रमेश कुमार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले हिमालय क्षेत्रमा गहिरिंदै गएको जलवायु संकटको जोखिमलाई संकेत गरेको छ।
रसुवाको भोटेकोशी नदीमा असार २४ गते बिहानको विध्वंसकारी बाढी हिमताल फुटेर आएको जल तथा मौसम विज्ञान विभागले निष्कर्ष निकालेको छ। जनधनको ठूलो क्षति गरेको बाढी आउनुमा नेपाल-चीन सीमाबाट करीब ३६ किलोमिटर उत्तरस्थित हिमनदीमाथि रहेको पानीको ताल (सुप्राग्लेशिल लेक) फुट्नु प्रमुख कारण भएको विभागले जनाएको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार उक्त स्थानको हिमनदी क्षेत्रका हिमतालमा अस्वाभाविक परिवर्तन देखिएको फेला परेको छ। तिब्बतको लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रस्थित हिमनदीको करीब मध्य भू-भागमा विकास भएको हिमतालको अध्ययन गर्दा बाढी आउनुभन्दा अघि र पछिको स्थितिमा अस्वाभाविक परिवर्तन देखा परेको विज्ञहरूले बताएका छन्।
नेपाल-चीन सीमाको लेन्दे खोलाले नै रसुवा पुगेर भोटेकोशीको रूप लिन्छ। त्यसभन्दा तल्लो क्षेत्रमा त्रिशूली नदीका नामले चिनिन्छ।
विभागका अधिकारीहरूले हिमताल विस्फोट भएको निष्कर्ष निकाल्न ‘सेन्टिनेल’ उपग्रहबाट निकालिएका तस्वीरहरूलाई विश्लेषण गरेका थिए। असार २१ र २४ गतेका भू-उपग्रह तस्वीरलाई विश्लेषण गर्दा समुद्री सतहबाट करीब पाँच हजार १५० मिटर उचाइमा रहेको लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा बनेको हिमतालबाट पानी निष्कासन भएको देखिएको छ। “बाढीको घटना हुनुपूर्व र भइसकेपछि तालको क्षेत्रफलमा परिवर्तन भएको देखिएको छ,” विभागको प्रतिवेदनमा भनिएको छ।
बाढीपूर्वको भू-उपग्रह तस्वीरमा हिमनदीको मध्य भूभागतिर विकास भएको हिमताल करीब ०.७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको थियो। तर बाढीपछिको तस्वीरमा हिमतालको क्षेत्रफल करीब ०।६० वर्गकिलोमिटर मात्र देखिएको छ।
त्यसैगरी, तालको सतही स्वरूपमा पनि परिवर्तन भएको देखिएको छ। विशेषगरी तालको क्षेत्रबाट मुनितिर पानीको बाहिरिने मार्ग स्पष्ट देखिएको छ। भू-उपग्रह तस्वीरले बाढीपछि तालबाट बगेको पानीको फैलावट उल्लेख्य बढेको देखाउँछ। यसले तालबाट पानीको निकास भएको देखिएको विभागले जनाएको छ।
विभागले हिमताल विस्फोटबारे चीनले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन उपलब्ध गराउने अपेक्षा पनि गरेको छ। यसअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले पनि गत डिसेम्बरदेखि अस्वाभाविक रूपमा यो ताल ठूलो बन्दै गएको देखिएको बताएको थियो।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम सम्बन्धी वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठ हिमनदीको सतहमा रहेका पोखरीहरू बढ्दै गएर आपसमा जोडिएको तथा एकैपटक पानी निस्किंदा भोटेकोशीमा बाढी आएको बताउँछन्। उनी यसलाई प्राविधिक रूपमा ताल विस्फोटभन्दा पनि हिमनदीको सतहमा रहेको पोखरीबाट एकै पटक पानी हुत्तिएर आएको बाढी (आउटफ्लो फ्लड) मान्छन्।
हिमाली क्षेत्रबारे अनुसन्धान गरिरहेका अनुसन्धाताको समूहले पनि लेन्दे खोलाको जलाधार क्षेत्रमा हिमताल विस्फोटबाट बाढी आएको निष्कर्ष निकालेको थियो। युनिभर्सिटी अफ अलास्कामा विद्यावारिधि गरिरहेका अमृत थापा सहित छिओ लिउ र ज्याकोव स्टनेरले पनि नेपाल-चीन सीमाभन्दा झन्डै ३५ किलोमिटर माथि लेन्दे खोलाको जलाधार क्षेत्रमा रहेको प्युरेपु हिमनदीस्थित हिमताल विस्फोट भएर बाढी आएको पत्ता लगाएका थिए।
अनुसन्धाताका अनुसार यो ताल पुरानो होइन। सन् २०२५ को मार्चअघि त्यो स्थानमा उल्लेखनीय ताल नदेखिएको तर त्यसयता बढिरहेको पाइएको उनीहरूको भनाइ छ। ‘मार्चदेखि हिमनदीको सतहमा पोखरीहरू विस्तार हुन थाले र मध्य मे महीनासम्म बढ्दै गए,’ तीनै अनुसन्धाताले सार्वजनिक गरेको द्रुत जोखिम मूल्यांकन प्रतिवेदनमा भनिएको छ।
