जुम्ला । बढ्दै गएको राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि देशका ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्दन मार्फत एमाले नेतृत्वको सरकार गठन भएको कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले बताउनु भएको छ ।
एमाले जिल्ला कमिटि जुम्लाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै एमाले स्थायी कमिटि सदस्य समेत रहेका इन्चार्ज बोगटीले माओवादी केन्द्रले राजनीतिक अस्थितरतालाई बढवा दिन भूमिका खेलेकै कारण कंग्रेस र एमालेको सत्तासमिकारण निर्माण भएको प्रतिक्रिया दिनु भएको हो ।
‘एमालेले वामपन्थी एकताका लागि २०७२ सालदेखि माओवादीसँगको सहकार्य शुरु गरेरै यसअघि माओावादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो’, इन्चार्ज बोगटीले भन्नुभयो, ‘प्रचण्ड जिले सत्तामा भएको वाम गठबन्दनलाई तोड्ने मात्रै होइन नेपाली वाम आन्दोलनलाई समेत समाप्त पार्ने खेलमा लागेकै कारण देशका ठूला दुई राजनीतिक दल एमाले र कांग्रेसले बीच सत्ता समिकरण गर्नु परेको हो ।’
प्रशिक्षण कार्यक्रममा पार्टीको नीति बिचार र सिद्वान्त, वर्तमान समसामयिक राजनीति परिवेश र सवाल विषयमा प्रशिक्षण दिदैं उहाँले एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकार निर्माण भए पश्चात नागरिकमा आशा पलाएको प्रतिक्रिया दिनु भएको छ ।
प्रशिक्षण कार्यक्रममा नेता, कार्यकर्ताहरुको आचरण र स्वभाव र पार्टी र सरकारबीचको सम्बन्ध विषयमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र बैचारिक तथा सामाजिक नेतृत्वमा पार्टी सदस्यको भुमिका तथा क्षमातको विकास जुम्ला जिल्ला इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य रतननाथ योगीले प्रशिक्षण दिनु भएको जिल्ला कमिटि अध्यक्ष शान्तिलाल महतले जानकारी दिनुभयो ।
एमाले प्रदेश कमिटि सदस्य, जिल्ला कमिटिका पदाधिकारी र सदस्य, स्थानीय कमिटिका पदाधिकारी तथा सदस्य, जनवर्गिय संघसगठनका जिल्ला प्रदेश र केन्द्रका नेतासहित अगुवा कार्यकर्ताहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताइएको छ ।