भिमबहादुर परियार
सुर्खेत । नेपालीहरुको महान चार्ड दशैं आजबाट समापन हुँदैछ । कोजाग्रत (कार्तिक पुनी) पूर्णीमालाई दशैँको टीका जमरा लगाउने अन्तीम दिनको रुपमा लिने प्रचलन अनुसार आज यो वर्षको दशैंलाई बिदाई गरिदैंछ ।
मान्यजन र ठूलाबडाका हातबाट टिका र जमरा लगाउने प्रचलन भएपनि कर्णालीका जिल्लाहरुमा सानाले टिका र जमरा लगाने ठूलाले आश्रीवाद दिदैं यो वर्षको दशैं समापन भएको छ ।
कार्तिक ७ गतेबाट सुरु भएको दशैँको टीका जमरा आज पुर्णीमाको दिनबाट समापन हुने गर्दछ । अन्य क्षेत्रको भन्दा फरक तरिकाले दशैँको टीका जमरा लगाउने कर्णालीको चलन अहिलेपनि जारी छ । घरका आफन्तबीच टिका र जमरा लगाउने काम टिकाको दिन गरेपनि टाढाको मावली, माईती आफन्तीसँग टिका र जमरा लगाउने काम कोजाग्रत पूर्णीमाको दिनसम्म लगाउने रैथाने चलन अनुसार आजबाटै दशैं विदा हुदैंछ ।
कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा जिल्लाका अधिकांश गाउँहरुमा वर्षको अन्तिम पूर्णीमाका रुपमा कूल देपताको मन्दीर (थान)मा पुजापाठ गर्ने, धामी नाचेर यो दशैं आजबाट विदा हुदैंछ ।
‘वर्षका १२ पुनी (पूर्णीमाको)को सबैभन्दा निगिदो (अन्तिम पूर्णीमा) का रुपमा मनाइने कार्तिक पुनि (कोजाग्रत पूर्णीमा)लाई नाचगान गर्दै बिदाई गर्ने हुनाले पुनिको दिनसम्म टिका र जमरा लगाएर दशैंलाई विदाई गर्ने प्रचलन हाम्रो गाउँमा पुरानौं हो’ अदानचुली ३ का मदना देवताका धामी पिर फडेराले भने ‘पुनिको दिनभर देवताको थानमा पुजापाठ र नाचगान गरेर दशैंलाई मात्र होइन पुनिलाई नैं विदाई गर्ने गरिन्छ ।’
उनका अनुसार बडा दशैंको अन्तिम दिन शनिबार (आज) बिहानै देखि कर्णालीका प्रायः देवताको थानमा धामीको ठूलो धाम लाग्ने गरेको छ ।
सानाको जमराः ठूलाको आश्रीवाद
दशैं भन्ने बित्तिकै आफूभन्दा ठूलाको हातबाट टिका, जमरा, आश्रीवाद र दक्षिणा पाउने गरिन्छ तर कर्णालीमा भने दशैंको चलन अन्इत्र भन्दा निकै फरक छ । मष्टो संस्कृतीको बाहूल्यता रहेको कर्णालीमा टिका भन्दा जमरालाई प्राथमिकता दिने गरिन्छ । जमरा भन्ने बित्तिकै धार्मिक संस्था (धामी, डाँगर, खाबा, कठायत, नाइक) र परम्परागत सामाजिक संस्था (गाउँका मुखिया, जम्बवाल आदी) लाई प्राथमिकता दिइने कर्णालीमा टिकाको दिन सानो (उमेर र नाताले) व्यक्तिले आफूभन्दा ठूलो (उमेर र नाता) लाई जमरा लगाउने गरिन्छ ।
