काठमाडौँ : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि पुनः आवेदन माग गरिएको छ ।
अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै बोर्डको अध्यक्ष पदमा पुनःआवेदन माग गरेको हो ।
यसअघि अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएकोमा त्यो आवेदन स्वतस् रद्द गर्दै नयाँ आवेदन खुलाएको हो । तीन महिनादेखि अध्यक्षविहीन बन्दै आएको बोर्डमा अर्थ मन्त्रालय र सिफारिस समिति बीचको समन्वय नमिल्दा दोस्रो पटक आवेदन दिनुपर्ने भएको हो ।
अध्यक्ष पदमा आवेदन दिन धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम योग्यता पुगेको हुनुपर्छ । यसका लागि नेपाली नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने र धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेको हुनुपर्नेछ भने धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।
अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन भनेको छ । योग्य आवेदकले अर्थ मन्त्रालयको वित्तीयक्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिनुपर्नेछ ।
इच्छुक उम्मेदवारले अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित अध्यक्षको छनोट तथा सिफारिससम्बन्धी कार्यविधिको दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ अनुसारको स्वयम् घोषणाको व्यहोरा निवेदन स्वयम्ले प्रमाणित गरी पेस गर्नुपर्नेछ ।