टोनी हागन
चार करोड वर्षअघि भारतीय प्रायद्वीप दक्षिणी गोलार्द्धमा अवस्थित र उत्तरतर्फ घस्रने क्रममा थियो। हिन्द महासागरमा पाइएका आग्नेय चट्टान (बसाल्ट) का नमूनाहरूबाट के थाहा लागेको छ भने चार करोड वर्षअघि भारतीय प्रायद्वीप वर्षको २६ सेन्टिमिटरका दरले घस्रिरहेको थियो।
दुई करोड वर्षअघि चाहिं त्यो गति वर्षको १६ सेन्टिमिटर थियो। डेढदेखि दुई करोड वर्षअघि भारतीय प्रायद्वीप युरेशियासित ठक्कर खान पुग्दा यसको घस्राइको गति वर्षको पन्ध्र मिलिमिटर थियो। अनि त्यो ठक्करपछि यो गति घटेर वर्षको चार मिलिमिटर मात्र हुन गयो। यसको तुलनामा आल्पस पर्वतको घस्रने गतिलाई सुस्त मान्नुपर्दछ। अफ्रिकी महादेशको अपुलियन–अड्रियाटिक खण्ड यूरोप महादेशतर्फ घस्रँदा त्यसको गति प्रतिवर्ष पाँच सेन्टिमिटर थियो।
त्यसैले ती दुई भूखण्ड ठोक्किँदा अल्पाइन क्षेत्रको पृथ्वीको सतह ३०० किलोमिटर खुम्चिएको अनुमान छ। तर हिमालय क्षेत्रमा भएको विशाल भूखण्डहरूको ठक्कर भयानक थियो भन्ने कुरा हिमालयको उँचाइ र फैलावट हेरेर पनि अड्कल लगाउन सकिन्छ। हिमालय र आल्पस पर्वतमालाबीच अर्को तात्विक फरक पनि छ। त्यो के भने हिमालय पर्वतमालाले आल्पस पर्वतमालाले झैं मौसम र जलाधार क्षेत्रलाई प्रष्टसँग छुट्याउँदैन।
भारतीय प्रायद्वीप र युरेशियाका विशाल भूखण्डहरूको जुधाइमा चेपिएर साबिकको महासागर हिमाली समुद्र बन्न पुग्यो, जसको पींधमा पूर्वबाट पश्चिमतर्फ गएका अनेकन् धाँजा र चिराहरू पर्न गए। त्यही समुद्री पींधको एक भाग मास्तिर उकासिएर हिमालयको पहिलो शृंखलाका रूपमा तिब्बततर्फ होचा पर्वतश्रेणी भएर देखा परे। यसरी पर्वत माथि उठ्दा त्यहाँ बग्ने नदीहरू उत्तर र दक्षिण दुई दिशामा बग्न थाले। दक्षिणतिर बग्न थालेका यस्ता नदीहरू गङ्गा समुद्रमा मिसिन पुगे भने उत्तरतर्फ बग्ने नदीहरू तिब्बती समुद्रमा। दक्षिणतर्फ बग्ने नदीहरूले सोहोरेर ल्याउने कुडाकर्कटबाट चाहिं शिवालिक शृंखला खडा भयो।
दोस्रो चरणको संकोचन वा थिचाइमा भारतीय प्रायद्वीपको उत्तरी किनारका चट्टानहरू मास्तिर उकासिनुका साथै झण्डै १०० किलोमिटर दक्षिणतर्फ घचेटिए। यस प्रकार मुख्य हिमालयका सिउरहरू उत्पन्न भए। त्यसै बेलातिर अथवा भौगर्भिक समयसारिणी अनुसार केही पछि तिब्बती पठार केही उचालियो। त्यसले गर्दा पठारको उँचाइका साथै मुख्य हिमालय पर्वतमालाको उत्तरपट्टि रहेका होचा पर्वत शृंखलाको उँचाइ बढेर ६००० मिटर जति हुनगयो। त्यस समय त्यसको दक्षिणतर्फ रहेको मुख्य हिमालय शृंखला सके ४००० मिटरभन्दा अग्लो थिएन। त्यस कारण ती दुवै पर्वतमाला बेग्लाबेग्लै जलवायु र जलाधार क्षेत्र छुट्याउने सीमाङ्कन बन्न पुगे। त्यसैको परिणामस्वरूप उत्तरतर्फको क्षेत्रचाहिं सुक्खा हुनगयो।
