वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थियो । उहाँले दक्षिण एशियाका महिलाहरुको परम्परा विषयमा विद्यावारिधी गर्नुभएको थियो ,यसै सिलसिलामा स्वस्थानी ब्रतकथामा पनि पीएचडी गर्नु भयो । त्यसै सिलसिलामा उहाँले साँखुको माधवनारायण स्वस्थानी व्रतको पनि अध्ययन अनुसन्धान गर्नुभएको थियो ।
– तपाइँ पहिलोपटक साँखुमा कहिले आउनुभएको थियो ?
म सन् १९९९ मा पहिलो पटक बीए पढ्दै गर्दा साँखुमा आएको थिएँ । त्यत्तिखेर मैले दक्षिण एशियामा महिला परम्पराबारे अध्ययन गर्ने सिलसिलामा म यहाँ आएको थिएँ । पछि मैले दक्षिण एशियामा भाषा र सभ्यताबारे विद्यावारिधी (पीएचडी) गरेको थिएँ ।
– तपाइँ नेपालको कुन कुन सहर घुम्नुभएको छ ?
मैले काठमाडौँ, साँखु, भक्तपुर, पाटन, जनकपुर लगायतका साँस्कृतिक सहरहरु घुमेको छु । साथै तराईका कतिपय जिल्लाहरुमा पनि पुगेको छु । मलाई राम्रोसँग सबै जिल्लाहरुको नाम मलाई सम्झना छैन । विशेषगरि मैले तराईका जिल्लाहरुमा मनाईने जितिया, छठ, तीज, विवाह पञ्चमी, अनि साँखुको माधवनारायण स्वस्थानी व्रत सम्बन्धी अध्ययन गरेको थिएँ । त्यसमा पनि मैले स्वस्थानी व्रत लाई अन्य चाड पर्व र व्रतहरुको तुलनामा अति उत्कृष्ट र कठिन व्रतका रुपमा पाएकी छु । यो व्रत पूजा दक्षिण एशियाकै उत्कृष्ट व्रत पूजा हो ।
– तपाइँले गर्नुभएको अनुसन्धान अनुसार सबैभन्दा पुरानो स्वस्थानी कति वर्ष पुरानो रहेको छ ?
–सम्भवत ४४१ वर्ष अगाडिको पुस्तक हुनुपर्छ । त्यो पुस्तक ने.सं. ६९३ को स्वस्थानीको पुस्तक हो । त्यसमा स्वस्थानीको व्रत सम्बन्धी पूजा विधीहरु २ दिन र १ रातको मात्रै वर्णन गरिएको छ । त्यसपछि ने.सं. ७२३ को स्वस्थानी पुस्तकमा भने १ महिनाको व्रत पूजाको वर्णन गरिएको पाएको छु ।
-स्वस्थानी व्रतमा छुवाछुतको व्यवस्था तपाइँलाई कस्तो लाग्यो ? त्यहाँ विभिन्न जातिका मानिसहरुलाई अछुतको रुपमा व्यवहार गरेको पाईन्छ नि !
म खुल्ला समाजको मान्छे । अनि म क्रिश्चियन धर्मावलम्बी त्यसैले मैले अर्को धर्म र संस्कृतिबारे बोल्दा अलिकति विचार पु¥याउनै पर्ने हुन्छ । तर पनि मलाई व्यक्तिगतरुपमा केही कुराहरु अप्ठ्यारो महसुस पनि भएको छ । मलाई लाग्छ यो परम्परा र संस्कृति पनि सदियौँ देखि अगाडि बढिरहेको र यहाँको समाजले स्विकारेको देखिएको हुँदा मलाई कुनै आश्चर्य लागेन । सम्भवतः यो व्रत पूजा चलाएको समयमा यस्तो खाले व्यवस्था जरुरी थियो कि ! फेरि यो व्रत अत्यन्त कठिन व्रत भएको हुँदा यस व्रतपूजामा केही कठिन र गाह्रो साह्रो नीति नियम बनेको पनि हुनसक्छ । तर मैले त्यस्तो विशेष केही कुरा लिखितरुपमा भने पाईन । मैले अध्ययन गरेको समय १९९९ मा र आज २०१४ मा हेर्दा केही फरक महसुस समेत गरेको छु ।
–स्वस्थानी व्रत पूजा सम्बन्धी अध्ययन गर्ने क्रममा आफूलाई कस्तो महसुस भयो ?
