काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायु सेवा कम्पनी गुण एयरलाइन्स आर्थिक संकटमा फसेको छ । १ हप्तादेखि उडान नै रोकेको वायु सेवाले पुनः उडानको तयारी गर्दैगर्दा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि उडानमै रोक लगाइदिएको छ ।
गुण एयरलाइन्सले कर्मचारीलाई २ महिनादेखि तलब भत्ता खुवाउन नसकेको, वित्तीय अवस्था कमजोर हुँदै जाँदा पाइलट, इन्जिनीयर तथा कर्मचारीले नियमित पाउनुपर्ने अत्यावश्यक तालिम प्रभावित भएको र अत्यावश्यक पाटपुर्जा किन्न नसकेर उड्डयन सुरक्षा प्रभावित हुने भन्दै प्राधिकरणले उडानमै रोक लगाइदिएको छ ।
उड्डयन प्राधिकरणअन्तर्गत हवाई उड्डयन सुरक्षा विभागले गरेको अनुगमन, कर्मचारीको गुनासो र विभिन्न तहका कर्मचारीसँग गरेको सोधपुछपछि तत्कालै उडान रोक लगाउने निर्णयमा प्राधिकरण पुगेको पाइएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार कम्पनीले जहाज उडानका आर्थिक दायित्व पूरा गर्ने र आर्थिक अभावका कारण हवाई उडानमा कुनै सम्झौता नगर्ने प्रतिबद्धतासहित ठोस योजना नल्याएसम्म उडान गर्न नपाउने बताए । उनका अनुसार आर्थिक संकटमा फसेको गुण एयरले कर्मचारीलाई नियमित दिनुपर्ने तलब नदिएको पाइयो । तलब नपाएका कर्मचारी तथा पाइलटबाट जहाज उडानका क्रममा सुरक्षा कमजोरी हुनसक्ने तथा यसले निम्त्याउन सक्ने जोखिमलाई दृष्टिगत गरेर उडानमै रोक लगाइदिएको निरौलाको भनाइ छ ।
गुण एयरलाइन्ससँग २ वटा १९ सिट क्षमताको डोर्नियर, ३० सिटको १ र २९ सिट क्षमताका ४ वटा जेटस्ट्रिम, ३० सिटको १ वटा जेटस्ट्रिम गरी ७ वटा जहाज छन् । यीमध्ये ५ वटा जेटस्ट्रिम नामका जहाज २ वर्ष अगाडि मात्रै यती एयरलाइन्ससँग खरिद गरेको थियो भने अर्का २ जहाज सिम्रिक एयरलाइन्सबाट लिएको थियो ।
८ वर्षअघि घरजग्गा व्यवसायमा समस्या आएपछि गुण ग्रूपको नाममा सञ्चालित गुण एयरलाइन्सको बहुमत शेयर यो कम्पनीले सिम्रिक एयरलाई बिक्री गरेको थियो । त्यसपछि करीब ७ वर्ष सिम्रिक एयरलाइन्सका नाममा उडको जहाजलाई गुण ग्रूपका अध्यक्ष राजेन्द्र शाक्यले कोरोना महामारीपछि पुनः फिर्ता ल्याए । उनले आफ्नो पुरानै ब्रान्ड गुणबाटै उडान गरे ।
घरजग्गा व्यवसायबाट समस्यामा परेका उनले आफ्नो एयरलाइन्सलाई ‘बाउन्स ब्याक’ गरेर रिब्रान्डिङ गरेका थिए ।
रिब्रान्डिङ गर्ने क्रममा यती एयरलाइन्सका ५ वटा जहाज खरिदमा १ अर्बभन्दा बढी लगानी गरिएको थियो । कम्पनीले ७ वटा जहाज जम्मा पारेको भए पनि एकैसाथ ४ देखि मात्रै जहाज उडान सकेको थियो । २ वटा डोर्नियरमा एउटा मात्रै उड्ने र ५ वटा जेटस्ट्रिममा ३ वटा मात्रै उडाउन सकेको थियो ।