तिब्बती पठार मास्तिर उठ्नाले पानीको प्रवाहमा पनि असङ्गत परिवर्तन आयो। हिमालयबाट दक्षिणतर्फ बग्ने नदीहरूको उतारचढाव एक्दमै बढ्न गयो। अर्कातिर, पर्वतहरूको उँचाइ बढ्नाले वर्षाको मात्रा पनि बढ्यो। त्यसबाट नदीहरूको प्रवाह अत्यन्तै तीव्र हुन गयो। त्यो प्रवाह अत्यन्त शक्तिशाली थियो। त्यसले गर्दा जुन गतिमा मुख्य हिमालय मास्तिर उठेको थियो त्योभन्दा द्रुतगतिमा नदीका पींधहरू खोतलिन थाले। यही प्रक्रियाबाट उत्तरबाट दक्षिणतर्फ तेर्सिएका ठूला र गहिरा हिमाली खोंचहरू बन्न गएका हुन्।
त्यस समय हिमालय अहिले जति अग्लो भइसकेको थिएन। पछि गएर प्रकृतिले यस्तो भौगर्भिक घटनाक्रमको सिर्जना गर्यो, जसका कारण पर्वतको फेदी नै घटीमा पनि ३००० मिटर माथि उचालियो। नेपालमा पर्ने ८००० मिटर र त्यसभन्दा माथिका सबै हिमाली शिखरहरू यसरी नै उचालिएका हुन्। हिमालय अग्लिने प्रक्रिया समय गणनाको भौगर्भिक सिद्धान्तका आधारमा भन्ने हो भने ‘हिजोअस्ति भर्खर’ सम्पन्न भएको हो। अर्थात् हिमालयको उत्पत्ति ६ लाख वर्षअघि मात्र भएको हो।
यस प्राकृतिक प्रक्रियालाई प्रारम्भिक मानवले अवश्य देखेको हुनुपर्छ, किनभने त्यससमय ‘पेकिङ म्यान’ अस्तित्वमा आइसकेको थियो। हिमालय अग्लिने क्रिया अति जोडदार ढङ्गले भएका कारण उँचाइमा पृथ्वीको सतहमा एकाएक परिवर्तन आयो। तर त्यसरी उँचाइमा आएको परिवर्तन अनुरूप उत्तरबाट दक्षिणतिर बग्ने नदीहरूले आफ्ना सतहलाई मिलाउन सकेनन्। फलस्वरूप, भित्री हिमालयमा टेक्टोनिक बाँधहरू खडा भए र त्यहाँ ठूल्ठूला हिमाली तालहरू उत्पन्न हुन गए। त्यस्तै एउटा ताल कुनै समय थाक खोलामा थियो।
माछापुच्छे« ९६८८७ मि।० यस पर्वत शिखरलाई पश्चिमतिरबाट हेर्दा माछाको पुच्छर जस्तै देखिन्छ। समुद्र सतहबाट केवल ८०० मिटरको उँचाइमा रहेको पोखरा उपत्यकाबाट माछापुच्छे«को हवाई दूरी २५ किलोमिटर मात्र छ। चित्रमा देखाइएको पर्वत १००० मिटरको उँचाइमा छ। त्यहाँबाट यो पर्वत फेदी ७००० मिटर उठेको छ। माथिको नक्शामा स्वीट्जरल्याण्डको म्याटरहर्नलाई माछापुच्छे«कै स्केलमा राखिएको छ। माछापुच्छ«्रे र म्याटरहर्नबीच आकारमा धेरै समानता देखिन्छ। तर उँचाइमा भने धेरै अन्तर छ। त्यसको साथै चट्टानको स्थूलतामा पनि ठूलो फरक छ। यसबाट हिमालयको उत्पत्ति चट्टानहरूको थुप्रो मास्तिर उक्सिंदा भएको कुरा बुझ्न सकिन्छ।
