काठमाडौं। रष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन्। महासंघको ३१ औं वार्षिक साधारणसभाबाट मल्ल नेतृत्वको जिम्मेवारीमा आएकी हुन्।
शुक्रबार साधारणसभामा मनोनयन दर्ताको समययावधिमा अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी परेको थियो। सहकारी महासंघले ३० वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको हो। मल्ल महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षहुँदै अध्यक्ष भएकी हुन्।
लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील मल्ल नेपालका तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक सदस्य बन्ने पहिलो नेपाली पनि हुन्। उनी अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक पनि हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल निर्विरोध भएका छन्। राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष पोखरेल महासंघको सञ्चालक, उपाध्यक्षहुँदै वरिष्ठ उपाध्यक्षभएका हुन्।
खुल्लातर्फको २ उपाध्यक्षका लागि ३ जनाको उमेदवारी परेको छ। खेमबहादुर पाठक, डीबी बस्नेत र शेषकान्त गौतमको उम्मेदवारी परेको निर्वाचत समितिले जनाएको छ। महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध भएकी छन्।
यस्तै ७ प्रदेशमध्ये सुदूरपश्चिमबाहेक ६ वटै प्रदेशका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन्।
कोशीबाट छत्रप्रसाद रिमाल, मधेशबाट शम्भुप्रसाद, वाग्मतीबाट पार्वती न्यौपाने, गण्डकीबाट परितोष पौड्याल, लुम्बिनीबाट टीका न्यौपाने र कर्णाली प्रदेशबाट काशीचन्द्र बराल निर्विरोध निर्वाचित भएका हुन्।
सुदूरपश्चिममा माधवप्रसाद जोशी र प्रेमसिंह भाटको उम्मेदवारी परेको छ।
५ जना महिला सञ्चालकमा हुमाकुमारी जीसी, योगमाया सुवेदी, एकता शाह, कमलाकुमारी सुवेदी पौडेल, शारदा दाहाल निर्विरोध निर्वाचित भएका छन्।
४ जना खुल्ला सदस्यका लागि बद्रिप्रसाद लम्साल, प्रेमप्रसाद सुवेदी, होमनाथ जैसी, सुमन नेपाल, कृष्णबहादुर खत्री र सञ्जयकुमार शाहको उम्मेदवारी परेको छ।
केन्द्रीय संघ र सहकारी बैंकका तर्फबाट निर्वाचितहुने ३ जना सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, हरिहरनाथ योगी र नथुनी यादवको मात्र उमेदवारी परेकाले उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन्।
महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीमप्रसाद तुलाचन, सदस्यहरुमा अम्मरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध भएका छन्।
२ जना उपाध्यक्षका लागि ३ जना, खुल्ला सदस्यमा ४ जनाका लागि ६ जना र सुदूरपश्चिम सञ्चालकमा १ जनाका लागि २ जनाले उमेदवारी दर्ता गराएको र अन्य सबै पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ। निर्वाचन उपसमितिले शनिवार विहान १० बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ। तोकिएको समयसम्म सहमति नभएमा ५ पदका लागि निर्वाचन हुने जनाइएको छ।
महासंघको निर्वाचनकालागि तीन मुख्य राजनीतिक दलका सहकारीकर्मीहरुबीच धेरै पटक संवाद भएको थियो। सबैलाई मिलाएर लैजाने योजनाअनुसार नै सहमतिको प्रयास भए पनि वर्तमान सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादी केन्द्रको सहकारी विभागका तर्फबाट पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचनमा सहभागी नहुने जनाएका छन्। एमाले समर्थक सहकारीकर्मीहरुले आफुहरुले मागेजति सिट उपलब्ध नगराएको भन्दै कांग्रेस र माओवादी समर्थक सहकारीकर्मीहरुले उम्मेदवारी नदिएका हुन्।
पार्टीका सहकारी विभाग प्रमुखहरु एमालेका खगराजअधिकारी, कांग्रेसका देवेन्द्रराज कँडेल र माओवादीका लीलामणि पोखरेल सहित सहकारीका नेताहरुबीच छलफल भएको थियो।