शिवहरि घिमिरे/रामहरि कार्की
वागमती गाउँपालिका–७, गिम्दीका सुशील दाहाल राहदानीको सिफारिश लिन ७ असारमा पाँचौंपल्ट वडा कार्यालय पुगे । तर, पाँचौं पटक पनि वडाध्यक्ष भेटिएनन् । पाँचौंपल्ट पुग्दा वडा सचिवसँग नराम्ररी कड्किएपछि उनैले सुनाए– “वडाध्यक्षज्यू शहरतिर बस्नुहुन्छ, यता भेटिनुहुन्न, उतै जानुस् ।” वैदेशिक रोजगारमा जाने तयारीमा रहेका दाहाललाई वडासचिवले नै सिफारिश बनाइदिए ।
त्यही सिफारिश पत्र सहित उनी ६ घण्टा पैदल हिंडेर चापागाउँ दोबाटो र त्यहाँबाट गाडी चढेर खुमलटार पुगे । अनि बल्लबल्ल भेटिएका वडाध्यक्ष नवराज सञ्जेलले सिफारिशपत्रमा हस्ताक्षर गरिदिए । वडाध्यक्ष सञ्जेल ललितपुर महानगरपालिका–१४, खुमलटारमा रेजेन्ट इन्टरनेशनल स्कूल चलाउँछन् । उनी यो स्कूलका प्रिन्सिपल समेत हुन् । गाउँका जनताको सेवा गर्ने बाचासहित वडाध्यक्षमा निर्वाचित भएका उनी प्रायः यतै हुन्छन्, गाउँमा आक्कलझुक्कल मात्र देखिन्छन् ।
दक्षिणी ललितपुरका गाउँमा जनताको घरदैलोको सरकार भनिने स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिलाई भेट्टाउनु असम्भवप्रायः छ । यहाँका धेरैजसो जनप्रतिनिधि शहरतिरै बस्छन् । दाहालले भने, “जनप्रतिनिधिले हामीलाई हेप्नु हेपेका छन्, फोन गर्दा समेत उठाउँदैनन् । जरूरी काम पर्दा कहिल्यै जनप्रतिनिधि भेटिंदैनन् ।” मकवानपुरसँग सीमा जोडिएको ललितपुरको विकट यो गाउँपालिकाको कार्यालय रहेको छपेली पुग्न सातदोबाटोबाट करीब तीन घण्टा लाग्छ । यसका वडाहरूमा पुग्न त ७ घण्टासम्म लाग्छ ।
२५ वैशाखमा हामी कार्यालय पुग्दा वागमती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत कोही थिएनन् । जनप्रतिनिधि भेट्ने आशामा आएका सेवाग्राहीको ठूलो भीड थियो । तिनैमध्ये एक गीतानन्द तिमल्सिना ९७६० ले भने, “पहिले पनि कोही नभेटेर फर्किएँ, आज पनि कोही भेटिएनन् ।” विद्युतीय पानी घट्ट सञ्चालनको स्वीकृति लिन आएका उनी निराश हुँदै फर्के ।
८० किलोमिटर यात्रा
लगनखेलबाट झण्डै ८० किलोमिटर दूरी छिचोलेपछि पुगिन्छ, दक्षिणी ललितपुर । राजधानी नजिकै भएर पनि विकासका दृष्टिले पिछडिएको यो क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य सेवाको अवस्था निकै कमजोर छ । ‘गाउँगाउँमा सिंहदरबार’ को नारा यहाँका निम्ति ठट्टा झैं लाग्छ । सिंहदरबारले दिने सेवा दिन चुनिएका जनप्रतिनिधि मात्र होइन, कर्मचारी पनि कार्यालयमा बस्दैनन् । यो क्षेत्रका तीनवटै गाउँपालिकामा प्रायः जनप्रतिनिधि भेटिंदैनन् । उनीहरू जहाँ हुन्छन्, सेवाग्राही त्यहीं पुग्नुपर्छ ।