तथापि, उत्तरबाट दक्षिणतिर बग्ने नदीहरूको निरन्तरता कायमै रह्यो र ती गङ्गा–समुद्रमा गई मिसिने काम रोकिएन। तर, पर्वत उत्पत्तिको अन्तिम चरण अझै पूरा भइसकेको थिएन। जब त्यो चरण पूरा भयो, तब हिमालयको दक्षिणतर्फका नदी प्रवाहमा मूलभूत परिवर्तन आयो। अग्ला हिमालय स्थिर हुने क्रममा हिमालय शृंखलाको अघिल्तिर महाभारत र मध्यपहाडी भूखण्ड उत्पन्न भए। त्यसले दक्षिणतर्फ बगिरहेका नदीहरू थुनिन पुगे।
महाभारत लेकले बाँधको काम ग¥यो र त्यसको उत्तरपट्टि ठूला तलाउहरू सृजित भए। परापूर्वकालमा रहेको काठमाडौंको तलाउ त्यसको उदाहरण हो। त्यसरी थुनिएको पानी महाभारत लेकको उत्तरपट्टि तेर्सिएका उपत्यकाहरूमा जम्मा भयो। कालान्तरमा त्यस पानीले महाभारत लेकको कमजोर तथा भौगर्भिक हिसाबले पूर्वनिर्धारित तीन ठाउँहरूबाट कर्णाली, नारायणी र सप्तकोशीको रूपमा निकास पायो।
तैपनि महाभारत लेक अग्लिने क्रम जारी नै रह्यो। काठमाडौंको तलाउ दुई लाख वर्षअघि सुकेको थियो। त्यसपछि पनि महाभारत लेकको उँचाइमा थप २०० मिटर वृद्धि भयो। यो कुरा उत्तरतर्फ भिरालो पर्दै गएको तलाउका थेगरका पत्रहरू अध्ययन गर्दा बुझ्न सकिन्छ। त्यसबाहेक, यो पूरै क्षेत्र भूकम्पीय इलाकामा पर्ने हुनाले पनि पृथ्वीभित्रका चट्टानहरू अझै चलायमान छन् भन्ने बुझिन्छ।
शिवालिक क्षेत्रका भित्री चट्टानहरूमा पनि अझै केही गति रहेको छ। कुनै कुनै ठाउँमा देखा परेका चट्टानहरूको अवस्थाबाट यो कुरा थाहा हन्छ। तसर्थ, हिमालय पर्वतको निर्माण कार्य अझै पूरा भइसकेको छैन। हिमाली खाँच, भुईंचालो तथा धाँजाहरू यसै कुराका प्रमाण हुन्।
हुन त हिमालय र आल्पस दुवै पर्वत शृंखलाहरू नै हुन्। तर पनि हिमालय आल्पसभन्दा धेरै कान्छो हो। वास्तवमा हिमालय संसारभरिमै सबभन्दा कान्छो पर्वतशृंखला हो। हिमालयका अतिशय भिराला पाखाहरू हेर्दा नै यो कुरा प्रष्ट हुन्छ। हिमालयका चुचुराहरू विशालतम पर्वतीय पिण्डहरूबाट चोइटिएर तिखारिंदै मास्तिर उठेका हुन्।
हालैको अध्ययन अनुसार आल्पस पर्वत वर्षको ०.५ देखि १.५ मिलिमिटरका दरले उचालिंदैछ। हिमालयको उँचाइको नापो फरक फरक पाइएका छन्। तैपनि एउटा कुरामा सबैको सहमति पाइन्छ, त्यो के भने हिमालय वर्षको १ सेन्टिमिटरको हिसाबले बढ्दैछ। अर्थात् आल्पसभन्दा दश गुणा छिटो गतिले यो अग्लिंदैछ।
साभारः हिमालखबर
(हिमाल बुक्सद्वारा प्रकाशित र वसन्त थापाद्वारा सम्पादित हागनको पुस्तक ‘नेपालको चिनारी’बाट।)