काठमाडौं : ओमानको पहिलो बजेट एयरलाइन्स सलामले मंगलबारदेखि मस्कट–काठमाडौं उडान सुरु गर्दै छ। यो वायुसेवाले दैनिक एक उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिका स्वीकृत गराएको भए पनि हाललाई सातामा चारवटा मात्रै उडान गर्ने भएको छ।
हरेक बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र ८:४० मा ओमान नै फर्कने गरी यसले अनुमति पाएको प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक चुडाबहादुर खड्काले जानकारी दिए।
ओमानबाट आउने दोस्रो वायुसेवालाई प्राधिकरणले यही भदौ १५ गते अनुमति दिएको हो। प्राधिकरणले भदौ १६ देखि नै उडान गर्न सक्ने गरी अनुमति दिएको भए पनि प्राविधिक कारण डेढ साता ढिलो उडान सुरु गरेको छ। यो वायुसेवाले एयरवस ए ३२०–२०० सिरिजनको १७४ सिटको विमानले मस्कट–काठमाडौं दुईतर्फी उडान गर्ने गरी अनुमति लिएको छ।
यो वायुसेवाले नेपालबाट ओमान जाने कामदार, पर्यटक, कूटनीतिक नियोगसहित समग्र यात्रुलाई सस्तोमै सेवा दिने उद्देश्यले काठमाडौंसम्म उडान विस्तार गरेको नेपालका लागि जनरल सेल्स एजेन्ट्स (जीएसए) पाएको कम्पनी आईएमई इन्टरनेसनल ट्राभलले जानकारी दिएको छ। यसले एकतर्फ न्यूनतम भाडा १६ हजार रुपैयाँ निर्धारण गरेको छ। विगत डेढ दशकदेखि ट्राभल सेवामा क्रियाशील यो कम्पनीले पहिलो जीएसएमार्फत हवाई उड्डयन क्षेत्रमा सेवा दिन थालेको आईएमई ग्रुपका जनसम्पर्क प्रमुख राजु पौडेलले जानकारी दिए।
यो वायुसेवाले सोमबार साँझसम्म काठमाडौं आउने १३६ र काठमाडौंबाट फर्कने १३७ यात्रुका लागि टिकेट बेचेको ट्राभलले जानकारी दिएको छ। यो वायुसेवाले हरेक दिन एउटा उडान गर्ने गरी तालिका स्वीकृत गराएको भएपनि अनुकूलताअनुसार बढाउदै जाने गरी हाललाई हप्तामा चार दिन एकएक उडान मात्रै गर्ने पौडलको भनाइ छ।
यस वायुसेवाले काठमाडौं उडान गर्न पर्यटन मन्त्रालयबाट गत असार ३ मै अनुमति पाएको थियो। नेपाल सरकारले ओमानसँग १७ मंसिर २०५३ मा गरेको दुई देशबीचको हवाई सेवा सम्झौता (एएसए) अनुसार ओमानबाट आउने वायुसेवाको नेपाल उडान अनुमति दिएको हो। नेपालले ओमानमा कुनै उडान नगर्ने भएपनि चाहेकै समयमा उडान गर्न पाउने दुई देशबीचको एएसएमा उल्लेख छ।
ओमानबाट काठमाडौं आउने यो दोस्रो वायुसेवा हो। यसअघि ओमान एयरले १७ असार २०६७ बाट नेपालमा उडान सुरु गरेको हो। यो वायुसेवाले सातामा २१ वटा उडान गर्न पाउने गरी अनुमति पाएको भएपनि हाल यसले सातामा १५ वटा उडान गरिरहेको छ। ओमानमा सन् २०१७ बाट सेवा सुरु गरेको सलामले आन्तरिक उडानमा तीन र अन्तर्राष्ट्रियमा ९ वटा देशका ११ वटा गन्तव्यमा उडान गर्ने गरेको छ।
यो वायुसेवाबाट मंगलबार काठमाडौं आउने सबै यात्रुलाई आईएमई ग्रुपकै चन्द्रगिरि हिल्सले चन्द्रगिरि केबलकारको टिकेटमा ५० प्रतिशत छुट दिने भएको छ। पहिलो दिनको उडानबाट आउने सबै यात्रुलाई दिएको यो छुट दिएको उल्लेख छ। त्यसपछि दोस्रो दिनेदेखि भने यो वायुसेवाबाट काठमाडौं आउने यात्रुका लागि चन्द्रगिरिले २५ प्रतिशत छुटको व्यवस्था गरेको पनि जनसम्पर्क प्रमुख पौडेलले बताए।