गएको २७ जेठमा वागमती गाउँपालिका–३ का वडाध्यक्ष विष्णु तिमल्सिना पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा सेवाग्राहीको सिफारिश पत्रमा हस्ताक्षर गर्दै गरेका भेटिए । ती सेवाग्राही वागमतीबाट ८० किलोमिटर छिचोलेर नागरिकताको सिफारिश लिन आइपुगेका रहेछन् । तिमिल्सिनाले भने, “दिनभरि कार्यालयमा बस्न भ्याइन्न, कार्यालयकै कामले पनि बाहिर निस्कनुपर्ने हुन्छ । जहाँ भए पनि काम रोकेका छैनौं ।”
वागमती गाउँपालिकाका वडाध्यक्ष विष्णु तिमल्सिना ललितपुर महानगरपालिकाको प्राङ्गणबाट सिफारिश दिंदै ।
यो क्षेत्रका जनप्रतिनिधि कहाँ बस्छन् भन्नेबारे बुझ्न अब यी तथ्य हेरौं । वागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको घर ललितपुरको कुमारीपाटीमा छ । उनी प्रायः घरमै बस्छन्, गाउँपालिकाबाट गर्नुपर्ने कतिपय काम घरबाटै गरिदिन्छन् । उनलाई खोज्दै सेवाग्राहीहरू कुमारीपाटी पुग्नुपर्छ । उपाध्यक्ष रञ्जना घिमिरे पनि ललितपुर महानगरपालिकाको ढोलाहिटी बस्छिन् । कार्यालय जानुपर्दा ढोलाहिटीबाटै आवतजावत गर्छिन् ।
वडा नम्बर १ का वडाध्यक्ष जगतबहादुर लामा ललितपुर महानगरपालिका–१५ खुमलटारमा बस्छन् । उनको धेरै समय निर्माण व्यवसायमै बित्छ । वडा नम्बर २ ९माल्टा० का अध्यक्ष विजयकुमार लो चापागाउँ बस्छन् । उनी बालुवा उत्खनन् र निकासीमा व्यस्त छन् । वडा नम्बर ३ ९भट्टेडाँडा० का अध्यक्ष विष्णु तिमिल्सिना निर्माण व्यवसायी हुन् । उनी ठेचोमा बस्छन् । वडा नम्बर ४ ९प्युटार० का अध्यक्ष नारायण घलेको घर गाउँमै भए पनि वडा कार्यालयमा भेटिंदैनन् । १८ असारमा हामी पुग्दा उनी कार्यालयमा थिएनन् ।
वडा नम्बर ५ ९इकुडोल० का अध्यक्ष साजन दर्लामी ९राजकुमार० र ६ ९आश्राङ० अध्यक्ष लालबहादुर बम्जन भने प्रायः कार्यालयमै भेटिन्छन् । तर, वडा नम्बर ७ ९गिम्दी० का अध्यक्ष नवराज सञ्जेल भने खुमलटारमा आफैंले खोलेको निजी स्कूलमा व्यस्त हुन्छन् । कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तान र उपाध्यक्ष मिङ्मा तामाङ भने प्रायः कार्यालयमा भेटिन्छन् । वडा नम्बर १ ९चौघरे० अध्यक्ष सन्तलाल ध्याबा, २ ९संखु० का अध्यक्ष ध्रुव घिमिरे पनि गाउँमै बस्छन् र प्रायः वडा कार्यालयमै भेटिन्छन् ।
वडा नम्बर ३ ९दलचौकी० का अध्यक्ष तिलकबहादुर बम्जन भने धापाखेलमा बस्छन् । उनी अधिकांश समय गाउँ र कार्यालयमा भेटिंदैनन् । वडा नम्बर ४ ९नल्लु० का अध्यक्ष तीर्थ घलान लामा परिवार सहित ढोलाहिटीमा बस्छन् र निर्माण व्यवसायमा व्यस्त छन् । वडा नम्बर ५ का अध्यक्ष सुमिन्द्र बल भने भारदेउमै बस्छन् । दक्षिणी ललितपुरकै महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालको घर गाउँमै छ । तर, यी अध्यक्ष प्रायः गाउँमा हुँदैनन्, जावलाखेल र लगनखेलतिरै भेटिन्छन् । गएको २३ जेठमा हामी पुग्दा उनी कार्यालयमा थिएनन् । उपाध्यक्ष कमला तामाङ भने गाउँमै बस्छिन् ।