बाढी जाने अघिल्लो दिनसम्म उक्त क्षेत्रमा पानीको ताल तीव्र गतिमा बढेर ६ लाख ३८ हजार वर्गमिटरको पोखरी बनेको उनीहरूको अध्ययनले देखाएको छ। तर बाढी गइसकेपछि तालको आकार घटेर चार लाख ३५ हजार वर्गमिटर मात्र बाँकी छ।
यस क्षेत्रमा गत दशकदेखि नै तापक्रम बढेर हिमनदी पग्लिने क्रम बढेको विभिन्न अध्ययनले देखाउँदै आएका थिए। हिमनदीको अघिल्तिर तथा हिमनदीको सतहमा पोखरीहरू बन्ने क्रम बढिरहेको अनुसन्धाताले फेला पारेका छन्। उनीहरूले यसअघि पनि यस क्षेत्रमा थुप्रै हिमताल विस्फोटका घटना रेकर्ड भइसकेको पनि जनाएका छन्।

अहिले तालबाट पानीको निष्कासन भए पनि जोखिम कायमै रहेको उनीहरूले औंल्याएका छन्। उक्त तालमा अझै धेरै पानी सञ्चित भएका कारण सन् २०२५ भित्रै फेरि तालको पानी एक्कासि बाहिरिन सक्ने जोखिम छ। त्यसो भयो भने तालको तल्लो जलाधार क्षेत्रमा फेरि बाढी आउन सक्छ। “जुन पोखरीबाट बाढी निस्केको भनिएको छ, त्यो पोखरी पूर्ण रूपमा खाली भएको देखिंदैन। पोखरी सानो भएको छ, तर पानी अझै देखिन्छ,” अनुसन्धाता थापाले उल्लेख गरेका छन्।
इसिमोडको अध्ययनमा कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल भेटिएको उल्लेख छ। तीमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ वटा तिब्बतमा र ४५ वटा भारत थिए। यो सन् २०१५ को तथ्यांकमा आधारित अध्ययन थियो। त्यसयता हिमालय क्षेत्रमा आएको परिवर्तनबारे गहन अध्ययन भएको छैन।
नयाँ यथार्थ
हिमताल तथा हिमाली क्षेत्रको जलवायुमा दशकौंदेखि अध्ययन गर्दै आएको इसिमोडले भोटेकोशीमा बाढी आएको भोलिपल्ट असार २५ मा विज्ञप्ति जारी गर्यो, जसमा हिन्दूकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटका घटना नयाँ यथार्थ हुन थालेको उल्लेख गरिएको छ। रसुवाको भोटेकोशी र मुस्ताङको माथिल्लो क्षेत्रमा एकैदिन दुई वटा घटना भएपछि इसिमोडका वैज्ञानिकले यसलाई हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर चेतावनीका रूपमा व्याख्या गरेका छन्।
असार २४ मा मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ स्थित चुम्जुङ खोलामा पनि एक्कासि गेग्रान र लेदो सहितको बाढी आएको थियो। भेलबाढीले सात वटा पुल सहित सडक र अन्य भौतिक संरचनामा क्षति पुगेको छ। यस क्षेत्रमा पनि हिमताल फुटेर भेलबाढी आएको हुन सक्ने अनुमान गरिएको छ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम सम्बन्धी वरिष्ठ सल्लाहकार श्रेष्ठ तापक्रम वृद्धिसँगै हिमाली क्षेत्रमा व्यापक हलचल भइरहेको र यसले जोखिम थपिरहेको बताउँछन्। “पहिला हरेक आठ(दश वर्षमा हिमक्षेत्रमा एक-दुई प्रकोप हुन्थे, अहिले एकै वर्षमा कैयौं त्यस्ता घटना देखिन थालेका छन्, यो असाध्यै चिन्ताजनक कुरा हो,” उनी भन्छन्।

इसिमोडले हिमक्षेत्रमा प्रकोपको संख्या डरलाग्दो रूपमा बढिरहेको जनाएको छ। सन् २००० को दशकमा यस्ता घटना पाँचदेखि १० वर्षमा एक पटक हुने आकलन थियो भने अहिले पछिल्ला दुई महीनाको अवधिमा तीन वटा बाढी देखिइसकेको इसिमोडले उल्लेख गरेको छ। नेपालको लिमी, अफगानिस्तानको अन्दोराब उपत्यका र पाकिस्तानको हुन्जामा पछिल्लो समयमा यस्तो बाढी आएको थियो।
नेपालमा असार २४ मा रसुवा र माथिल्लो मुस्ताङ गरी दुई ठाउँमा बाढी आएको देखियो। इसिमोडले २१औं शताब्दीको अन्त्यसम्म यस्तो जोखिम तीनगुणा वृद्धि हुने पूर्वानुमान गरेको छ। नेपालका हिमनदीमा बनिरहेका साना साना तालहरू अब विस्फोट भएर विनाश मच्चाउने नयाँ यथार्थ बन्दै गएको जनाएको छ। विशेषज्ञहरूका अनुसार साना र पूर्व निश्चित नभएका तालहरूले पनि अहिले गम्भीर विनाश गरिरहेका छन्।
