काठमाडौं । स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा सिसिएमसीका प्रतिनिधि डा. अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा २ कात्तिकसम्म मन्त्रालयको तथ्यांकमा मृतक पाँच सय १३ जना छुटेको पुष्टि
सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सबै नागरिकको तथ्यांक व्यवस्थित रूपमा नराखेको पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन सरकारले नै गठन गरेको समितिले २ कात्तिकसम्म पाँच सय १३ जनाको नाम स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छुटेको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांक नमिलेपछि सरकारले कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन २ कात्तिकमा समिति नै गठन गरेको थियो । स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०का प्रतिनिधि डा। अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे सदस्य रहेको समितिले मन्त्रालयको तथ्यांकमा मृतक पाँच सय १३ जना छुटेको प्रतिवेदन तयार पारेको हो । समितिले मन्त्रालयमा बुझाए पनि प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २ कात्तिकसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात सय ३९ थियो । तर, त्यसमा पाँच सय १३ जना छुटेको समितिको प्रतिवेदनमा छ । त्यति नै वेला स्वास्थ्य मन्त्रालयको तथ्यांकभन्दा सेनाले शव व्यवस्थापन गरेका मृतकको संख्या चार सय बढी थियो । मन्त्रालय र सेनाको फरक–फरक तथ्यांकपछि अध्ययनका लागि समिति बनाइएको थियो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले १७ कात्तिकसम्म कोरोना संक्रमणबाट मृत्यु भएका एक हजार चार सयको शव व्यवस्थापन सेनाले गरेको बताएका थिए । उक्त दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नौ सय ८४ जनाको मृत्यु कोरोनाबाट भएको जानकारी दिएका थिए । त्यस दिन पनि मन्त्रालयभन्दा सेनाको तथ्यांकमा मृतकको संख्या चार सय १६ बढी थियो ।
स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या जोड्नेभन्दा पनि उपचारको पाटोमा बढी ध्यान केन्द्रित गरेकाले सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांक फरक पर्न गएको अधिकारीले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिडले मृत्यु नभएको बताएका कतिपय शव पनि सेनाले नियन्त्रणमा लिएर व्यवस्थापन गरेको प्रतिवेदनले देखाएको छ ।
समितिका एक सदस्यले सेनाले शव व्यवस्थापन गर्दा मृत्यु समय, कोभिड रिपोर्ट र वडा कार्यालयको सिफारिसका आधारमा गरेको देखिएको र यसले तथ्यांक तलमाथि देखिएको बताए । ‘सेनाले आइसोलेसन र क्वारेन्टिनमा झुन्डिएका, बाटोमा ल्याउँदा–ल्याउँदै मृत्यु भएकाको कोभिड प्रमाणका आधारमा तथ्यांक राखेको छ,’ ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘स्वास्थ्य मन्त्रालयले बाटोमा, होम आइसोलेसनमा र क्वारेन्टिनमा मृत्यु भएकाको संख्या छिटफुटबाहेक समावेश गरेको छैन, जसले २ कात्तिकअघिको तथ्यांकमा पाँच सय बढी फरक पर्न गएको देखियो ।’
ती अधिकारीका अनुसार कुनै व्यक्तिलाई दीर्घरोगसँगै कोभिड लागेको छ र १४ दिनपछि पनि अस्पताल बसेर उसको मृत्यु भयो भने त्यसलाई स्वास्थ्य मन्त्रालयले कोभिडमा सूचीकृत गरेको छैन । तर, सेनाले भने सो व्यक्तिलाई कोभिडका कारण नै मृत्यु भएको स्पष्ट पारेको छ । यसले पनि तथ्यांक तलमाथि परेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
तर, मृत्युको संख्या धेरै फरक परेपछि प्रदेशमा समेत तथ्यांक पुनरावलोकन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयमा नभएको, तर प्रदेशले कोभिडका कारण मृत्यु पुष्टि गरेका घटना थप्दै लगिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, स्वास्थ्य मन्त्रालयले बढी मृत्यु भएको संख्यालाई सार्वजनिक गरेको छैन । ‘विगतमा जे गल्ती भयो अब गल्ती नहोस् भनेर सार्वजनिक गर्न ढिला गरेको हुन सक्छ,’ मन्त्रालयका अर्का एक अधिकारीले भने ।
स्वास्थ्य मन्त्रालयले महत्वपूर्ण अन्य दुई प्रतिवेदनसमेत सार्वजनिक गरेको छैन । कुल जनसंख्याको १३ प्रतिशत अर्थात् ३९ लाख नागरिक गत सेप्टेम्बरमा नै कोरोना संक्रमित भइसकेकोसहितको प्रतिवेदन पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
त्यस्तै, नेपालमा पहिलोपटक कोभिड– १९ को आनुवांशिक अध्ययन गरिएको थियो । मन्त्रालयकै अनुरोधमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको उक्त अनुसन्धानले नेपालको कोरोना भाइरस चीनबाट नभएर भारतबाट प्रवेश गरेको स्पष्ट पारेको छ । तर, उक्त प्रतिवेदन पनि सार्वजनिक भएको छैन ।
नयाँपत्रिका