सिमकोट । हिमालपारीको गाउँका रुपमा चिनिने नाम्खा गाउँपालिको वाड नम्वर ६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट शाखा कार्यालयले ढुवानी अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो ।
खाद्यन्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नु परेको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेट शाखाका नविन प्रसाद आचार्यले जानकारी दिए ।
हिउँदको समयमा नाम्खा गाउँपालिका आवत जावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरेको बताउनु भएका आचार्यले लिमिका तीन गाउँका लागि ५७ क्वीन्टल खाद्यान्न टिप्पर मार्फत पठाएको बताए । “कोभिड १९ का कारण उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएका सिमा नाकाहरु बन्द भएपछि नाम्खा गाउँपालिकामा लिमि यारी लगायतका क्षेत्रमा शाखा कार्यालयबाट खाद्यान्न पठाउने कार्य अहिले भैरहेको छ” आचार्यले नेपालवोटसँग भने लिमि जाने सडक मार्गपनि खुलेको र जिल्लामा चामलको मौज्जातपनि अहिले भएकाले हामीले लिमिको लागि विनियोजन गरेको कोटाको चामल ढुवानी शुरु गरेका हौं ।”
स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने बित्तिकै नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले गरेको माग अनुसार जिल्ला खाद्य व्यवस्थापन समितिको गएको असार ९ गतेको निर्णयले ६ वटै वडाका लागि चारसय क्वीन्टल खाद्यान्न पठाउने निर्णय अनुसार अहिलेको ढुवानी शुरु भएको हो । समितिको निर्णयमा पुनः दई सय क्वीन्टल थप गरेपछि तत्कालका लागि लिमीका तिल, हल्जी र जाङ्ग गरेर तीन गाउँका लागि अहिले चामल ढुवानीको काम शुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला खाद्य व्यवस्थापन समितिले असार १४ गतेको निर्णय अनुसार हुम्ला जिल्लाका लागि यो आर्थिक वर्ष सात हजार क्वीन्टल मध्ये पाँच हजार क्विण्टल खाद्यान्न थप भएको छ । आर्थिक वर्ष २०७८।०७९ को खाद्यन्न कोटा मध्ये सुर्खेतबाट सिमकोटका लागि ढुवानी हुनुपर्ने ६ हजार क्विण्टल सीता एयर र ३ हजार क्विण्टल समिट एयरले ढुवानी गर्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट शाखा कार्यालय हुम्लाले जनाएको छ ।
यसैगरी नेपालगञ्जबाट सिमकोटका लागि ढुवानीको जिम्मा लिएको सिता एयरले ४ हजार क्विण्टल र समिट एयरलाई एक हजार क्विण्टल ढुवानी जिम्मा दिएको थियो । अहिलेसम्म वार्षिक कोटामध्यै दुवै एयरलायन्सले गरेर पाँच हजार पाँच सय ३६ क्विन्टल चामल ढुवानी भएको स्रोतले जनाएको छ ।