सिमकोट । साउने पूर्णीमा (जनैपूर्णिमा)को पूर्वसन्ध्यामा नजिक जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सिमकोटका पसलहरुको संयुक्त अनुमगन गरेको छ ।
बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौड्यालको नेतृत्वमा सिमकोटका बजारहरुको अनुमगनमा म्याद सकिएका २८ हजार २ सय दश रुपैयाँ मूल्य बराबरका सामाग्री जफत गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
आज बुधबार बिहान ११ बजेदेखि शुरु भएको अनुमगनमा जानकी स्टोरबाट १२ हजार, प्रजोल जनरल स्टोरबाट २ सय, जैसी जनरल स्टोरबाट ६ हजार ५ सय,मालिका महादेव सप्लार्यसबाट १ हजार ५ सय ५०, एस के जनरल स्टोरबाट १ हजार ८ सय, लुइस हेन्स होमबाट १ हजार ५० मुल्य बराबरको ँम्याद गुज्रेको सामान जफत गरिएको हो । यसैगरी विश्व जनरल स्टोबाट झण्डै ३ हजार, मालिका सपिंग सेन्टरबाट १३ हजार ७ सय ५० मुल्य बराबरको सामान जफत गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौड्यालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको संयुत्तः बजार अनुगमनका क्रममा सिमकोटमा कानून अनुसार दर्ता नभएका पसलहरुलाई दर्ता गर्न पाँच दिनको समय सिमा तोकिएको छ । दर्ता भएर पनि अन्तरशुल्कमा एक थरी विक्रिया वितरण गर्ने अनुमती लिएका र पसलमा अर्कै थरी सामान विक्रि वितरण गरेका होटेल पसलहरुलाई पनि कानून संगत काम गर्न चेतावनी दिइएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रदेश लेखा कार्यालय, उद्योग बाणीज्य संघ, पशु कार्यालय लगायतको सहभागितामा गरिएको अनुगमनका क्रममा एक दर्जन भन्दा बढि पसलहरुलाई स्थलगत रुपमै जरिवाना तोकिएको छ ।
बजारमा म्याद नाघेका सामान विक्रि वितरण हुँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै नेपाल सरकारको निर्णय अनुसार आज देशै भर भएको बजार अनुगमनकै सिलसिलामा सिमकोट बजारको संयुक्त अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।