जाजरकोट । नगरपालिका भित्रको बाल मृत्युदर तथा कुपोषणको दरलाई कम गराउन नलगाड नगरपालिकाले ‘सुनौला हजार दिन’ कार्यक्रम सञ्चालनमा गरेको छ । गर्भवती भएदेखि एक हजार दिनसम्मका महिला तथा नाबालकलाई यो कार्यक्रममा समेट्ने लक्ष्यले नगरपालिकाले यो कार्यक्रम शुरु गरेको हो ।
नगरभित्रका १३ वटै वडामा एकैसाथ लागू भएको यो कार्यक्रमबाट प्रतिवडा ३५ जना गर्भवती महिलालाई सुविधा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । सरकारले दिँदै आएको सुत्केरीलाई यातायात खर्च मध्ये नगरले थप एक हजार रुपैयाँ थपेर दिने गरेको उनले बताए ।
‘नगरका प्रत्येक गर्भवती महिलालाई घ्यू, तेल र कुखुरा समेत उपलव्ध गराएको छ ।’ अधिकृत सिंहले भने, ‘यसले नगर भित्रको विद्यमान बाल मृत्युदर र कुपोषणको दरमा निकै कमी आउने आशा हामीले लिएका छौं ।’ कार्यक्रमअन्तरगत पोषिला खानेकुरासँगै औषधिसमेत दिइएको पोषण सम्पर्क व्यक्ति किरण थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रमले सम्बन्धित महिलालाई करेसाबारीमा ताजा तरकारी उत्पादन गर्न बिऊ र तरकारी खेतीसम्बन्धी तालिम पनि दिएको छ ।
नियमित गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई मात्र यो सुविधा उपलब्ध गराएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । ‘घर, घरमा झण्डा, गर्भवतीलाई अण्डा’ भन्ने नारासहित नगरले अर्को कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गर्भवती भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवा, सुविधा दिन शुरु गरिएको प्रमुख रावलले बताए ।
स्वास्थ्य संस्था आउनेको संख्या वृद्धि नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भई सेवा दिन थालेपछि यहाँका गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच गर्नेको संख्यामा वृद्धि भएको छ । दैनिक घरायसी काममा मात्र व्यस्त हुने ग्रामिण क्षेत्रमा महिलाहरु अहिले सेवा, सुविधा पाउने भएपछि नियमित स्वास्थ्य जाँच गराउन थालेको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख प्रचण्डकुमार कार्कीले जानकारी दिए ।
गाउँमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्य प्रति चिन्तित हुँदै गर्भवती महिलाहरु स्वास्थ्य जाँचका लागि आउने गरेको उनको भनाइ छ । स्वास्थ्य जाँच गरेर के हुन्छ र भन्ने गलत धारणा विस्तारै हट्दै गई सुरक्षित सुत्केरी एवं पोषणमा समेत ध्यान दिन लागिएको छ । खेतीयोग्य जमिन भएर पनि करेसाबारी निर्माण नगर्ने तथा खाली राख्ने चलन समेत विस्तारै हटदै गइ करेसाबारीमा हरिया साग र तरकारी उत्पादन गर्नेतर्फ उन्मुख भएको नलगाड नगरपालिका– ८ विष्णुकुमारी खत्रीले जानकारी दिए ।