अहिले पनि २ वटा डोर्नियर दुवै मर्मतमा छन् । बाँकी ५ वटा जेटस्ट्रिम भने बिक्री गरेर नयाँ विकल्पको खोजी गर्न लागिएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले लोकान्तरलाई बताए । शाक्यका अनुसार कर्मचारीलाई तबल भत्ता त २ महिनाको मात्रै बाँकी छ । समग्र अर्थतन्त्रमा देखिएको संकटको असर एयरलान्इसमा पनि परेकाले केहीको १ महिना त केहीको २ महिनाको मात्रै पैसा भुक्तानी गर्न बाँकी रहेको छ । शाक्यका अनुसार प्राधिकरणले भनेजस्तो आर्थिक समस्यामा परेको र उडान नै रोकिदिनुपर्ने अवस्था थिएन । अलिअलि समस्या परेको भए पनि रिकभर गर्न सक्ने अवस्थामा रहेको पनि उनको भनाइ छ ।
गुणले ५ वटै जेटस्ट्रिम जहाज बिक्री गर्ने र बजारको आवश्यकता अनुसारको एटीआर ७२ वा अन्य प्रकृतिको खरिद गर्ने योजना बनाएको शाक्यले बताए । ५ वटै जहाज किन्न एक अमेरिकी कम्पनी तयार भइसकेको छ । जहाजको उडान आवर नबढोस् भनेर मूल्यांकनका लागि १ हप्तादेखि नै जहाज ग्राउन्डेड गरेर राखिएको शाक्यले बताए । उनका अनुसार गुणले अब जेटस्ट्रिम जहाज उडाउँदैन भने २ वटा डोर्नियर मात्रै उडाउने अन्तिम तयारी छ ।
प्राधिकरणले भनेजस्तो आर्थिक समस्या परेकोभन्दा पनि विकल्प खोज्ने एयरलाइन्स कम्पनीले नै जहाज उडाउन नगरेको पनि शाक्यको भनाइ छ ।
गुण एयरलाइन्समा २३० जना कर्मचारी छन् । जससध्ये पाइलट र कोपाइलट १०र१० जना गरी २० जना मात्रै छन् । यो वायुसेवाको सञ्चालन खर्च मासिक करीब १ करोड रुपैयाँ छ । कम्पनीले जहाज उडाएर गर्ने आम्दानीले सञ्चालन खर्च करीब धानिरहेकाले बाहिर भनिएजस्तो आर्थिक संकट धान्नै नसकेर बन्द भएको भन्ने सन्देश जानु गलत भएको तर्क शाक्यले गरेका छन् । उनले भने, ‘जहाज बेच्न राखिएको र अब २ वटा मात्रै जहाज उडाउने निर्णयमा भने वायुसेवा पुगेको हो ।’
यो वायुसेवाले दैनिक २२ वटासम्म उडान गर्ने गरेको भए पनि १ हप्ता अगाडिसम्म दैनिक १० वटाको सूचीमा चल्ने गरेको थियो । पछिल्लो १ वर्षमा १ लाख ६० हजार यात्रु उडाएको वायुसेवाले पर्यटकीय गन्तव्यसहित विभिन्न १२ वटा गन्तव्यमा उडान गर्ने गरेको थियो । यो वायुसेवाले काठमाडौंबाट माउन्टेन, पोखरा, भरतपुर, भैरहवा, तुम्लिङटार, सिमरा, नेपालगन्ज, विराटनगर र जनकपुर उडान गर्ने गरेको छ । यसले पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि उडान गरिरहेको थियो ।
गुण एयरलाइन्सका प्रवक्ता तथा वरिष्ठ बजार निर्देशक प्रज्ज्वल थापा पनि जहाज उडानको तयार गर्दागर्दै प्राधिकरणले एक्कासि उडान रोक्नुले असहजता थपेको बताउँछन् । उनका अनुसार उडान रोकिइसकेपछि अब आवश्यक प्रक्रिया पूरा गरेर तत्कालै २ वटा जहाज उडाइने छ ।
प्राधिकरणले सोमबार यो वायुसेवाको उडानमा परिपत्र गरेर रोक लगाएकाले अब आवश्यक प्रक्रिया पूरा गरेर मात्रै उडान गरिने छ । अब कर्मचारी कटौती नगर्ने र भएकै कर्मचारीबाट उडान गर्दै तुरुन्तै नयाँ जहाज ल्याउने प्रक्रिया अगाडि बढाउने तयारीमा व्यवस्थापन रहेको जानकारी पनि थापाले दिए ।