इसिमोडले दशकौंदेखि हिमतालको खतरा मूल्यांकन गर्दै आएको छ। पहिले पहिले ०।०२ वर्ग किलोमिटरभन्दा ठूलो ताललाई मात्र ‘खतरापूर्ण’ मानिने गरेकामा अहिले साना र नयाँ ताल पनि जोखिमयुक्त भएको देखिएको छ। इसिमोडका जलवायु तथा वातावरणीय जोखिम सम्बन्धी वरिष्ठ सल्लाहकार श्रेष्ठ साना, नयाँ बनेका तथा सतहको बरफले बनाएको ‘सुप्राग्लेसियल’ ताल नयाँ जोखिमका रूपमा देखिएको बताउँछन्।
रसुवाको बाढी ‘सुप्राग्लेसियल’ तालबाटै आएको हो। हिमनदीको सतहमा बन्ने ‘सुप्राग्लेसियल’ तालहरू अस्थायी र परिवर्तनशील हुन्छन्, शुरूआतमा साना पोखरी जस्ता देखिए पनि क्रमशः ठूलो तालमा रूपान्तरण हुन्छन्। अचानक फुट्ने जोखिमयुक्त बन्दै जान्छन्।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम सम्बन्धी वरिष्ठ सल्लाहकार श्रेष्ठ नयाँ चुनौतीसँग जुध्न जोखिमयुक्त हिमतालको नक्शांकन र अनुगमन कार्य अझ तीव्र पार्नुपर्ने बताउँछन्। नेपालका नदीको मुहान रहेको चिनियाँ क्षेत्रमा रहेका हिमतालको जोखिम बुझ्न र त्यसै अनुसार जोगिने रणनीति तयार गर्न चीनसँग सूचना आदानप्रदानका लागि गम्भीर रूपमा काम गर्नुपर्ने वेला आएको उनको भनाइ छ।
जोखिमयुक्त हिमतालको सूची ‘अपडेट’ गर्नुपर्ने, साना र छोटो अवधिका तालहरूको पनि विश्लेषण गर्नुपर्ने पनि श्रेष्ठ बताउँछन्। अहिले च्छो(रोल्पा र इम्जा बाहेक नेपालका अन्य उच्च जोखिमयुक्त तालमा पूर्व सूचना प्रणाली स्थापना भएको छैन। हिमाली क्षेत्रमा बनिरहेका साना तालको अवस्थाबारे निगरानी प्रणाली विकसित भइसकेको छैन।
पछिल्लो समय जलवायु विपत्तिका कारण दर्जनौं जलविद्युत् आयोजना जोखिममा पर्दै आएका छन्। भोटेकोशी बाढीले पनि १० वटा जलविद्युत् आयोजनामा क्षति गरेको छ। “जलवायु जोखिमसँग जुध्ने खालका संरचना र पूर्वाधार बनाउन ध्यान दिनुपर्छ,” श्रेष्ठ भन्छन्, “हिमताल विस्फोट हुने जोखिममा रहेका नदीमा बन्ने जलविद्युत् आयोजना बनाउँदा त विशेष ध्यान दिनुपर्छ।”
१० जलविद्युत् आयोजनामा क्षति
भोटेकोशी बाढीले चीनको तिब्बतसँग जोड्ने मितेरी पुल बगाएको छ। यसले दुई देशबीचको अन्तर्देशीय व्यापारलाई अवरुद्ध भएको छ। पछिल्लो समयमा रसुवागढी चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा स्थापना भएको थियो।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को जेठसम्म नेपालको कुल आयातको झन्डै पाँच प्रतिशत रसुवागढी नाकाबाट भएको छ। धेरैजसो विद्युतीय सवारीसाधन, स्याउ, लत्ताकपडा लगायत सामग्री यही नाका हुँदै भित्रिने गरेका छन्। दुई देश जोड्ने पुलका अतिरिक्त विभिन्न स्थानमा सडक, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह सहितका संरचना पनि बगाएका कारण यो नाका कहिले सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ।
बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका १० वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ। करीब २५० मेगावाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ।
१११ मेगावाट क्षमताको रसुवागढी, ६० मेगावाटको त्रिशूली ‘थ्री-ए’, २५ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत् परियोजना र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ‘थ्री-बी’ हब सबस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली पहिलो, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ‘थ्री(बी’ जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा निर्माण कार्य रोकिएको इप्पानले जनाएको छ। त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली ‘थ्री(बी’ हब सबस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेका कारण आगामी केही दिनसम्म उत्पादन र प्रसारण रोकिनेछ।