सिमकोट । विकास खर्च बढाउन स्थलगत छलफल गर्न कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह हुम्ला पुगेकी छन् ।
मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै प्रदेशको विकास खर्चलाई बढाउने अभियान थालेकी मन्त्री शाह हुम्लाका सरकारी कार्यालयका अधिकारीहरुसँग छलफल गर्न हुम्ला पुगेकी हुन् ।
मन्त्रालयका सचिव र बजेट कार्यान्वयन शाखाका प्रमुखसहित हुम्ला सदमुकाम सिमकोट पुगेकी मन्त्री शाहले हुम्लाका सरकारी कार्यालयका प्रमूखहरुसँग सामुहिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर बजेटको खर्च बढाउने उपायको खोजि गरेको आर्थिक मामिला तथा योजना मन्त्रीका प्रमुख सचिव दिपेन्द्र शर्माले जानकारी दिए ।
जिल्लामा सञ्चालित प्रदेश सरकार मातहतका योजनाको अनुगमनसमेत गर्ने कार्य तालिका लिएर आएकी मन्त्री शाहले कार्यालय प्रमुखहरुको बैठकमा आर्थिक वर्षको शुरुवात देखि विनियोजित कार्यक्रमको कार्यान्वयनमा लाग्न निर्देशन दिइन् ।
चालु आर्थिक वर्षको शुरुवातीमै भएकाले बजट कार्यान्वयनका लागि प्रदेश सरकारकातर्फबाट कस्तो प्रकारको सहजिकरण आवश्यक पर्छ त्यसको पहल गर्न आफू तयार रहेको प्रतिक्रिया दिएकी मन्त्री शाहले भनिन् यो वर्ष विकासे बजेटको कार्यान्वयनलाई कति सकिन्छ बढाउने काममा तपाईहरु (विषयगत कार्यालयका प्रमुख) लाग्नुहोस् ।
जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा दरबन्दी अनुसार स्थायी कर्मचारी नहुनु, करारमा कर्मचारी राख्नका लागि सरकारले बजेट नपठाएका कारण पनि आफूलाई समस्या भएको प्रतिक्रिया जिल्लाका विषयगत कार्यालयले दिएका छन् । मन्त्रालयले आर्थिक वर्षको अन्तमा बजेट रकमान्तर गर्ने, प्रदेशबाटै उपभोत्तःा समितिको नामै किटेर बजेट पठाउने जस्ता काम रोक्न जिल्लाका विषयगत कार्यालयका प्रमुखले मन्त्रीलाई आग्रह गरे ।
विभिन्न राजनीतिक भेटघाट, माओवादी केन्द्रको कर्मचारी संगठनको जिल्ला अधिवेशनको उद्घाटन र अनुगमनका लागि हुम्ला पुगेकी मन्त्री शाह तीन दिनसम्म जिल्लामा रहने बताइएको छ ।