एचडीयू जडान खरिद गर्न ६ करोड २५ लाख ४० हजार तथा भेन्टिलेटर अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण गर्न १२ करोड ८० लाख विनियोजन गरेको छ । त्यसमध्ये १ करोड २० लाख बजेटमा आईसीयू बेड खरिदका लागि टेन्डर आह्वानको प्रक्रिया टुंगिन लागेको अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए । ‘संघबाट पठाएको सबै बजेट आइपुगेको छैन,’ उनले भने, ‘आईसीयूको काम मात्रै अघि बढ्दै छ, एचडीयू र दुईवटा अक्सिजन प्लान्ट त पहिल्यै खरिद गरी जडान गरिसकेका छौं ।’
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि २ करोड ८० लाख र एचडीयू जडानका लागि अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ पठाएको छ । अस्पतालका लेखा प्रमुख मकेन्द्र शाहीका अनुसार प्रतिष्ठानले २ करोड ५५ लाख रुपैयाँमा टेन्डर गरी एचडीयू जडान गर्दै छ । २ करोड ४८ लाखमा अक्सिजन प्लान्ट जडानका लागि टेन्डर गरिएको उनको भनाइ छ ।
चौरजहारी अस्पताललाई प्लान्ट खरिद र जडानका लागि अर्थले ७५ लाख बजेटको सहमति दिए पनि उक्त बजेट आइपुगेको छैन । चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार संघले आईसीयू र भेन्टिलेटरका लागि ३ करोडको स्रोत सुनिश्चित गरे पनि बजेट आएको छैन । अस्पतालले प्रदेश सरकारको १ करोड र नगरपालिकाको १२ लाख ५० हजार बजेटले अक्सिजन प्लान्ट खरिद गरी जडान गरिरहेको छ । एक साताभित्र अक्सिजन प्लान्ट सञ्चालनमा आउने केसीले बताए ।
संघीय सरकारले कर्णालीका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण गर्न गत २ जेठमा २ अर्ब ९५ करोड २० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको थियो । मन्त्रालयले अक्सिजन प्लान्ट र एचडीयू खरिद तथा जडानका लागि १७ करोड ८७ लाख ७० हजार बजेटसहित प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरेको थियो ।