काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले गएरातिदेखि लागू हुने गरि साबिकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोल लिटरको १४२ रुपैयाँ, डिजल/मट्टितेल १ सय २५ रुपैयाँ तिर्नुपर्नेछ । यो अहिलेसम्म कै महङ्गो हो ।
यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोल लिटरको १ सय ४० रुपैयाँसम्म पुगेको थियो । यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएर लिटरको ११६ रुपैयाँ तोकिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले बढेर प्रतिकिलोलिटर बिक्री मूल्य १ हजार ९५ डलर कायम भएको छ । एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन ।
मूल्य बढाएपनि मासिक साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब दुई अर्ब २३ करोड घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले बताए । उनका अनुसार मूल्य बढेपनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा एक अर्ब एक करोड र एलपी ग्यासमा करिब एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ । निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ ।
पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) तीन करोड र हवाई इन्धन (बाह्यतर्फ) १६ करोड नाफा हुने निगमको आँकलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।
मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता कार्कीको भनाइ छ । निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपछि पनि प्रतिमहिना पाँच अर्ब ऋण लिनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।