काठमाडौं । विश्वलाई त्रसित पार्ने गरी संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) को बाट संक्रमित ७२ जना संघीय राजधानी काठमाडौंका विभिन्न ८ अस्पतालमा उपचार गराइरहेको भेटिएको छ ।
सरकारले चैत ११ गते लागु गरेको लकडाउन (बन्दाबन्दी) पश्चात काठमाडौंमा बढेको संक्रमणले यसको प्रभावमा निरन्तर वृद्धि भइरहेको छ ।
संक्रमिको संख्या बढेपछि अहिले ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर अहिलेसम्म १८ हजार ६ सय १३ जना संक्रमित भेटिएका छन् । भने ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित मध्ये १३ हजार १ सय २८ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
अहिलेसम्म कुल ३ लाख ४२ हजार ४ सय ५७ वटा नमुनाको पिसिआर परीक्षण गरेको सरकारले जनाएको छ । सरकारले कोरोना भाइरसको उपचारको लागि देशभर निश्चित अस्पताल तोकेको छ । देश भरका २८ वटा प्रयोगशालाबाट कारोनाको नमुना परिक्षण गरिरहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा अस्पताल रहेका छन् ।
टेकु अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पताल, टिचिङ अस्पताल दुवाकोट, एपिफ अस्पताल बलम्बु, ह्याम्स अस्पताल, धुलिखेल अस्पताल र किर्तिपुर आयुर्वेदिक अस्पताल रहेका छन् । यी अस्पतालहरुमा सरकारले कोरोना संक्रमित व्यक्तिहरुलाई विशेष वार्ड व्यवस्थापन गरी उपचार गरिहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा अहिले ७२ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६३ जना आइसोलेसन र ८ जना आइसियुमा तथा एक जना भेन्टिलेटरमा रहेका छन् ।
पाटन अस्पतालमा २१ जना आइसोलेसन र २ जना आइसियु गरि २३ जनाको उपचार भई रहेको छ । यता टेकु अस्पतालमा १४ जना आइसोलेसन, ४ जना आइसियु गरि १८ जनाको उपचार भइरहेको छ ।
यस्तै बलम्बुमा रहेको शसस्त्र प्रहरी बलले संचालन गरेको शसस्त्र प्रहरी अस्पतालमा २३ जना संक्रमितको आइसोलेसनमा राखी उपचार भइरहेको छ । टिचिङ अस्पताल महाराजगंजमा ४ जना आइसोलेसन तथा एक जना आइसियु र एक जना भेन्टिलेटरमा गरि छ जनाको उपचार भई रहेको छ ।
धुलिखेल अस्पतालमा एक जना आइसोलेसन र एक जनालाई आसियुमा राखी उपचार भई रहेको आपत्कालिन स्वास्थ्य संचालन केन्द्रका प्रमुख डा।समिर कुमार अधिकारीले जानकारी दिए । टिचिङ अस्पताल दुवाकोट, ह्याम्स अस्पताल र किर्तिपुर आयुर्वेदिक अस्पतालमा भने कोरोना संक्रमित भर्ना भएका छैनन् ।