‘मानसम्मान स्वरुप सानोले घरमा भएको सगुन (पुरी, केरा आदी) लिएर मान्यजन कहाँ पुगेर जमरा लगाई दिने र मान्यजनबाट आश्रीवाद थाप्ने चलन गाउँको पहिल्यै देखि चलि आएको चलन हो’ कालसिल्ला देवताका कठायत समेत रहेका साविकको श्रीनगर गाउँ विकास समितिका पुर्वअध्यक्ष दिपबहादुर महताराले भने, ‘आमा वुवा र मान्यजनलाई आप्mनो कमाइले मिठो खाने कुरा ल्याएर जमरा लगाउने, ठूलाले आश्रीवाद दिने काम नैं वास्तवमा देवपुरी हुम्लाको सांस्कृती हो । तर पछिल्लो समयमा शहर बजारको देखावटी गरेर गाउँको चलन हराउने क्रममा छ ।’
भवानीका डाँगर समेत रहेका महताराका अनुसार गाउँका सबै घरधुरीले आप्mनो कूल देवता, गाउँका माइ देवताका धामी, डाँगर, खावा, कठायत, नायक र सामाजिक संस्थाका रुपमा अहिले पनि नाममात्रको अस्थित्वमा रहेको मुखिया, जम्मुवाललाई अक्षता (आधा केजि चामल) लिएर संस्थागत जमरा लगाउने र उक्त संस्थागत घरबाट आश्रीवाद सहित सगुन (पुरी, केरा वा अन्य कुनै) दिने चलन कर्णालीको दशैं (जमरा) र पिठायो (भुव सँगै पर्ने कर्णालीको रैथाने चार्ड) आन्तरिक चलन हो । तर अध्ययन, कामका शिलसिलामा शहर बजारमा बस्ने युवाहरुका कारण यो चलन लोप हुँदै बिस्तारै शहरको चलन भित्रिदैं गैसकेको छ ।
घर भित्रपनि आफूभन्दा ठूलो मान्यजन (वुवा, आमा, दाजु भाउनु, दिदी, काका काकी), आफन्त मामा मावली, शशुरालीलाई पनि सानाले नैं जमरा लगाई दिने प्रचलन कर्णालीका गाउँमा अहिले पनि विद्यमान छ । आफूभन्दा ठूला मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने चलन देशका अधिकांश (कर्णाली अञ्चल बाहेक) ठाउँमा भएपनि कर्णालीका गाउँघरमा भने सानाको हातबाट दशैँको टीका जमरा लगाउने गर्दछन् । साना मान्छेको हातबाट परिवारका प्रत्येक सदस्यले एकअर्कालाई जमरा लगाएर दशैं मनाउने चलन पुस्तौेदेखि चलि आएको प्रचलनका रुपमा कर्णालीवासीले मनाउदैं आएका छन् ।
खासगरी जाजरकोट, दैलेख, कालिकोट, सल्यान, हुम्ला, जुम्ला मुगु लगायत जिल्लाका गाउँवस्तीमा साना मान्छेको हातबाट दशैँको दोहोरो टीका जमरा लगाउने गरिन्छ । एक आपसमा टीका जमरालाई दोहोरो लगाएर दशैँ मनाउने प्रचलन रहि आएको हुम्लाको अदानचुली–३ रोकाया गाउँका रत्न दमाई भन्छन ।
हुम्लामा जन्म देखि मृत्युसम्मका सबै संस्कारमा दोहोरो टिका लगाउने चलन छ । ‘विवाह वर्तबन्ध न्वारान देखि मृत्यको तेह्र दिने काम सकाउने बेला होस् वा चाडपर्वमै किन नहोस् हामीले दोहोरो दैचामल (अक्षताको टिका) लगाउने गर्छौं’, ७५ वर्षीय पाको उमेरका उनी भन्छन्, “मैले पनि वर्षौँदेखि आफूभन्दा उमेर र नाताले साना (छोरा बुहारी र नाति नातिना)को हातबाट दशैँमा जमारा र दैचामल (अक्षताको टिका) थाप्दै आएको छु ।’