खेतीकिसानी गर्ने वडा नम्बर १ ९बुखेल० का अध्यक्ष खोमप्रसाद गौतम भने गाउँमै बस्छन् । वडा नम्बर २ ९मानीखेल० का अध्यक्ष सन्चमान तामाङ, ३ ९गोटीखेल० का अध्यक्ष गंगाराम तिमिल्सिना, ४ ९कालेश्वर० का अध्यक्ष शान्तप्रसाद गौतम, ५ ९चन्दनपुर० का अध्यक्ष खोमप्रसाद दाहाल र ६ ९ठुलादुर्लुङ० का अध्यक्ष रामकृष्ण आचार्य गाउँमै भेटिन्छन् ।
यो क्षेत्रका धेरैजसो जनप्रतिनिधि गाउँमै नबस्ने हुँदा सेवाग्राहीलाई सानोतिनो सिफारिशका लागि समेत जनप्रतिनिधि बसेको ठाउँ खोज्दै शहर धाउनुपर्छ । वागमती गाउँपालिका–७ का वडाध्यक्ष सञ्जेलले चाहिं आफू हप्ताको तीन दिन गाउँमा जाने गरेको दाबी गर्दै भने, “गाउँमा अरू कर्मचारीलाई कामको जिम्मा दिएर शहर आउँछु ।” कोन्ज्योसोम गाउँपालिका–३ का वडाध्यक्ष तिलकबहादुर बम्जनले परिवार, नातागोता सबै शहरमा रहेकाले गाउँमा नबसेको दाबी गरे । उनको भनाइ थियो, “शहरमा बसे पनि गाउँको समस्या समाधान गर्न लागेकै हुन्छु, प्रायः गाउँ र शहर आउजाउ गरिरहन्छु ।”
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानका अनुसार वडा नम्बर ३ का अध्यक्ष बम्जनलाई पटकपटक वडा कार्यालयमा बस्न आग्रह गरिए पनि टेरपुच्छर लगाउँदैनन् । “वडाको कार्ययोजना र कार्यविधि पनि बनाउँदैनन्, खाली बाहिर हिंड्छन्” उनले भने, “कोन्ज्योसोम गाउँपालिकाका वडाध्यक्षमध्ये सबैभन्दा रद्दी बम्जन नै हुन् ।” कतिसम्म भने, कोन्ज्योसोम गाउँपालिका–४ का वडाध्यक्ष तीर्थ घलान लामा त गाउँमा बस्नु बाध्यकारी नभएको जिकिर गर्छन् । “सेवाग्राहीले मलाई जहाँ पनि भेट्न सक्छन्” उनले भने, “गाउँपालिकामै बसेर सेवा दिनुपर्छ भन्ने कहीं लेख्या छैन ।”
सुविधा लिने, सेवा नदिने
वागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन गाउँपालिकाले मासिक रु।१ लाख तिर्ने गरी भाडामा लिएको स्कर्पियो जीप चढ्छन् । उनले गाउँपालिकाले नै व्ययभार व्यहोर्ने गरी सातै जना वडाध्यक्षलाई मोटरसाइकल र इन्धन सुविधा दिएका छन् । त्यस्तै, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान रु।५२ लाखमा किनेको गाडी चढ्छन् भने महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालका लागि मासिक रु।१ लाख तिरेर गाडी भाडामा लिइएको छ ।