रमाइलो अनुभव भयो । तर व्रत पूजामा सरिक व्रतालुहरुलाई गाह्रो भएको देख्दा आफूलाई पनि यो व्रत वास्तवमै कठिन भएको महसुस भयो ।
-तपाइँको अध्ययनमा स्वस्थानी व्रत र माधवनारायण बीच तपाइँले के सामञ्जस्यता पाउनुभएको छ ? अथवा कहाँनिर माधवनारायण र स्वस्थानी व्रत जोडिन गएको छ भनिदिनुस् न ।
मैले विभिन्न कालखण्डका पुस्तकहरु अध्ययन गर्दा पनि माधवनारायण र स्वस्थानी व्रत पूजा जोडिएको पाइँन तर माधवनारायण र विष्णु भगवान एउटै भनिने भएकोले पार्वतीलाई विष्णु भगवानको मुखारविन्दबाट स्वस्थानी व्रत पूजा सम्बन्धी विधी बताइएको हुँदा मात्रै जोडिएको हो कि जस्तो लाग्छ । हुनतः माधवनारायण व्रत भनेर भक्तपुरमा पनि पाइँदो रहेछ । तर स्वस्थानी मन्दिर मैले अहिले साँखुमा पाएको छु । पहिल्यै थिएन । तर मैले सुने अनुसार काठमाडौँको मखन टोलमा स्वस्थानीको मन्दिर रहेको छ । हुनतः माधवनारायणको व्रत खोकनामा पनि मनाउने गरेको सुनेकी छु ।
–स्वस्थानीमा वर्णित लावण्य देश कहाँ होला जस्तो छ ?
ठ्याक्कै त्यस्तो भूगोलमा उल्लेख गरिएको मैले पाइनँ । तर सम्भवतः साँखु वा नगदेश हुन सक्ने सम्भावना मैले पाएको छु ।
– साँखु नगरी तपाइँलाई कस्तो लाग्यो ?
बडो सुन्दर नगरी हो साँखु । मलाई साँखुको हावापानी र यहाँका मानिसहरुको संस्कृति र परम्परामा रहेको अगाध विश्वास देख्दा अति रमाइलो र बिर्सनै नसकिने सहरको रुपमा मैले साँखुलाई पाएको छु । त्यसैले त म पटक पटक साँखु आईरहेको छु ।
–अन्त्यमा तपाइँले यस पत्रिकामार्फत् हाम्रा पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
यस सुन्दर नगरी साँखु शंखरापुरका मानिसहरुलाई म धन्यवाद दिन चाहन्छु । उहाँहरुको सहयोगकै कारण मात्र मैले यहाँको समाज, रितिरिवाज, परम्परा र स्वस्थानी व्रत बारे जान्ने मौका पाएँ । नेपाल संस्कृति र परम्परामा धनी रहेछ त्यसमा पनि नेवारी परम्परा अति उच्च रहेको मैले पाएँ । अरुको विश्वास नतोड्ने नेवार परिवारको कल्चरले म प्रभावित भएँ ।
(”स्वस्थानीका विषयमा यसअघि पनि अमेरिकी नागरिक लिन्डा इलटिसले विद्यावारिधि शोध गर्नुभएको थियो । इलटिसको शोधको विषय “श्री स्वस्थानी व्रत” मात्रै थियो भने जेस्सिकाको विषय “श्री स्वस्थानी व्रतकथा” रहेको छ । नेपाली नागरिकले भने अहिलेसम्म श्री स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध नगरेको सहप्राध्यापक काशीनाथ तमोटले बताउनुभयो” , तमोट जेसिकालाई पिएचडीमा मार्गनिर्देशन गर्ने गुरु हुनुहुन्छ )
-पवनलाल श्रेष्ठको पोस्टबाट (२०७२/७३ सालको अन्तर्वार्ता)