गाँउका सबै आफू भन्दा कम उमेरका आएर जमरा र दैचामल लगाएर जाने ठूलाले आश्रीवाद दिने गरेको बताउने रत्नले थपे ‘वावु बाजेले (पुर्खाहरूले) यस्तै चलन चलाए छन हामीले पनि बाबु (वुवा) ले जे गर्नुभयो त्यसैलाई मान्दै आयौं । म देउताको धामि पनि छु । गाँउमा म भन्दा बुढा मान्छे कम छन् । सबै भन्दा बढी उमेरको मै छु । पुर्णीमाको दिनसम्म गाँउ घर ईस्टमित्र जमरा र दैचामल लगाउन आउने भएकाले पुर्र्णीमाको दिनसम्म म घर मै बस्ने गर्दछु ।’
दशैंको टिकाको दिन आप्mनो परिवारका प्रत्येक सदस्यले एकआपसमा दोहोरो जमरा र टिका लगाउने गरेको बताएका उलनले सबै परिवार एकै ठाउँमा भेला भएर दोहोरो टीका र जमरा लगाउँने र घर बाहिर रहेकाहरुले पुर्णामाको दिनसम्म पनि आफूभन्दा मान्यजनको घरमा गएर जमरा र टीका लगाउने गरेको बताए । ‘बालकदेखि वृद्धसम्मले एक अर्कोलाई ३ देखि ७ पटकसम्म टीका लगाउने चलन कर्णालीका गाउँघरमा अहिले पनि छ । ठाउँअनुसार कम्तीमा ३ पटक, कतै ५ पटक र कतैकतै ७ पटकसम्म पनि निधारमा टीका लगाइदिन्छन् । यसरी ६ देखि १४ पटकसम्म दोहोरो टीका लगाइन्छ’ उनले थपे ।
दशैँमा टीका र जमरा लगाएपछि ठूलोले सानालाई आश्रीवाद दिने र सानाले मान्यजनहरूको दीर्घायुको कामना गर्छन् । दशैँमा लगाइने दोहोरो टीकालाई धेरैले बिग्रिएको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा पनि लिन्छन् । परिवारका सदस्यबीच सधैं एक खालको सम्बन्ध हुँदैन् । कहिलेकाँही झैझगडाले गर्दा वर्ष दिनसम्म पनि बोली बाराबारको अवस्था सिर्जना हुन्छ ।त्यस्तो अवस्थामा दुई पक्षिय सम्बन्ध सुधारका रुपमा पनि दशैंको टिका र जमरालाई लिने गरिएको छ ।
दोहोरो टीका लगाउँदा परिवारका सदस्यबीचको सम्बन्ध थप प्रगाढ बन्ने र बिग्रिएको सम्बन्ध पनि सुधार हुन गरेको बताउने अदानचुली ३ का सर्की देवता धामी धने दमाई भन्छन् ‘दशैंमा एक आपसमा अनिवार्य रूपमा टीका–जमरा लगाउनै पर्ने भएकोले वर्ष दिनसम्म नबोलेकाहरू दशैंको दिन बोल्छन् । बिग्रिएको आफन्त बीचको दोहोरो सम्बन्ध सुध्रिन्छुरु हुन्छ । गाउँमा पनि बोलाबोल बन्द भएको सम्बन्ध सुधारको काम पनि जमरा र टिका बाटैं । यदि दोहोरो टीका लगाउने चलन हुँदैनथ्यो भने सायद आफन्तबीच वर्षौँसम्म पनि बोलचाल हुँदैनथ्यो होला ।’