गएको २१ असारमा महाँकाल गाउँपालिका पुग्दा सेवाग्राहीको भीड थियो । सबै जना गाउँपालिका अध्यक्ष दाहाललाई नै पर्खिरहेका थिए । “व्यवसाय दर्ता गरौं भनेर आएँ, कार्यालयमा अध्यक्ष नै रहेनछन्” सेवाग्राही दीपक घिमिरेले भने, “गाउँका जनप्रतिनिधि शहरमा बस्दा हामीलाई सास्ती भयो ।” हामीले तत्कालै गाउँपालिका अध्यक्ष दाहाललाई टेलिफोन ग¥यौं । टेलिफोनमा भने अनुसार उनी जिल्ला समन्वय समितिमा थिए । “कार्यालयको कामले नै यहाँ आएको हुँ” उनले भने, “कार्यालयमा बसे पनि, बाहिर बसे पनि जनताकै काम गर्ने हो, औपचारिक कार्यक्रमले पनि धेरै व्यस्त बनाए ।”
वागमती गाउँपालिका अध्यक्ष लोप्चनले दैनिक चारभन्दा बढी कार्यक्रममा पुग्नुपरेको अनुभव सुनाउँदै भने, “नजाऊँ भने अध्यक्ष ठूलो बन्न खोज्यो भन्छन्, हामीलाई वास्तै गर्दैन भन्ने गुनासा आउँछन् । जाऊँ भने आफ्नो काम गर्न भ्याइन्न ।” कोन्ज्योसोम गाउँपालिका अध्यक्ष सिङ्तानले पनि यस्तै समस्या सुनाए । उनले भने, “समुदायमा हुने र सरकारी निकायले बोलाउने कार्यक्रममा जानैपर्ने हुन्छ, त्यहीकारण कार्यालयमा बस्न भ्याइँदैन ।”
ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूको गतिविधि हेर्दा, उनीहरू जनतालाई सेवा दिनुभन्दा पनि आफ्नो व्यापार व्यवसाय चलाउनमै व्यस्त हुने गरेको देखिन्छ । जनप्रतिनिधिहरू कार्यालयमा नबस्ने, बरु व्यापार व्यवसायमा लाग्ने गरेको भेटिएपछि यसबारे हामीले जिल्ला समन्वय समितिका सभापति अमरबहादुर खड्कासँग कुराकानी ग¥यौं । खड्काले पनि जनप्रतिनिधिहरूले मनोमानी गरिरहेको आफूले सुनेको बताए । “गाउँमा बसेर सेवा दिनु जनप्रतिनिधिको दायित्व हो” उनले भने, “अब ललितपुरका प्रत्येक स्थानीय तहमा अनुगमन शुरू गर्दैछौं, कार्यालयमा नभेटिने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीका लागि सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयमा सिफारिश गर्छौं ।”
स्थानीय सरकारका विज्ञ बालानन्द पौडेल यसलाई जनप्रतिनिधिको हदैसम्मको लापरबाही मान्छन् । “जनप्रतिनिधिहरूको यो परीक्षणको घडी हो” उनले भने, “आफ्नो स्वार्थनिम्ति जनताबाट यसैगरी टाढिंदै जाने हो भने अर्को चुनावमा त्यसको परिणाम भोग्नुपर्छ ।” सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाका भनाइमा, गाउँका जनप्रतिनिधि शहरमा बस्नु स्थानीय सरकारको अवधारणाकै विपरीत कार्य हो । “केही महीनाअघि गाउँमा नबस्ने जनप्रतिनिधि र कर्मचारीलाई मन्त्रालयले १३ बँुदे अनुरोध पत्र पठाउँदै उनीहरूलाई स्थानीय तहमै आवासको बन्दोबस्त गर्न आग्रह गरेको थियो” उनले भने, “जनप्रतिनिधि २४ सै घण्टा जनताको सेवामा खटिनुपर्छ ।”