पञ्चाङ्ग निर्णयक समितिले तय गरेको दशैंको टीका साइतमै लगाउनु पर्छ भन्ने मान्यता देशभर गर्ने भएपनि कर्णालीमा यो साइतको कुनै मतलव राख्दैनन् । दिउँसो खेतबारीको काम, पशुवस्तु चराउने जस्ता कामले कर्णालीमा जतिसक्यो घाम (सुर्योदय) नलाग्दैं जमरा र टिका लगाउने प्रचलन छ । देवताका पदावली लिएका धामी, डाँगरले बिहान नुवाई धुवाई नगर्दै गाउँभित्रका संस्थागत जमरा लगाउने काम कर्णालीका हरेक गाउँमा गरिन्छ । गाउँको संस्थागत र घर परिवारको व्यक्तिगत जमरा लगाउने काम सकिएपछि देवतालाई सामुहिक जमरा लगाउन सबै भक्तालु देवताको मुल थान (मन्दीर)मा जम्मा हुने र देवतालाई जमरा र अक्षता चढाउने काम गरिन्छ ।
मुखिया जमरा लगाउन गाउँले भेला
कानूनी रुपमा अस्थित्वमा नहरेको मुखिया दशैको टिकामा कर्णालीका गाउँकामा अहिले पनि मान्य प्रचलन कायमै छ । परापूर्व कालदेखि गाउँमा जग्गाको तिरो उठाउने, सानातिना गाउँका झमेला मिलाउने जिम्मा पाएका मुखियालाई सम्मान स्वरुप जमरा लगाइदिने चलन कर्णालीमा अहिलेपनि कायमै छ ।
बिहान आफन्त, धार्मिक संस्थालाई जमरा लगाएका गाउँका हरेक घरधुरीले दिउँसो गाउँका मुखियाको छतमा सामुहिक रुपमा जम्मा भएर जमरा लगाइदिने चलन अहिले पनि कर्णालीका गाउँमा अहिले पनि यथावत नैं छ ।
‘पञ्चायती काल अघि देखि शुरु भएको मुखियालाई जमरा लागाउने चलन व्यवस्था फेरिएपनि कर्णालीमा यथावत नैं छ अदानचुली १ महतारा गाउँका मुखिया नर महताराले भने, व्यवस्थाले हामी गाउँका मुखियालाई दिएको अधिकार सबै खोसिए पनि गाउँलेलेदिने मुखिया जमरा लगाउने प्रचलन भने कायमै छ ।’
गाउँको सामाजिक नियम तय गर्ने, विभिन्न सामाजिक झमेलाको टुंगो लगाउने अवसरका रुपमा लिइने मुखिया जमराको अस्थित्व जगाई राख्नुले कर्णालीको समाज आप्mनो धर्म र परम्पराप्रति निकै इमानदार रहेको प्रतिक्रिया उनले दिए ।
कम हुदैं दोहोरो टीका र जमरा लगाउने चलन
वर्षौ पहिलेदेखि चल्दै आएको दोहोरो टीकाको चलन अझै कायम रहेपनि पछिल्लो समयमा कतिपयले मान्यजनको हातबाट मात्रै टिका थाप्न थालेको कर्णाली प्रदेशका सांसद रनसिंह परियाले बताए ।
‘समय र प्रविधिको विकासक्रम सँगै मान्छेका स्वभाव परिवर्तन हुने भएकाले चाडपर्व मनाउने तरिका पनि परिवर्तन हुदै गएको उनको अनुभव छ’ उनले भने ‘दशैंमा आफु सुर्खेतमा भएकाले आफुभन्दा सानालाई टीका जमरा लगाएर दशैँ मनाईयो यदि यो दशैँमा जन्मघर हुम्लामा नै मनाउनु परेको भए आफू भन्दा सानोको हातबाट टीका जमरा लगाईन्थ्यो होला र आफुले पनि आफु भन्दा ठुलालाई टीका जमरा लगाउन जानु पर्ने हुन्थ्यो ।’
शहर, बजारतिर दशैँको दिन टीकाको साइतलाई बढी महत्व दिएपनि कर्णालीका गाउँघरमा भने टिकाको दिनदेखि कोजाग्रत पूर्णीमाको दिनसम्मलाई शुभ मान्ने भएकोले साइतलाई खासै महत्व दिएको पाइँदैन । त्यसैले दशैंको दिन बिहानैदेखि टीका र जमरा लगाउन सुरु भएर राति अबेरसम्म चलिरहन्छ ।